एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुने सम्भावना

यी टिमबिच हुनेछ प्रतिस्पर्धा

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुईवटा रोमाञ्चक खेलहरू हुँदैछन् । 

निर्धारित खेलतालिका अनुसार पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने उक्त खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । 

त्यसैगरी, दिनको दोस्रो खेलमा विराटनगर र सुदूरपश्चिम रोयल्सबीच अपराह्न साढे ४ बजे प्रतिस्पर्धा हुनेछ ।

तथापि, पछिल्लो दुई दिनदेखि भइरहेको लगातारको वर्षाका कारण आजका दुवै खेल प्रभावित हुने सम्भावना उच्च रहेको छ । 

जारी प्रतियोगितामा टोलीहरूको प्रदर्शनलाई हेर्दा, लुम्बिनी र चितवनले यसअघिका खेलहरूमा एक/एक जित हात पारेका छन् भने विराटनगरले भने आफ्ना दुवै खेलमा हार बेहोरेको छ । 

यसैगरी, सुदूरपश्चिमले अहिलेसम्म खेलेका खेलमध्ये एकमा जित र अर्कोमा पराजय भोगिसकेको छ । 

विराटनगरले अघिल्लो सिजनको क्वालिफायर १ र क्वालिफायर २ तथा यस सिजनको सुरुवाती दुई खेल गरी लगातार चार खेल हारेको छ ।

सुदूरपश्चिमले भने अघिल्लो सिजनको फाइनलमा लुम्बिनी लायन्ससँग पराजित भएपछि यस संस्करणको पहिलो खेलमै फेरि लुम्बिनीसँगै हार बेहोरेको थियो । 

एनपीएलका अघिल्ला दुई संस्करणमा विराटनगर र सुदूरपश्चिम तीन पटक आमनेसामने भएका छन् ।

Share News