नेपालमा पहिलो पटक स्ट्रिट फुटबल विश्वकप छनोट प्रतियोगिता हुने, लगानी ५५ लाख
काठमाडौं । नेपालमा लुकेर रहेका फुटबल प्रतिभाहरूलाई पहिचान गरी अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यका साथ एक्स्ट्रिम फुटबल फिभर आइएफए ३भी३ स्ट्रिट फुटबल विश्वकप छनोट नेपाल २०२६ आयोजना हुने भएको छ । एलपीएस म्यानेजमेन्ट, एस एण्ड एस हेल्थ एन्ड रिसर्च सेन्टर र ट्रिपल टु प्रोडक्सनको संयुक्त आयोजना तथा एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजनमा यो छनोट प्रतियोगिता हुन लागेको हो । स्ट्रिट फुटबलको जगलाई पुनर्जीवित गर्दै युवा वर्गलाई खेलकुदको माध्यमबाट सकारात्मक कार्यमा सरिक गराउनु यस प्रतियोगिताको मुख्य लक्ष्य रहेको छ । यस प्रतियोगितामा देशभरबाट खुला दर्ता मार्फत कुल ९२ टोलीहरूले पूर्ण रूपमा निःशुल्क सहभागिता जनाउने छन् । प्रतियोगिता समूह चरण र नकआउट ढाँचामा इन्टरनेसनल स्ट्रिट फुटबल एशोसिएसनको ३भी३ नियम अनुसार खेलाइनेछ । सहभागि टोलीहरूलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक समूहका शीर्ष २ टोली र तेस्रो स्थानमा रहेका उत्कृष्ट १८ टोली गरी कुल ६४ टोलीहरू नकआउट चरणमा प्रवेश गर्नेछन् । प्रत्येक खेल कुनै ब्रेक बिना लगातार १० मिनेटको हुनेछ र खेलमा साइज ४ को फुटसल बल प्रयोग गरिनेछ । आगामी जुलाई १ देखि जुलाई १९ सम्म नेपाली समय अनुसार अपरान्ह ३ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म फ्लडलाइट र विविध मनोरञ्जनात्मक प्रस्तुतिहरूका साथ यो खेल उत्सव सञ्चालन हुने तालिका रहेको छ । काठमाडौंको मौलिक संस्कृतिलाई जोड्न समूह चरणका खेलहरू काठमाडौं महानगरपालिका भित्रका ५ वटा ऐतिहासिक स्थानहरू कुमा ननी (टेकु), तबाहाल, लगन, ओमबहाल र तेबहाल (संकटा) मा आयोजना गरिनेछ । यस छनोट प्रतियोगिताको विजेता टोलीले आगामी सेप्टेम्बर २०२६ मा उट्रेक्ट, नेदरल्याण्ड्समा आयोजना हुने आइएफए ३भी३ स्ट्रिट फुटबल विश्वकप २०२६ मा नेपालको प्रतिनिधित्व गर्ने सुनौलो अवसर प्राप्त गर्नेछ । विजेता टोलीका खेलाडीहरूले एलपीएस म्यानेजमेन्टसँग ३ महिनाको व्यावसायिक खेलाडी सम्झौता प्राप्त गर्नुका साथै विश्वकपको विशेष तयारीका लागि बन्द प्रशिक्षणमा सामेल हुन पाउनेछन् । यसका साथै, प्रतियोगिताकै आधारमा नेपालकै पहिलो आधिकारिक नेपालको ३ भी ३ स्ट्रिट फुटबल वरीयता समेत तयार गरिनेछ । लगानी ५५ लाख रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । खेल प्रेमीहरूका लागि प्रतियोगिताका सम्पूर्ण खेलहरू खेल खेलौं युट्युब च्यानल र नेपाल एफसी फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ भने खेलका नतिजा र तथ्याङ्कहरू वास्तविक समयमा आधिकारिक वेबसाइट Challenge.Place मार्फत हेर्न सकिनेछ ।
न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज भएको खेलमा बेल्जियमले न्युजिल्यान्डलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो । यसअघि दुई प्रतियोगितामा लगातार दुई खेल बराबर गोल गरेको बेल्जियमले पहिलो जितसँगै पाँच अङ्क जोड्दै समूह ‘जी’को विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो । बेल्जियमको जितमा लिएन्ड्रो ट्रोसार्डले दुई गोल गरे भने केभिन डे ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस सेलेमेकर्सले समान एक–एक गोल गरेका छन् । ट्रोसार्डले खेलको २८औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । उनले ५०औँ मिनेटमा दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि डे ब्रुएनाले ६६औँ मिनेटमा तथा लुकाकुले ८६औँ मिनेटमा गोल गरे । दोस्रो हाफको अतिरिक्त समयमा सेलेमेकर्सले अर्को गोल थपे । न्युजिल्यान्डका लागि एलिजा जस्टले ८४औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए । आजै भएको अर्को स्पर्धामा इजिप्ट र इरानले १–१ गोलको बराबरी खेलेका छन् । यससँगै समूह ‘जी’मा बेल्जियम पाँच अङ्कसहित समूह विजेता बन्यो भने समान पाँच अङ्क भए पनि गोलअन्तरका आधारमा इजिप्ट उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । इरान तीन अङ्कसहित तेस्रो स्थानमा रहँदा एक अङ्क मात्र जोड्न सफल न्युजिल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ ।
विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान
काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको फिफा विश्वकप २०२६ ले इतिहासमै सबैभन्दा धेरै गोल भएको विश्वकपको नयाँ कीर्तिमान कायम गरेको छ । अझ रोचक कुरा के छ भने नकआउट चरण सुरु हुनुअघि नै यस संस्करणले कतारमा सन् २०२२ मा बनेको १७२ गोलको विश्वकप कीर्तिमानलाई उछिनेको हो । अमेरिका र टर्कीबीचको समूह ‘डी’ को खेलमा अमेरिकाका डिफेन्डर अस्टन ट्रष्टीले गरेको गोल यस विश्वकपको १७३औँ गोल बनेको थियो । त्यससँगै कतार विश्वकपभरि ६४ खेलमा भएको १७२ गोलको कीर्तिमान तोडियो । अझ यो उपलब्धि २०२६ संस्करणमा ५९औं खेलमै सम्भव भएको हो । हालसम्म जारी प्रतियोगितामा अर्जेन्टिनाका कप्तान लियोनेल मेसी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । मेसीले समूह चरणका सुरुआती दुई खेलमै पाँच गोल गर्दै गोल्डेन बुटको दौडमा अग्रता बनाएका छन् । अल्जेरियाविरुद्ध ह्याट्रिक गरेपछि उनले अस्ट्रियाविरुद्ध दुई गोल थपेका थिए । त्यही प्रदर्शनसँगै उनले विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्। जर्मनीका मिरोस्लाभ क्लोजेको १६ गोलको कीर्तिमानलाई उछिन्दै मेसीले विश्वकपमा आफ्नो कुल गोल संख्या १८ पुर्याएका हुन् । त्यसैगरी, जारी विश्वकपमा ४ गोल गर्ने ४ खेलाडी रहेका छन् । फ्रान्सका उस्मान डेम्बेलेले ह्याट्रिकसँगै प्रतियोगितामा दोस्रो सर्वाधिक गोल गर्ने खेलाडीको दाबेदारीमा आफूलाई उभ्याए । उनको कुल ४ गोल भएको छ । उनी फ्रान्सकै केलियन एम्बाप्पे, नर्वेका अर्लिङ हालान्ड र ब्राजिलका भिनिसियस जुनियरसँगै ४ गोल गर्ने खेलाडीको सूचिमा उक्लिएका हुन् । यसपटक गोलको वर्षा हुनुका पछाडि धेरै कारण देखिएका छन् । पहिलो, विश्वकपको इतिहासमै पहिलो पटक ३२ बाट ४८ टोली सहभागी भएका छन् । टोली संख्या बढेसँगै खेलको संख्या पनि ६४ बाट १०४ पुगेको छ । त्यसका साथै तुलनात्मक रूपमा कमजोर मानिएका केही नयाँ टोलीहरूको सहभागिताले पनि केही एकपक्षीय खेलहरू देखिएका छन्, जसले गोल संख्या बढाउन सहयोग गरेको विश्लेषण छ । यद्यपि गोलको संख्या बढ्नुको कारण खेल संख्यामात्र होइन भन्ने तथ्यले पनि धेरैको ध्यान खिचेको छ । कतार विश्वकपको सम्पूर्ण प्रतियोगिताभरि भएको गोल संख्या यस संस्करणले समूह चरणकै क्रममा उछिनेको छ । अर्थात् अझ धेरै खेल बाँकी रहँदा नै नयाँ कीर्तिमान बनेको हो । २०२६ संस्करणलाई अघिल्ला विश्वकपभन्दा पृथक बनाउने अर्को ठूलो पक्ष यसको नयाँ ढाँचा हो । पहिलो पटक तीन देश—अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा प्रतियोगिता आयोजना गरेका छन् । यसअघि कुनै पनि विश्वकपमा तीन आयोजक राष्ट्र थिएनन् । त्यसैगरी, सहभागी टोली संख्या ४८ पुगेपछि १२ समूह बनाइएका छन्, जहाँ प्रत्येक समूहमा चार टोली छन् । प्रत्येक समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट आठ तेस्रो स्थानका टोली पनि नकआउट चरणमा पुग्ने व्यवस्था गरिएको छ । यसका कारण विश्वकपको इतिहासमै पहिलो पटक ‘राउन्ड अफ ३२’ समावेश गरिएको छ । नयाँ ढाँचाले विश्व फुटबलमा नयाँ राष्ट्रहरूको उपस्थिति पनि बढाएको छ । धेरै टोलीले पहिलो पटक विश्वकप खेल्ने अवसर पाएका छन् भने केही साना राष्ट्रहरूले बलिया टोलीलाई चुनौती दिएर प्रतियोगितालाई थप रोमाञ्चक बनाएका छन् । यसले विश्वकपको प्रतिस्पर्धात्मक दायरा अझ फराकिलो भएको विश्लेषकहरु बताउँछन् । गोलको वर्षासँगै दर्शक उपस्थिति पनि उल्लेखनीय बनेको छ । फिफाका अनुसार यस संस्करणले दर्शक उपस्थितिको हिसाबले पनि नयाँ कीर्तिमानतर्फ अग्रसर भएको छ । विशाल रंगशाला, तीन देशमा फैलिएको आयोजना र फुटबलप्रतिको उत्साहका कारण प्रतियोगिताले विश्वव्यापी आकर्षण अझ बढाएको हो । प्रतियोगिता नकआउट चरणतर्फ अघि बढ्दै जाँदा गोल संख्या अझ तीव्र गतिमा बढ्ने अपेक्षा गरिएको छ । यदि यही लय कायम रह्यो भने विश्वकप इतिहासमै पहिलो पटक २०० भन्दा धेरै गोल हुने अनुमान छ।