विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको ५ ओभरको रोमाञ्चक खेलमा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । वर्षाका कारण मैदान हिलो भएकाले निर्धारित ५ बजेको खेल ढिला गरी राति ९ः१५ मा सुरु भएको थियो । 

सुरुमा सुदूरपश्चिमका खेलाडीहरू मैदानको अवस्था र विदेशी खेलाडीको असहमतिका कारण टसका लागि तयार नहुँदा अन्योल सिर्जना भए पनि अन्ततः सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर बलिङ रोजेका थिए ।

पहिले ब्याटिङ गरेको विराटनगरले शेहान जयासूर्याको विष्फोटक ३९ रन (११ बल), आन्द्रे रसेलको अविजित २९ रन (१० बल) र लोकेश बमको २५ रन (१० बल) को मद्दतमा ५ ओभरमा २ विकेट गुमाउँदै १०५ रनको विशाल योगफल तयार पार्यो । 

जयासूर्याले सुदूरपश्चिमका श्रीलंकन स्पिनर थरिन्दु रत्नायाकेको पहिलो ओभरमै ५ छक्का प्रहार गर्दै टोलीलाई आक्रामक सुरुआत दिलाएका थिए । सुदूरपश्चिमका लागि अभिनाश बोहराले १ विकेट लिए ।

१०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले ५ ओभरमा २ विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो। सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले अविजित २८ रन, सैफ जैब र आरिफ शेखले समान १७-१७ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।

टोलीका प्रमुख ब्याटर शेरफान रुथरफोर्ड र कप्तान दीपेन्द्रसिंह ऐरी सुरुवातमै सस्तोमा आउट भएपछि सुदूरपश्चिम समस्यामा परेको थियो । ब्याटिङ, बलिङ (८ रन दिएर १ विकेट) र फिल्डिङमा सर्वोत्कृष्ट प्रदर्शन गरेका आन्द्रे रसेल खेलका मुख्य आकर्षण बनेका थिए। यो जितसँगै विराटनगरले ३ खेलबाट २ अंक जोड्दै अंक तालिकामा खाता खोलेको छ ।

Share News