एनपिएलले कीर्तिपुरमा आर्थिक गतिविधि बढ्यो, व्यवसायीलाई भ्याइनभ्याइ

कीर्तिपुर । कीर्तिपुरको उमामहेशवरस्थित क्वाचो खाजा घरमा एक सातायता मानिसहरुको चहलपहल पहिले भन्दा निकै बाक्लो भएको छ । पहिले दिनमा मानिसहरुको सामान्य चहलपहल हुने गरेको भएपनि अहिले भने खाजा खाने ग्राहक बढेपछि खाजा घरका सञ्चालक माइला महर्जनलाई भ्याइनभ्याइ भएको छ । यसरी ग्राहक ह्वात्तै बढ्नुको कारण हो, नेपाल प्रिमियर लिग (एनपिएल) ।      यही मङ्सिर १ गतेदेखि क्रिकेटको महाकुम्भ अर्थात एनपिएल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु भएको छ । जहाँ हजारौँ दर्शक क्रिकेटको साक्षी बन्न पुग्न थालेका छन् । एनपिएलका लागि जाने दर्शकहरु कीर्तिपुरबासीका लागि आर्थिक आर्जनको माध्यम बनेका छन् ।      खास गरी मौलिक नेवारी खाना, कृषि उपज र हस्तकला सामग्रीको बजारीकरणका लागि एनपिएल सहयोगी बनेको उनीहरुको बुझाइ छ । कीर्तिपुरको प्रसिद्ध लहना नेवारी रेस्टुरेन्टमा पनि ग्राहकको भीड बढेको सञ्चालक राजमान महर्जनले बताए । 'पोहर साल हरेक दिन जसो जित्ने टोलीका समर्थकहरुले रेष्टुरेन्ट भरिएको हुन्थ्यो, यसपाली पनि संख्या बढ्दो छ', उनले भने । कीर्तिपुरमा रहेका ८० वटा रेस्टुरेन्टमध्ये अधिकांशमा नेवारी परिकार पाइन्छ ।      रेष्टरेन्टहरुले पनि ग्राहक बढाउनका लागि ठूलो स्क्रिनमा खेल देखाउन थालेका छन् । ससः नेवारी रेस्टुरेन्टका प्रवन्धक रिजन महर्जन एनपिएल कीर्तिपुरको व्यवसाय बढाउने माध्यम भएको बताए । 'हामीले बिक्री गर्ने परिकारमा सकेसम्म स्थानीय उत्पादन नै प्रयोग गर्छौ, परिकारसँगै हामीले पराल र मकैको खोस्टाबाट बनेका हस्तकलाका सामग्री पनि प्रदर्शनीका लागि राखेका छौँ,' उनले भने । उक्त रेष्टुरेन्टले एनपिएल अवधिभर खानामा १० प्रतिशत छुटको पनि व्यवस्था गरेको छ ।  

एनपिएल : लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गतको आजको खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्ससामु जीतका लागि १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।      कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५६ रन जोड्यो ।      लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे । यस्तै, रुबेन ट्रम्पलमान २९ रनमा अविजित रहे । जोहानीस जोनाथन स्मितले २३ रन तथा डी’आर्की शर्टले १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।      बलिङतर्फ कर्णालीका नन्दन यादवले दुई विकेट लिए भने सोमपाल कामी, गुलशन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक/एक विकेट लिए ।      आजै हुने दोस्रो खेलमा दिउँसो ३ः३० बजे काठमाडौं गोर्खाज र विराटनगर किङ्स खेल्दैछन् ।   

एनपिएल : शनिबार दुई खेल हुँदै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार दुई खेल हुने भएका छन् ।    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय  क्रिकेट रङ्गशाला बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्नेछन् । लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रनेछ । लुम्बिनी दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो । कर्णालीको पनि यो दोस्रो खेल हो । पहिलो खेलमा चितवन राइनोजसँग हारेको कर्णाली शनिबार विजयी हुन चाहन्छ । यस्तै, दोस्रो खेलमा दिउँसो ३ः३० बजे काठमाडौं गोर्खाज र विराटनगर किङ्स खेल्दै छन् । करण केसीको कप्तानीमा रहेको काठमाडौँ तेस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग स्तब्ध भएको थियो । सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा छ । विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि शानदार जित निकालेको थियो ।