सुदूरपश्चिमको लगातार चौथो जित, लुम्बिनी लायन्सको हारको ह्याट्रिक
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अपराजित रहेको टोली सुदूरपश्चिम रोयल्सले चौथो खेलमा लुम्बिनी लायन्सलाई पराजित गरेको छ । सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा लुम्बिनीको यो लगातार तेस्रो हार हो । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९।४ ओभरमा १ सय ४३ रन जोड्दा अलआउट भएको थियो । जवाफमा १ सय ४४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले उक्त लक्ष्य ४ बल बाँकी हुँदा पूरा गर्यो । सुदूरपश्चिमको प्रभावशाली जितमा ओपनर विनोद भण्डारीले ४९ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ६९ रनको अर्धशतकीय इनिङ्स खेले । उनले आरिफ शेखसँग चौथो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए । शेख ३९ रनमा आउट भएका थिए । यी दुईबाहेक क्रिस लिनले १६ रन बनाउँदा जोश ब्राउनले ९ रन बनाएका थिए । लुम्बिनीका लागि रुवेन ट्रम्पलमेन र अभिशेष गौतमले १(१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३५ रन बनाउँदा दिलिप नाथले ३१ रन बनाए । त्यस्तै, ड्’यार्सी सर्ट र सुमित महर्जनले समान १८ रन बनाएका थिए । त्यस्तै, थप दोहोरो स्कोरका रुपमा गुल्बदिन नाइबको ११ रन रह्यो । लुम्बिनीले पहिलो खेलमा जित निकालेयता लगातार पराजय भोगिरहेको छ । सुदूरपश्चिम ४ खेलबाट ८ अङ्क बनाई शीर्ष स्थानमा कायम रहँदा पराजित लुम्बिनीको समान खेलबाट २ अंक मात्र रहेको छ ।
सगरमाथा लुम्बिनी ईन्स्योरेन्सले सलिको गल्फ प्रतियोगिता आयोजना गर्दै
काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनीले विगत वर्षझैँ यस वर्ष पनि सलिको गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । ईन्स्योरेन्सले मंसिर १२ र १३ गते रोयल नेपाल गल्फ क्लब, त्रिभुवन विमानस्थल क्षेत्र, काठमाडौंमा सलिको गल्फ प्रतियोगिता २०२५ आयोजना गर्ने भएको हो । उक्त प्रतियोगितामा १७ विधाका खेलहरू सञ्चालन गरिनेछन्, जहाँ विभिन्न उमेर समूहका महिला तथा पुरुष खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता आयोजना गर्नुको उद्देश्य गल्फ खेलमा रुचि राख्ने खेलाडीहरूको सीपलाई अभिव्यक्त गराउनु तथा यो खेलबारे रुचि राख्ने सबैलाई प्रत्यक्ष आनन्द लिन सक्ने वातावरण निर्माण गर्नु रहेको कम्पनीले उल्लेख गरेको छ । विश्वमा अत्यधिक लोकप्रिय खेलमध्ये गल्फ पनि एक भए तापनि नेपालको सन्दर्भमा यसको विकास पर्याप्त रूपमा हुन नसकेको पृष्ठभूमिमा, यस प्रतियोगिताले खेलको विस्तार र प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने अपेक्षा राखिएको छ । प्रतियोगितामा समावेश १७ विधामध्ये ‘होल इन वान’ विधाको पुरस्कारका लागि सिप्रदी ट्रेडिङ प्रालिद्वारा टाटा नेक्सन के३ विद्युतीय सवारी, अन्य विधामा सिम्रिक वायु सेवाद्वारा २ जनालाई आकाश उडान (स्काइ डाइभिङ) अनुभव, तथा कैलाश हेलिकोप्टर सेवाबाट १ जनालाई गोसाइँकुण्डको हेलिकोप्टर यात्रा उपलब्ध गराइनेछ । साथै अन्य आकर्षक पुरस्कारहरूको समेत व्यवस्था गरिएको छ । यसै अवसरमा सलिकोले निर्जीवन बीमाको महत्त्वबारे प्रकाश पार्दै, विभिन्न प्रकारका जोखिमबाट सुरक्षा प्रदान गर्ने बीमाको आवश्यकता तीव्र रूपमा बढ्दै गएको जनाएको छ । वर्तमान परिवेशमा जोखिम व्यवस्थापन र सुरक्षाप्रति नागरिकको चासो बढिरहेकाले खेलकुद गतिविधिमा संलग्न व्यक्तिहरूमाझ निर्जीवन बीमाबारे सचेतना फैलाउने उद्देश्य पनि रहेको कम्पनीले स्पष्ट पारेको छ ।
लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११:४५ र दोस्रो खेल अपरान्ह ४ बजे हुनेछ । रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ । सुदूरपश्चिले भने आफ्नो अपराजित यात्रालाई काय राख्ने लक्ष्यमा छ । तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको छैटौं स्थानमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार तीन जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ । यो टोलीले ६ अङ्क बटुलेको छ । अनिल शाह नेतृत्वको साविक विजेता जनकपुर र कुशल भुर्तेलको कप्तानीमा पोखरा जित आफ्नो पोल्टामा पार्ने दाउमा छन् । यसअघि जनकपुर र पोखरा दुवै खेलमा पराजित भएका थिए ।