आज काठमाडौं गोर्खाज र साबिक उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज काठमाडौं गोर्खाज र साबिक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौं दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद सुरुआत गर्ने लक्ष्यमा रहनेछ ।  काठमाडौंले उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो । काठमाडौंको नेतृत्व करण केसीले गर्दै छन् । उनी नेतृत्वको टोलीमा भीम सार्की, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चाल्र्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम थापा मगर (विकेट किपर), सन्नी पटेल, जोन सिम्पसन (विकेट किपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुलबहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर), सन्तोष यादव र सोनु देवकोटा समावेश छन् ।  सुदूरपश्चिम रोयल्सको कप्तानी नेपाली राष्ट्रिय टिमका उपकप्तान समेत रहेका दीपेन्द्र सिंह ऐरीले गर्दैछन् । उनी नेतृत्वको टोलीमा विनोद भण्डारी (विकेट किपर), अविनाश बोहरा, दीपक बोहरा (विकेट किपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, इशान पाण्डे, टेक रावत (विकेट किपर), नरेन साउद, हर्मित सिंह, आरिफ शेख, दीपेन्द्र थापा (विकेट किपर) र हिम्मत महरा छन् ।  काठमाडौंको प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक मोन्टी देशाइ र सुदूरपश्चिमको प्रशिक्षक जगत टमाटा रहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि जारी प्रतियोगितामा ८ टोली सहभागी छन् ।

एनपीएल: विराटनगरविरुद्ध टस जितेर बलिङ गर्दै पोखरा

काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिए । एनपीएल प्रतियोगिताको विजेता टिमले गतवर्ष जस्तै यस वर्ष पनि १ करोड ११ लाख पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टिमले ५१ लाख तथा तेस्रो हुने टिमले २५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।  पोखराले पहिलो संस्करणको भेटमा विराटनगरविरुद्ध सुपर ओभरमा जित निकालेको थियो । 

एनपिएल : बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोज विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको दोस्रो खेलमा रबि बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोज विजयी भएको छ । चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको हो ।  कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाउँदै १६६ रनको योगफल बनायो । एक सय ६७ रनको विजयी लक्ष्य चितवनले पाँच बल बााकी छँदै ६ विकेट गुमाउदै पूरा गर्यो ।      चितवनको जितमा बोपाराले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ३६ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । त्यस्तै दिपक बोहोराले ३६ बलमा ६ चौका र एक छक्काको सहयोगमा ४२ रन बनाए । सइफ जइबले १६ बलमा दुई चौका र चार छक्का हान्दै ३८ तथा कप्तान कुशल मल्ले १५ बलमा दुई छक्काको मद्दतमा २० रन बनाए ।      बलिङततर्फ कर्णाली याक्सका लागि कप्तान सोमपाल कामीले दुई तथा उनिस सिंह, मार्क वाट र युवराज खत्रीले एक एक विकेट लिए ।    त्यसअघि कर्णाली याक्सका लागि ओपनर प्रियाङ्क पञ्चालले सर्वाधिक ९० रनको योगदान दिए । उनी शतक बनाउनबाट १० रनले चुके । पहिलोपटक एनपिएल खेलिरहेका पञ्चालले ४८ बलमा सात चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ९० रन बनाएका हुन् । यस संस्करणमा अर्थशतक बनाउने उनी दोस्रो खेलाडी बनेका छन् ।    त्यसैगरी म्याक्स ओडाउडले ३० बलमा एक चौका हान्दै २० रन बनाए । मार्क वाटले २१ बलमा एक चौकाको मद्दतमा १६, पवन शर्राफले अविजित २७ तथा नाजिबुल्लाह जद्रानले अविजित चार रन बनाए ।       बलिङतर्फ चितवन राइनोजका सोहेल तानविर, सइफ जैब र रबि बोपराले एक एक विकेट लिए । आजै खेलिने दोस्रो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल  अपराह्न ४ बजे सुरु हुनेछ ।