काठमाडौं । आर्य फार्माल्याबले नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा नेपाल क्रिकेट संघ (क्यान) सँग तीन वर्षे सहकार्य गर्ने सम्झौता गरेको छ । स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले यस्तो सम्झौता गरेको हो ।
कम्पनीका अनुसार क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउनु सहकार्यको मुख्य उद्देश्य हो ।
यस सहकार्यअन्तर्गत आर्य फार्माल्याबले एनपीएलका खेल सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण कक्ष, जनचेतनामूलक कार्यक्रम तथा मनोरञ्जन र खेलकुदसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको छ ।
यी कार्यक्रममार्फत खेल हेर्न आउने दर्शकलाई आधारभूत स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श र स्वस्थ जीवनशैलीसम्बन्धी जानकारी प्रदान गर्ने कम्पनीको लक्ष्य छ ।
यसैगरी, आर्य फार्माल्याबले खेलाडीको उत्कृष्ट प्रदर्शन र खेल भावनालाई प्रोत्साहन गर्न प्रत्येक खेलमा दुई खेलाडीलाई ‘हेल्दी पार्टनरसिप अवार्ड’ प्रदान गर्ने भएको छ । अवार्ड प्राप्त गर्ने प्रत्येक खेलाडीले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
त्यस्तै, प्रत्येक खेलमा एक जना दर्शकलाई २० हजार रुपैयाँको ‘हार्टबिट मुमेन्ट अफ द म्याच’ पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । यी कार्यक्रमले खेलाडीको योगदानको कदर गर्नुका साथै दर्शकको सहभागिता र उत्साह बढाउने अपेक्षा गरिएको छ ।
स्थापनाको ३० वर्ष पूरा गरेको अवसरमा सुरु गरिएको यस सहकार्यलाई कम्पनीले आफ्नो यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । क्रिकेटजस्तो लोकप्रिय खेलमार्फत धेरैभन्दा धेरै नागरिकसम्म स्वास्थ्यसम्बन्धी सन्देश पुर्याउन सकिने विश्वास कम्पनीले व्यक्त गरेको छ ।