पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सको शानदार जित, दीपेन्द्रको अर्धशतक

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सविरुद्ध शानदार जित हासिल गरेको छ ।

बुधबार (आज) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखरा एभेन्जर्सले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो । 

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए । उनले ५१ रन बनाएका हुन् । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए ।

त्यस्तै, ब्रान्डन म्याकमुलेनले २२, इशान पाण्डेले ३७ र साइब जाइबले १५ रन बनाए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।  पोखराका लागि महेदी हसनले ३२ रन बनाउँदा कप्तान कुशल भुर्तेलले २१ रन बनाए ।

त्यस्तै, सकिब अल हसनले १४ रन बनाउँदा उसका लागि सर्वाधिक राम्रो प्रदर्शन भने अर्जुन घर्ती मगरको नाममा रह्यो । उनले २५ बलमा ४० रन बनाए ।

सुदूरपश्चिमका लागि अनिल खरेलले ३ विकेट लिँदा हेमन्त धामी, स्कट कुग्लीङ र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिएका थिए ।

यो सुदूरपश्चिमको पहिलो जित हो । खेलमा जित हासिल गरेसँगै टोलीले २ अंक जोडेको छ ।

दुवै संस्करणको उपविजेतासमेत रहेको सुदूरपश्चिमले उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग सात विकेटको हार बेहोरेको थियो । पोखराकाे भने यो पहिलाे खेल हाे ।

Share News