नेपाल खुला विश्वविद्यालयमा उपकुलपति र कुलसचिव नियुक्तिका लागि दरखास्त आह्वान
काठमाडौं । नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुलसचिव नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत उच्च शिक्षा शाखाले सार्वजनिक सूचना जारी गर्दै उपकुलपति र कुलसचिव पदका लागि आवेदन मागेको हो । समितिले नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ तथा सम्बन्धित कार्यविधिअनुसार योग्य उम्मेदवारबाट दरखास्त मागेको जनाएको छ । मन्त्रालयका अनुसार उपकुलपति र कुलसचिव छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३ बमोजिम आवेदन दिनुपर्नेछ । इच्छुक उम्मेदवारले २०८३ असोज १४ गते कार्यालय समयभित्र शिक्षा तथा खेलकुद मन्त्रालयको उच्च शिक्षा शाखामा निवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । मन्त्रालयले आवेदनका लागि आवश्यक योग्यता, मापदण्ड, कागजात तथा अन्य विवरण सम्बन्धित कार्यविधिमा तोकिएको जनाएको छ ।
निर्देशनबिनै एआईले सरकारी वेबसाइट ह्याक गरेपछि...
काठमाडौं । ओपनएआईले विकास गरेको एआई एजेन्टले बिना निर्देशन अस्ट्रेलियाली सरकारी वेबसाइटमा अनधिकृत पहुँच बनाएपछि एआईको बढ्दो स्वायत्त क्षमतामाथि गम्भीर प्रश्न उठेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजका अनुसार जुन १८ मा ओपनएआईको एआई एजेन्टले सर्भिसेस अस्ट्रेलियाले सञ्चालन गर्ने ‘मेडिकेयर स्ट्याटिस्टिक्स रिपोर्टिङ सर्भिस’ पोर्टलमा पहुँच बनाएको थियो । एआई एजेन्टले पोर्टलमा रहेका सार्वजनिक तथा गैरसार्वजनिक दुवै प्रकारका फाइलमा पहुँच बनाएको प्रधानमन्त्री अल्बानिजले बताएका छन् । यद्यपि व्यक्तिगत विवरणमा पहुँच पुगेको कुनै प्रमाण अहिलेसम्म नभेटिएको बताइएको छ । घटनाबारे फरेन्सिक अनुसन्धान जारी छ । उक्त पोर्टलमा मेडिकेयरसँग सम्बन्धित संवेदनशील नभएका तथ्यांक, खर्चसम्बन्धी विवरणलगायत सामग्री राखिएका छन् । घटनाप्रति अस्ट्रेलियाले ‘अत्यन्त गम्भीर चिन्ता’ व्यक्त गरेको छ । प्रधानमन्त्री अल्बानिजले ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानसँग समेत कुरा गरेर घटनाबारे चासो व्यक्त गरेका छन् । उनले घटनाबारे सरकारलाई जानकारी गराउन कम्पनीले गरेको ढिलाइको समेत आलोचना गरेका छन् । ओपनएआईले अस्ट्रेलियाली अधिकारीलाई सेप्टेम्बर १० मा मात्र घटनाबारे जानकारी गराएको थियो । अर्थात घटना भएको झन्डै तीन महिनापछि मात्रै कम्पनीले सरकारलाई जानकारी दिएको हो । ओपनएआईका अनुसार अस्ट्रेलियासम्बन्धी प्रश्न तथा तथ्यांकको उत्तर खोज्ने क्रममा आन्तरिक मूल्यांकन भइरहेका बेला उक्त गतिविधि भएको थियो । कम्पनीका प्रवक्ताले सीएनबीसीसँग भने, ‘त्यस क्रममा हाम्रा मोडलहरूले हामीले उद्देश्य नराखेका केही गतिविधि गरे ।’ कम्पनीले बिरामीका व्यक्तिगत अभिलेखमा पहुँच पुगेको कुनै प्रमाण नरहेको जनाएको छ । एआईले समग्र स्वास्थ्य तथ्यांक तथा आन्तरिक फाइलका नाममा भने पहुँच बनाएको बताइएको छ । ओपनएआईका अनुसार जुनमा भएको उक्त गतिविधिबारे कम्पनीलाई अगस्टमा मात्र थाहा भएको थियो । त्यसपछि के–कस्ता सामग्रीमा पहुँच पुगेको थियो भन्नेबारे अनुसन्धान गरेर अस्ट्रेलियाली सरकारलाई जानकारी दिइएको कम्पनीले जनाएको छ । यो ओपनएआईका एआई प्रणालीबाट अनपेक्षित रूपमा भएको पहिलो घटना भने होइन । यसअघि पनि कम्पनीका एआई प्रणालीले कुनै निर्देशनबिना युनिभर्सिटी अफ न्यु मेक्सिकोको डिजिटल पुस्तकालय तथा अमेरिकाको रोजगारी र शिक्षासम्बन्धी सार्वजनिक तथ्यांक उपलब्ध गराउने ‘डाटा यूएसए’ प्लेटफर्ममा प्रवेश गर्ने प्रयास गरेको न्युयोर्क टाइम्सले जनाएको थियो । जुलाईमा त ओपनएआईका मोडलहरूले इन्टरनेटबाट अलग राख्न बनाइएका सुरक्षा नियन्त्रण छल्दै कम्पनीको आन्तरिक अनुसन्धान पूर्वाधारका केही हिस्सामा पहुँच बनाएका थिए । साथै डेभलपर प्लेटफर्म हगिङ फेसका प्रणालीमा समेत पहुँच पुर्याएको बताइएको थियो । यी घटनाले मानिसको निर्देशनबिना आफै निर्णय गर्न र बाह्य प्रणालीसँग अन्तरक्रिया गर्न सक्ने एआई एजेन्टको विकाससँगै त्यसको सुरक्षा र नियन्त्रण चुनौती पनि बढ्दै गएको देखाएको छ ।
भारी वर्षाको सम्भावना: बिदामा पनि स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन निर्देशन
काठमाडौं । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबान लगायत विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएको छ । मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचना तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न भागमा हुन सक्ने भारीदेखि अति भारी वर्षालाई मध्यनजर गर्दै प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संघीय अस्पताललाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको हो । मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार सम्पर्कमा रहने र विपद्को अवस्था सिर्जना भए तत्काल परिचालन हुन सक्ने गरी पूर्वतयारी मिलाउन निर्देशन दिएको छ । प्रदेशअन्तर्गतका स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयलगायत सम्बन्धित निकायलाई स्थानीय तहसँग तत्काल समन्वय तथा सञ्चार कायम गरी स्वास्थ्य सेवा र विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ । साथै, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबीसै घण्टा सञ्चालनमा राखी सम्भावित विपद्को निरन्तर सूचना संकलन, समन्वय तथा प्रतिकार्य व्यवस्थापन गर्न निर्देशन दिइएको छ । स्वास्थ्य सेवा विभागलाई आकस्मिक तथा नियमित स्वास्थ्य सेवा निरन्तर सञ्चालनका लागि आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न भनिएको छ । साथै, स्वास्थ्य संस्थाको तयारी अवस्था र आकस्मिक प्रतिकार्यसम्बन्धी योजना असोज ८ गतेभित्र मन्त्रालयमा पेश गर्न निर्देशन दिइएको छ । सम्भावित जोखिमयुक्त जिल्लामा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री, सर्पदंशविरुद्धको औषधि, जीवनजललगायत अत्यावश्यक सामग्री पर्याप्त मौज्दात राख्न पनि विभागलाई भनिएको छ । द्रुत प्रतिकार्य टोलीलाई समेत तयारी अवस्थामा राख्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । त्यस्तै, प्रसूतिको सम्भावित मिति नजिक रहेका गर्भवती महिला तथा दीर्घरोगीलाई विपद्का कारण स्वास्थ्य सेवामा पहुँच प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार स्वास्थ्य संस्थाको नजिक वा सुरक्षित स्थानमा रहन अनुरोध गर्ने व्यवस्था मिलाउन भनिएको छ । नियमित सेवन गर्नुपर्ने औषधि आवश्यक मात्रामा साथमा राख्न पनि गर्भवती महिला तथा दीर्घरोगीलाई जानकारी गराउन मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई आकस्मिक स्वास्थ्य समस्या वा विपद्जन्य अवस्थाका कारण तत्काल स्वास्थ्य सेवा आवश्यक परेमा एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गरी उपचारको व्यवस्था मिलाउन सहजीकरण गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।