काठमाडौं । च्याटजीपीटी बनाउने कम्पनी ओपनएआईले नेक्स्ट–जेन एआई मोडल जीपीटी–६.१ अस्ट्रा तत्काल सार्वजनिक नगर्ने पुष्टि गरेको छ ।
कम्पनीका अनुसार उक्त मोडल सुरक्षा र विश्वसनीयताका लागि तय गरिएका मापदण्डमा पूर्ण रूपमा खरो उत्रिन नसकेकाले तत्काल सार्वजनिक नहुने भएको हो ।
ओपनएआईकी सेफ्टी सिस्टम्स प्रमुख साची जैनले उक्त एआई मोडलले आफैं इन्टरनेट ब्राउज गर्ने र एपहरू प्रयोग गर्नेजस्ता काम गर्न सक्ने भए पनि यसको कार्यसम्पादन कम्पनीको अपेक्षाअनुसार हुन नसकेको बताइन् ।
उनका अनुसार मोडलले आफूले कुन सीमाभित्र र कति अधिकार प्रयोग गरेर काम गर्नुपर्ने हो भन्ने बुझ्न कठिनाइ देखाएको थियो ।
त्यस्तै, मोडलले आफूले गरेका कामबारे प्रयोगकर्तालाई कति सही र पारदर्शी जानकारी दिन्छ भन्ने विषय पनि स्पष्ट हुन नसकेको उनले बताइन् ।
साची जैनले भनिन्, ‘हामी हाम्रा मोडलहरूको विकास पूर्ण रूपमा सुरक्षित होस् भन्ने चाहन्छौं । तर कुनै मोडल सर्वसाधारणका लागि सार्वजनिक गर्दा सुरक्षा र जिम्मेवार व्यवहारका विषयमा हाम्रो मापदण्ड निकै उच्च हुन्छ ।’
पछिल्ला केही सातामा ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यान र एन्थ्रोपिकका प्रमुख डारियो अमोडेईसहित एआई क्षेत्रका विभिन्न दिग्गजहरूले तीव्र गतिमा भइरहेको एआई विकासप्रति चिन्ता व्यक्त गर्दै उद्योगलाई सतर्क भएर अघि बढ्न आग्रह गरेका छन् ।