काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं र चीनको हाङझाउबीच ऐतिहासिक सिधा उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ ।
आगामी बुधबार (असोज १४ गते) देखि हिमालय एयरलाइन्सले नयाँ रुटमा उडान गर्न लागेको हो।
उक्त उडान कम्पनीका लागि कोसेढुङ्गा रहेको हिमालय एयरलाइन्सले जनाएको छ ।
हिमालय एअरलाइन्स्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाङझाउ स्थित हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थल (एचजीएच)बीच साप्ताहिक दुई सिधा उडान सेवा आरम्भ गर्न लागेको हो ।
यो नेपालको नागरिक उड्डयन इतिहास तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको दृष्टिकोणबाट एक महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि रहने कम्पनीको दावी छ ।
नेपालको पर्यटन तथा स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रिय यात्रालाई सहज तुल्याउन समर्पित हिमालय एअरलाइन्स्ले निर्बाध र सुविधाजनक यात्रा विकल्पहरू उपलब्ध गराउन आफ्नो सञ्जाल बिस्तारलाई जारी राखेको छ ।
काठमाडौं–हाङझाउ–काठमाडौं उडानले नेपाललाई विश्वसँग जोड्ने, सांस्कृतिक आदानप्रदानलाई सहज बनाउने र दुवै गन्तव्यको पर्यटन वृद्धिमा सहयोग गर्ने हाम्रो प्रतिबद्धतालाई जोड दिनेछ ।
प्रारम्भिक योजनाअनुसार ऐतिहासिक काठमाडौं–हाङझाउ उडान (एच ९ २२५) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार आगामी बुधबार साँझ सवा ५ बजे उडान गरी बिहीबार (असोज १५) को बिहान चीनको स्थानीय समयअनुसार १ बजेर ५ मिनेट जाँदा हाङझाउ स्थित हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।
त्यसैगरी, हाङझाउ–काठमाडौं उडानले हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थलबाट असोज १५ गते (अक्टोबर १) मा स्थानीय समयअनुसार ०२ः०५ मा प्रस्थान गरी सोही दिन नेपाली स्थानीय समयअनुसार ०६ः२० मा काठमाडौं अवतरण गर्नेछ ।
हिमालय एअरलाइन्स्का उपाध्यक्ष एवम् प्रवक्ता विजय श्रेष्ठले नयाँ सेवाले यात्रुहरूको पहुँचमा वृद्धि गर्दै नेपाल र चीनबीचको लामो समयदेखिको सम्बन्धलाई अझै मजबुत बनाउने विश्वास व्यक्त गरे ।
हिमालय एयरलाइन्स् नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो ।
हिमालय एयरलाइन्ससँग हाल ४ वटा विमानहरू छन्, जसमध्ये तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् ।
हिमालय एयरलाइन्सले हाल मध्यपूर्व र दक्षिण एसियाका प्रमुख राष्ट्रहरूसंयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ ।
एयरलाइन्सले साउथ एशियन ट्राभल अवार्ड्स २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एसियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एयरलाइन्सका रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो ।
सन् २०२० मा यसले आफ्ना स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलोपटक आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको थियो ।
विमान मर्मत र इन्जिनियरिङ् सेवाहरूमा पुर्याएको उच्च व्यवस्थापन र क्षमताप्रति कम्पनीले उक्त प्रमाणीकरण प्राप्त गरेको हो ।