काठमाडौं । आज विश्व मुटु दिवस नेपालसहित विश्वभर विविध सचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ ।
मुटु रोगबारे जनचेतना अभिवृद्धि गर्ने, नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहन गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।
विश्व मुटु संगठन र विश्व स्वास्थ्य संगठनको संयुक्त पहलमा सन् १९९९ देखि यो दिवस मनाउन सुरु गरिएको हो। नेपालमा भने सन् २००० देखि नियमित रूपमा विश्व मुटु दिवस मनाइँदै आइएको छ ।
यस वर्ष (२०२६) को विश्व मुटु दिवस कुनै पनि पल नछुटाउनुहोस् भन्ने मूल नाराका साथ मनाउन लागिएको हो । यस नाराले मुटु रोगका प्रारम्भिक तथा लुकेका लक्षणहरूलाई समयमै चिन्न, स्वास्थ्यसम्बन्धी कुनै पनि संकेत वा मुटुको धड्कनमा आउने परिवर्तनलाई बेवास्ता नगर्न र नियमित परीक्षणमार्फत मुटुको ख्याल राख्न विशेष सन्देश दिएको छ।
चिकित्सकहरूका अनुसार असन्तुलित खानपान, शारीरिक अभ्यासको कमी, अत्यधिक तनाव, धुम्रपान तथा मद्यपान जस्ता कारणले पछिल्लो समय मुटुसम्बन्धी समस्या तीव्र रूपमा बढिरहेको छ । समयमै रोगको पहिचान र जीवनशैलीमा सुधार गर्न सके मुटु रोगबाट हुने धेरैजसो जटिलताबाट बच्न सकिने विशेषज्ञहरूको भनाइ छ ।