काठमाडौं । नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले शैक्षिक सत्र २०८२ का प्रथम वर्षका स्नातकोत्तर (पीजी) तहका आवासीय चिकित्सक (रेजिडेन्ट) हरूको सम्पूर्ण शैक्षिक तथा क्लिनिकल गतिविधि स्थगित गरेको छ ।
कलेज प्रशासनले बिहीबार एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि उनीहरूलाई दिइँदै आएको कक्षा, वार्ड तथा इमर्जेन्सी ड्युटी र प्रशिक्षणसम्बन्धी कामहरू रोकिएको जनाएको छ । हालको संस्थागत तथा शैक्षिक परिस्थितिलाई कारण देखाउँदै कलेजले ती चिकित्सकहरूलाई फिर्ता बोलाइदिन त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) समक्ष औपचारिक अनुरोध गरिसकिएको जानकारी दिएको छ ।
यसैगरी कलेजले प्रथम वर्षका पीजी रेजिडेन्टहरूलाई सूचना जारी भएको १२ घण्टाभित्र कलेजले उपलब्ध गराएको छात्रावास, क्वाटर वा अन्य आवास खाली गर्न निर्देशन दिएको छ । आवासीय चिकित्सकहरूले तोकिएको समयभित्र कलेजको सम्पत्ति बुझाई आफ्नो व्यक्तिगत सामानसहित परिसर छाड्नुपर्ने सूचनामा उल्लेख छ ।
कलेजका प्रधानाचार्य र होस्टेल सुपरिन्टेन्डेन्टद्वारा जारी सूचनामा यो निर्णय अर्को सूचना नआएसम्म लागू रहने र सम्बन्धित सबैलाई यसको पालना गर्न भनिएको छ ।