काठमाडौं । हिमालय एअरलाइन्सले काठमाडौं–सांघाई–काठमाडौं सिधा उडान सेवा पुनः सुरु गरेको छ।
एअरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं र चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबीच सोमबारदेखि नियमित उडान सुरु गरेको हो ।
हिमालय एअरलाइन्सको काठमाडौंबाट सांघाई जाने पहिलो उडान सेप्टेम्बर २८ मा साँझ ७ः११ बजे प्रस्थान गरी सेप्टेम्बर २९ बिहान २ः३६ बजे सांघाई पुगेको थियो । त्यस्तै, सांघाईबाट काठमाडौं आउने उडान सेप्टेम्बर २९ बिहान ४ः३६ बजे प्रस्थान गरी सोही दिन बिहान ८ः१३ बजे काठमाडौं आइपुगेको थियो ।
एअरलाइन्सले प्रारम्भिक चरणमा यस रुटमा सातामा दुईवटा उडान सञ्चालन गर्ने जनाएको छ । काठमाडौं–सांघाई उडान सोमबार र शुक्रबार तथा सांघाई–काठमाडौं उडान मंगलबार र शनिबार सञ्चालन हुनेछ ।
यात्रुको माग र यात्रु चापअनुसार आगामी दिनमा उडान संख्या थप गर्ने एअरलाइन्सले जनाएको छ ।
उडान पुनः सुरु भएसँगै हिमालय एअरलाइन्स काठमाडौं–सांघाई–काठमाडौं रुटमा नियमित सिधा उडान सञ्चालन गर्ने एकमात्र वायुसेवा कम्पनी बनेको जनाएको छ ।
एअरलाइन्सका अनुसार सिधा उडानले नेपाल र चीनबीच पर्यटन, व्यापार तथा जनस्तरको सम्पर्कलाई थप सहज बनाउनेछ । मुख्य पर्यटन सिजनको सुरुवातसँगै उडान पुनः सञ्चालन हुँदा चीनबाट नेपाल आउने पर्यटकको संख्या बढ्ने र पर्यटन तथा आतिथ्य क्षेत्रमा समेत सहयोग पुग्ने अपेक्षा एअरलाइन्सले गरेको छ ।
हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौं–सांघाई उडानले नेपाल र चीनबीचको सम्बन्ध, पर्यटन तथा व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने बताए । उनले यात्रुलाई सुरक्षित र गुणस्तरीय सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौं–सांघाई–काठमाडौं उडानको टिकट एअरलाइन्सका टिकट काउन्टर, आधिकारिक ट्राभल साझेदार, आधिकारिक वेबसाइट तथा मोबाइल एपबाट बुक गर्न सकिने एअरलाइन्सले जनाएको छ ।