कैलाश हेलिकप्टरको आम्दानी साढे ३९ करोड, ५०% हिस्सा साहसिक पर्यटनको

काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडको सञ्चालन आम्दानी गत आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा २६.३५ प्रतिशतले घटेको छ । कम्पनीले उक्त अवधिमा ३९ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ५३ करोड ५० लाख रुपैयाँको तुलनामा १४ करोड १० लाख रुपैयाँ कम हो । कम्पनीका अनुसार गत भदौमा भएको जेनजी आन्दोलन तथा त्यसपछिको प्रभावले नेपालको पर्यटन क्षेत्रमा असर पर्दा लक्षित ग्राहक वर्ग प्रभावित भएको थियो । त्यसकै प्रभाव स्वरूप उडान सङ्ख्या र सञ्चालन आम्दानीमा गिरावट आएको हो । सञ्चालन नाफा मार्जिन पनि अघिल्लो वर्षको ९ महिनामा रहेको ४२ प्रतिशतबाट घटेर गत वर्षको सोही अवधिमा ३५ प्रतिशतमा सीमित भएको छ । उडान घण्टा घट्नु, प्रति उडान घण्टाबाट हुने आम्दानी कम हुनु तथा तुलनात्मक रूपमा कम प्रतिफल दिने उद्धार र मालवाहक उडानको हिस्सा बढ्नुले नाफामा दबाब परेको कम्पनीले जनाएको छ । यद्यपि दीर्घकालीन रूपमा कम्पनीको आम्दानी वृद्धिको क्रम भने सकारात्मक देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ८१ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ७९ करोड ४० लाख रुपैयाँ, आव २०७९/८० मा ७० करोड २० लाख रुपैयाँ, आव २०७८/७९ मा ४० करोड ४० लाख रुपैयाँ, आव २०७७/७८ मा ३२ करोड १० लाख रुपैयाँ र आव २०७६/७७ मा ३० करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०१७ मा स्थापना भएको कैलाश हेलिकप्टर सर्भिसेज नेपालका अग्रणी हेलिकप्टर सेवा प्रदायक कम्पनीमध्ये एक हो । कम्पनीले चार्टर उडान, उद्धार सेवा, स्लिङ सञ्चालन तथा एभरेस्ट आधार शिविर र अन्नपूर्ण आधार शिविर लक्षित साहसिक हवाई भ्रमण सेवा सञ्चालन गर्दै आएको छ। हाल कम्पनीसँग एयरबसका तीन वटा हेलिकप्टर रहेका छन् । कम्पनी ७ जना व्यक्तिगत प्रवर्द्धकद्वारा स्थापित भएको हो । सन् २०२६ अप्रिलसम्म कम्पनीको चुक्ता पुँजी ३४ करोड ७० लाख रुपैयाँ पुगेको छ । अध्यक्ष क्याप्टेन आशिष शेरचन र प्रबन्ध निर्देशक प्रतापजङ्ग पाण्डेयको संयुक्त सेयर स्वामित्व करिब ४० प्रतिशत रहेको छ । सञ्चालकहरूमा सुनिल श्रेष्ठ, रमेश पण्डित, श्रीराम केसी र ईश्वरी पौडेल रहेका छन् । कम्पनीका अनुसार हेलिकप्टर सेवा क्षेत्रमा नयाँ कम्पनी प्रवेश गर्न अझै पनि उच्च अवरोध रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी, दक्ष प्राविधिक जनशक्तिको अनिवार्यता तथा आर्थिक वर्ष २०२७/२८ भित्र कम्तीमा ५ वटा हेलिकप्टर सञ्चालनमा ल्याउनुपर्ने व्यवस्थाजस्ता प्रावधानले नयाँ कम्पनीको प्रवेश कठिन बनाएका छन् । यसले बजारमा स्थापित कम्पनीहरूको प्रतिस्पर्धात्मक अवस्था बलियो रहने कम्पनीको विश्वास छ । कम्पनीको करिब ५० प्रतिशत आम्दानी साहसिक पर्यटनबाट प्राप्त हुन्छ । यसमध्ये एभरेस्ट आधार शिविरबाट करिब ४८ प्रतिशत र अन्नपूर्ण आधार शिविरबाट करिब २ प्रतिशत आम्दानी हुने गरेको छ । उद्धार सेवाबाट करिब ३० प्रतिशत तथा मालवाहक उडानबाट करिब २० प्रतिशत आम्दानी हुने गरेको कम्पनीले जनाएको छ । मुख्य पर्यटकीय गन्तव्यमा सामाजिक वा वातावरणीय कारणले अवरोध सिर्जना भए कम्पनीको आम्दानी र नाफामा प्रत्यक्ष असर पर्न सक्ने जोखिम रहेको कम्पनीको भनाइ छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कुल आम्दानीमध्ये करिब ५८ प्रतिशत शीर्ष १० ग्राहकबाट प्राप्त भएकाले प्रमुख ग्राहक वा व्यावसायिक साझेदारमा हुने परिवर्तनले पनि आम्दानीमा प्रभाव पार्न सक्ने देखिएको छ । हवाई इन्धन कम्पनीको प्रमुख सञ्चालन खर्च भएकाले यसको मूल्यमा हुने उतारचढावले नाफामा प्रत्यक्ष असर पार्ने कम्पनीले जनाएको छ । साथै, हेलिकप्टर, इन्जिन तथा जगेडा पुर्जाको खरिद र मर्मतसम्भारका लागि विदेशी मुद्रामा भुक्तानी गर्नुपर्ने भएकाले विनिमय दरको उतारचढाव पनि अर्को प्रमुख जोखिमका रूपमा रहेको छ । दुर्गम भौगोलिक अवस्था, अनिश्चित मौसम, दक्ष जनशक्तिको सीमित उपलब्धता तथा पर्यटन उद्योगको मौसमी प्रकृतिका कारण कम्पनीको व्यवसायमा समय–समयमा चुनौती आउन सक्ने देखिन्छ । आर्थिक मन्दी, यात्रा प्रतिबन्ध वा पर्यटकीय मुख्य मौसममा सेवा अवरुद्ध भए कम्पनीको वित्तीय कार्यसम्पादनमा उल्लेख्य असर पर्न सक्ने कम्पनीले जनाएको छ ।

एआईसँग नडराउन र प्रविधिमैत्री बन्न लेखापरीक्षकलाई एक्यान अध्यक्ष नेपालको आग्रह

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) का अध्यक्ष अनुप नेपालले मुलुकको अर्थतन्त्रमा पारदर्शिता र वित्तीय सुशासन कायम गर्न लेखापरीक्षण क्षेत्रको भूमिका मेरुदण्डसरह रहेको बताएका छन् । नेपाल अडिटर्स एसोसिएसन (अडान) को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राज्यको राजस्व सङ्कलनलाई पारदर्शी बनाउन र व्यावसायिक क्षेत्रमा विश्वास अभिवृद्धि गर्न अडानमा आबद्ध लेखापरीक्षकहरूको योगदान उच्च प्रशंसनीय रहेको उल्लेख गरे । उनले एक्यान र अडान दुवै संस्थाको साझा लक्ष्य नेपाली लेखा व्यवसायलाई थप मर्यादित, पारदर्शी र उत्तरदायी बनाउनु रहेको बताउँदै आगामी दिनमा पेसागत हकहित र नीतिगत सुधारका लागि सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गरे । आजको प्रविधिमैत्री युगमा अन्तर्राष्ट्रिय लेखापरीक्षण मापदण्ड र कर प्रणालीका नयाँ चुनौतीको सामना गर्न दक्षता अभिवृद्धि अपरिहार्य रहेको उनको भनाइ छ । पछिल्लो समय लेखापरीक्षकहरूमा देखिएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी संशय वा त्रासबारे धारणा राख्दै उनले प्रविधिलाई केवल एउटा साधनका रूपमा लिन आग्रह गरे । उनले भने, ‘सन् ८० वा ९० को दशकमा जब क्याल्कुलेटरको आविष्कार भयो, त्यसको प्रयोग गर्नु हुँदैन भनेर आन्दोलन नै चलेको थियो । तर आज क्याल्कुलेटर एउटा सामान्य र अनिवार्य साधन बनिसकेको छ । आगामी १० वर्षभित्र एआईको अवस्था पनि त्यस्तै हुनेछ ।’ प्रविधिलाई सहज रूपमा ग्रहण गर्न सके यसले कार्यसम्पादनमा प्रभावकारिता र सहजता ल्याउने उनले बताए । पेसागत मर्यादाको रक्षाका लागि उच्च व्यावसायिक नैतिकता, निष्पक्षता र इमानदारिता नै मूल आधार हुनुपर्नेमा उनले जोड दिए । यस्ता गुणले नै समाज र राज्यको लेखापरीक्षण पेसाप्रतिको विश्वासलाई थप मजबुत बनाउने उनको तर्क छ ।

नर्भिक हस्पिटलको ४२.१०५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकट कलेजले लाभांश घोषणा गरेको छ । नर्भिक हस्पिटलको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले ४२.१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  नर्भिकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि २२.१०५ प्रतिशत नगद गरी कुल ४२.१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  नर्भिकले यसअघि पनि आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ४२.१०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।  प्रस्तावित लाभांश पारित गर्न हस्पिटलले भदौ १५ गते काठमाडौं म्यारियट होटलमा साढे १२ बजे वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आव २०८३/८४ को लागि लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्नेछ ।  साथै बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको सेयर बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारण (कर्मचारीसहित) का लागि निष्कासन गर्ने प्रस्ताव पनि सभाबाट पारित गर्नेछ । यस प्रक्रियाका लागि संस्थागत लगानीकर्तालाई वितरण गरिने विवरणपत्र स्वीकृतिलगायत आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्तावसमेत रहेको छ । यस्तै, बोनस सेयर जारी भएपछि आवश्यकताअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अधिकार पनि सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव सभामा पेश गरिनेछ ।