चिकित्सकमाथि ‘मानसिक दबाब’ दिएको भन्दै प्रधानमन्त्रीसँग गुहार

काठमाडौं । नेशनल मेडिकल कलेज शिक्षण अस्पताल (एनएमसीटीएच) मा आन्दोलनरत आवासीय चिकित्सकहरूको माग सम्बोधन गर्न नेपाल चिकित्सक संघले प्रधानमन्त्रीसमक्ष आग्रह गरेको छ । 

संघले कलेज प्रशासनले चिकित्सकहरूमाथि अनावश्यक मुद्दा लगाउने, मानसिक दबाब दिने र माग सम्बोधनमा बेवास्ता गर्ने गरेको भन्दै तत्काल समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको हो ।

नेपाल चिकित्सक संघले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाउँदै गत भदौ ३१ गतेदेखि एनएमसीटीएचमा कलेज प्रशासनले एमडीरएमएस प्रथम वर्षका विरुद्ध अनावश्यक मुद्दा लगाएको जनाएको छ । 

सार्वजनिक बिदाका दिनमा समेत बिदा नदिएको, सरकारी आठौं तहसरह पाउनुपर्ने निर्वाह भत्ता नदिएको तथा मानसिक दबाब दिँदै चिकित्सकहरूलाई कारबाही गरेको संघको भनाइ छ ।

संघका अनुसार आफ्ना समस्या समाधानको माग राख्दै एनएमसीटीएचमा कार्यरत आवासीय चिकित्सकहरू आन्दोलनमा छन् । 

चिकित्सा शिक्षा अध्ययनरत आवासीय चिकित्सकहरू अध्ययनसँगै सेवामा खटिएको अवस्थामा कलेज प्रशासनबाट अनावश्यक मुद्दा लगाएर मानसिक तनाव दिने र विनाकारण कारबाही गरिएको भन्दै संघले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका महासचिव डा. विश्वराज दवाडी र अध्यक्ष डा. बद्री रिजालले संयुक्त रूपमा जारी गरिएको पत्रमा आवासीय चिकित्सकहरूले उठाएका मागका विषयमा कलेज व्यवस्थापन पक्षसँग छलफल गर्दा समेत कुनै सम्बोधन नगरिएको दाबी गरिएको छ । 

संघले प्रचलित कानुन तथा श्रम ऐनविपरीत चिकित्सकमाथि अनावश्यक दबाब सिर्जना गरिएको जानकारी प्रधानमन्त्रीलाई गराएको छ ।

संघले आन्दोलनरत चिकित्सकहरूको जायज माग तत्काल सम्बोधन गरी उनीहरूलाई निर्भय वातावरणमा अध्ययन तथा काम गर्ने वातावरण मिलाइदिन आग्रह गरेको छ । 

साथै कलेजले चिकित्सकका जायज माग सम्बोधन नगरेमा चिकित्सा शिक्षा आयोगमार्फत आवश्यक कारबाही गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरिएको हो ।

Share News