असाेज १५ गतेपछि दशैंको अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं । दशैं-तिहारलाई लक्षित गरी सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आगामी असोज १५/१६ गतेपछि खुलाउने तयारी गरिएको छ । तर, देशभरको सडकको अवस्था अझै अनिश्चित रहेकाले सडकको अवस्थाको अध्ययनपछि मात्रै टिकट बुकिङ खोल्ने निर्णय हुने भएको छ । यातायात व्यवस्था विभागका अनुसार केही दिनयता भइरहेको अविरल वर्षाका कारण विभिन्न सडकको अवस्था बिग्रिएको र कतिपय स्थानमा यातायात सञ्चालनमै समस्या रहेकाले अग्रिम टिकट बुकिङको मिति टुंगो लाग्न सकेको छैन । यसअघि असोज ५ गते बसेको बैठकमा मौसम खुलेपछि सडकको अवस्था अध्ययन गरेर असोज १५/१६ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल भएको थियो ।  यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालले आगामी दिनमा सडकको अवस्था हेरेर बुकिङ खोल्ने  निर्णय गरिने बताए । उनका अनुसार यसका लागि केही दिनभित्रै सम्बन्धित निकायसँग बैठक बस्ने तयारी छ । ‘पहिला बाटोको अवस्था हेरिन्छ । कहाँ कस्तो बाटो छ, त्यसको अवस्था कस्तो छ भन्ने हेरेपछि मात्रै बुकिङ खोल्ने निर्णय हुन्छ,’ उनले विकासन्युजसँग भने ।  विभागले यसपटक अग्रिम टिकट बुकिङमा अनलाइन प्रणालीलाई प्राथमिकता दिने तयारी गरेको छ । अनलाइनबाट टिकट लिन नसक्ने यात्रुले भने सम्बन्धित यातायात कम्पनीको आधिकारिक काउन्टर तथा आधिकारिक परिचयपत्र बोकेका कर्मचारीमार्फत मात्रै टिकट लिन विभागले आग्रह गरेको छ । अनधिकृत व्यक्ति तथा बिचौलियाबाट टिकट लिँदा यात्रु ठगिन सक्ने भएकाले यात्रुलाई पनि सचेत रहन विभागले आग्रह गरेको छ । दशैं-तिहारमा गत वर्षकै हाराहारीमा यात्रुको चाप हुने अनुमानसहित व्यवस्थापनको तयारी भइरहेको विभागले जनाएको छ । त्यसका लागि यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायत सम्बन्धित निकायको सहभागितामा विभिन्न जिल्लामा समिति गठन गर्ने, नागरिक सहायता कक्ष तथा हेल्थ डेस्क सञ्चालन गर्ने तयारी छ । उपत्यकाबाट बाहिरिने मुख्य नाकामा पनि यात्रुको चाप व्यवस्थापनका लागि विशेष योजना बनाइएको छ । थानकोट-नागढुंगा, कोटेश्वर, फर्पिङ, कलंकी, बालाजु, जगाती तथा साँगा भञ्ज्याङलगायत क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना गर्ने तयारी गरिएको छ । भाडा नबढ्ने, बढी लिए कारबाही यातायात व्यवस्था विभागले यसपटक सार्वजनिक सवारीको भाडा नबढ्ने जनाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा परिवर्तन नगरेसम्म हाल कायम भाडादर नै लागू हुने विभागको भनाइ छ । निर्देशक भुसालका अनुसार सरकारले तोकेको अधिकतम भाडाभन्दा बढी रकम असुल्ने व्यवसायी तथा सवारी सञ्चालकमाथि कडा कारबाही गरिनेछ । यात्रुले सम्बन्धित रुटको अधिकतम भाडादर यातायात व्यवस्था विभागको वेबसाइट तथा यात्रु सहायता कक्षबाट जानकारी लिन सक्नेछन् । तोकिएको भन्दा बढी भाडा असुलेमा नजिकको ट्राफिक प्रहरी वा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन विभागले आग्रह गरेको छ ।  ‘तोकिएको अधिकतम भाडाभन्दा बढी कसैले लिएको पाइएमा कडा कारबाही हुन्छ,’ भुसालले विकासन्युजसँगको कुराकानीमा भने, ‘बढी भाडा लिएको जानकारी यात्रुले गराए तत्काल कारबाही हुन्छ ।’ २५० किलोमिटरभन्दा लामो रुटमा दुई चालक चाडपर्वका बेला लामो दूरीका सवारीसाधनमा चालकको थकानका कारण दुर्घटना हुन नदिन २५० किलोमिटरभन्दा लामो दूरीमा दुई जना चालक अनिवार्य राख्ने व्यवस्था कार्यान्वयन गरिने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा एसपी नरेश सुवेदीले लामो दूरीका सवारीमा दुई चालक राख्ने कानुनी व्यवस्था कार्यान्वयनका लागि यातायात व्यवसायी तथा समितिहरूलाई आग्रह गरिसकिएको बताए । उनका अनुसार चालकले लामो समय निरन्तर सवारी चलाउँदा थकानका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले दुई चालकको व्यवस्था प्रभावकारी रूपमा लागू गरिनेछ । त्यस्तै, चाडपर्वका बेला लागूऔषध सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न ट्राफिक प्रहरीले ब्रेथलाइजरलगायतका माध्यमबाट चेकजाँच बढाउने तयारी गरेको छ । चाडपर्वको समयमा अनधिकृत टिकट काउन्टर तथा बिचौलियाबाट यात्रु ठगिने समस्या नियन्त्रण गर्न यात्रुलाई आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन आग्रह गरिएको छ । ट्राफिक प्रहरीले विगतका चाडपर्वमा देखिएका बढी भाडा असुल्ने, क्षमताभन्दा बढी टिकट काट्ने, एउटै सिटमा धेरै टिकट जारी गर्ने तथा यात्रुलाई ठगी गर्ने गतिविधिलाई नियन्त्रण गर्न विशेष निगरानी गर्ने जनाएको छ । नागरिक सहायता कक्षमार्फत यात्रुले टिकट, भाडा, सवारीको अवस्था तथा सडकको अवस्थाबारे जानकारी लिन सक्ने व्यवस्था गरिनेछ । सवारीको क्षमताभन्दा बढी यात्रु बोक्ने तथा टिकटभन्दा बढी यात्रु चढाउने सवारीमाथि पनि निगरानी गरिने ट्राफिक प्रहरीले जनाएको छ । सहायता कक्षबाट ओभरलोडिङ, एउटै टिकटमा धेरै यात्रु, सिट नपाएर उभिएर यात्रा गर्नुपर्ने अवस्थालगायतका विषयमा अनुगमन गरिनेछ । ट्राफिक प्रहरीले यातायात व्यवसायी तथा यातायात क्षेत्रका मजदुरसँग अन्तक्र्रिया गरी यात्रुको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न सचेतना तथा जिम्मेवारीबोधका कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ । सडकको अवस्था हेरेर मात्रै बुकिङ अग्रिम टिकट बुकिङमा ढिलाइ हुनुको मुख्य कारण देशभरको सडकको अनिश्चित अवस्था रहेको यातायात व्यवसायीहरूले बताएका छन् । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले अहिलेको प्राथमिकता अग्रिम टिकट खोल्नुभन्दा यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउनु भएको बताए । उनका अनुसार धादिङलगायतका विभिन्न स्थानमा सवारीसाधन लामो समयदेखि बाटोमै रोकिएका छन् । कतिपय गाडी दुई दिनदेखि आठ दिनसम्म विभिन्न स्थानमा रोकिएर बसेको उनले बताए । ‘सडकको अवस्था देशभर अन्योल छ । खोल्दैमा फेरि भोलिपर्सि अर्को समस्या आउँछ कि भन्ने अवस्था छ,’ सिटौलाले विकासन्युसँग भने, ‘अहिले केही समय हेर्छौं । यात्रुलाई सुरक्षित ढंगले यात्रा गराउनु ठूलो कुरा हो । ’ सिटौलाका अनुसार यातायात व्यवसायीले चाडपर्वको समयमा भाडा बढाउने माग गरेका छैनन् । तर, भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि सरकारले यथावत राख्नुपर्नेमा उनको जोड छ ।  उनले भने,‘भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि सरकारले बढाउनु हुँदैन् । ‘अहिले जे भाडा छ, त्यही भाडामा यात्रुलाई लैजान्छौं,’ उनले भने ।  सरकारले अनलाइन टिकटिङलाई प्राथमिकता दिने तयारी गरे पनि यसको कार्यान्वयन अझै प्रभावकारी हुन नसकेको यातायात व्यवसायीहरूको भनाइ छ । महासंघ अध्यक्ष सिटौलाले अनलाइन टिकटिङसम्बन्धी सरकारी कार्यविधि अझै स्पष्ट रूपमा कार्यान्वयनमा आउन नसकेको बताए । उनका अनुसार विभागमार्फत अघि बढाइएको विषयसमेत अझै टुंगिन बाँकी रहेकाले चाडपर्वमा उपलब्ध प्रविधिको अधिकतम प्रयोग गरेर टिकट व्यवस्थापन गर्नुपर्ने अवस्था छ । सडक, सवारी र प्रदूषणको एकीकृत जाँच चाडपर्वमा यात्रुको सुरक्षित आवागमनका लागि यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सडक विभाग, वातावरण विभागलगायतका निकायबीच समन्वय गरेर काम गर्ने तयारी गरिएको छ । सडक विभागसँग सडक मर्मत तथा सडकको अवस्थाबारे समन्वय गरिनेछ भने सवारीसाधनको यान्त्रिक अवस्था र प्रदूषण परीक्षणमा पनि ध्यान दिइनेछ । उपत्यका ट्राफिक प्रहरीका अनुसार चाडपर्वमा मुख्य सडक तथा नाकामा मात्रै नभई मठ-मन्दिर, व्यापारिक केन्द्र तथा बढी भीडभाड हुने स्थानमा पार्किङ व्यवस्थापनमा समेत ध्यान दिइनेछ । यसका लागि सम्बन्धित निकायबीच समन्वय गरेर एकीकृत संयन्त्रमार्फत काम गर्ने तयारी गरिएको छ ।  यातायात व्यवस्था विभागले भने चाडपर्वका समयमा यात्रुको सहज र सुरक्षित आवागमनलाई प्राथमिकतामा राखेर सडकको अवस्था, सवारीसाधनको अवस्था, टिकट व्यवस्थापन, भाडा अनुगमन तथा यात्रु सहायता कक्ष सञ्चालनलाई एकसाथ अघि बढाउने जनाएको छ ।

पुरुषको शरीरमा गर्भाशय भेटिएपछि चिकित्सक नै चकित

काठमाडौं । भारतको राजधानी दिल्लीका २६ वर्षीय एक पुरुषले विवाह भएको दुई वर्षसम्म पनि सन्तान नभएपछि चिकित्सकसँग परामर्श लिए । परीक्षणका क्रममा चिकित्सकहरूले उनको शरीरभित्र गर्भाशय र फलोपियन ट्युब रहेको पत्ता लगाए । यद्यपि उपचारमा संलग्न चिकित्सकका अनुसार बाहिरबाट हेर्दा उनको शरीर सामान्य पुरुषको जस्तै थियो र पुरुषमा देखिने सबै शारीरिक विशेषता विकसित भएका थिए । यसबाहेक यस्तो अवस्थाको संकेत गर्ने कुनै स्पष्ट लक्षण पनि थिएन । दिल्लीको एक निजी अस्पतालमा ती पुरुषको उपचार गरेका प्रमुख युरोलोजिस्ट डा. सुशील खरबन्दाका अनुसार बाँझोपनको परीक्षणका क्रममा गरिएको जाँचमा उनको शरीरभित्र गर्भाशय र फलोपियन ट्युब रहेको पत्ता लागेको हो । चिकित्सकहरूका अनुसार यो ‘पर्सिस्टेन्ट म्युलरियन डक्ट सिन्ड्रोम’ (पीएमडीएस) नामक अत्यन्त दुर्लभ जन्मजात अवस्था हो । अहिलेसम्म विश्वभर यसका ३०० भन्दा कम घटना अभिलेख गरिएको बताइन्छ । ‘नेचर रिभ्यु युरोलोजी’मा प्रकाशित एक रिपोर्टअनुसार पीएमडीएस भएका व्यक्तिमा ४६ एक्सवाई क्रोमोजोम हुन्छन् र शरीर सामान्य रूपमा पुरुषकै रूपमा विकसित हुन्छ। तर म्युलरियन डक्टबाट बन्ने गर्भाशय र फलोपियन ट्युबजस्ता अंग भने शरीरभित्र रहन्छन् । जनवरी २०२६ मा ‘ग्लोबल जर्नल अफ सर्जरी एन्ड केस रिपोट्र्स’मा प्रकाशित एक रिपोर्टमा ४८ वर्षीय पुरुषमा बारम्बार पिसाब लाग्ने र वीर्यमा रगत देखिने समस्याको जाँच गर्दा सीटी स्क्यानमा गर्भाशयजस्तो संरचना भेटिएको उल्लेख छ । शल्यक्रियाका क्रममा प्रोस्टेटसँग जोडिएको उक्त दुई भाग भएको संरचना हटाइएको थियो । हिस्टोप्याथोलोजिकल परीक्षणमा उक्त संरचना गर्भाशयको तन्तु भएको पुष्टि भएको थियो । ती पुरुषको शारीरिक विकास भने सामान्य पुरुषकै जस्तो थियो । त्यस्तै, सन् २०१९ को एक रिपोर्टमा डेढ वर्षका एक बालकको शरीरमा गर्भाशय, फलोपियन ट्युब र अण्डाशयजस्ता संरचना भेटिएको उल्लेख छ ।आखिर पुरुषजस्तो शारीरिक विशेषता भएको व्यक्तिको शरीरभित्र गर्भाशय र फलोपियन ट्युब कसरी रहन सक्छ ? यो अवस्था किन हुन्छ र यसको पहिचान कसरी गरिन्छ ? यी प्रश्नको जवाफ जान्न उक्त बिरामीको उपचार गरेका डा. सुशील खरबन्दासँग गरिएको कुराकानीको सम्पादित अंश : यस घटनामा के पाइएको थियो र चिकित्सकीय भाषामा यसलाई हामीले कसरी बुझ्ने ? २६ वर्षीय ती पुरुषको दुई वर्षअघि विवाह भएको थियो । उनी पूर्ण रूपमा सक्रिय थिए र पुरुषमा विकसित हुने सबै दोस्रो चरणका यौन विशेषता उनीमा थिए । बाँझोपनको समस्या जाँच गर्ने क्रममा उनका दुवै अण्डकोष आफ्नो सामान्य स्थानमा नरहेको पाइयो । हर्मोन परीक्षणमा टेस्टोस्टेरोन, एफएसएच (फोलिकल स्टिमुलेटिङ हर्मोन) र एलएच (लुटिनाइजिङ हर्मोन) पनि सामान्य पाइएको थियो । यस्ता नतिजा क्रिप्टोर्किडिज्म अर्थात् अण्डकोष आफ्नो स्थानमा नझरेको अवस्था भएका बिरामीमा देखिन सक्छ । तर एमआरआई गर्दा निकै असामान्य अवस्था देखियो । परीक्षणमा गर्भाशय र फलोपियन ट्युब देखिए, जुन अण्डकोषसँग जोडिएका थिए । यी अंगहरू भित्रबाट पूर्ण रूपमा विकसित थिए र सामान्यतया महिलाको शरीरमा हुने अंगजस्तै देखिन्थे । पुरुषको शरीरमा गर्भाशय र फलोपियन ट्युब कसरी रहन सक्छन् ? के यो जन्मजात अवस्था हो ? बच्चा आमाको गर्भमा हुँदा उसको लिङ्गको विकास क्रोमोजोम र हर्मोनको प्रभावबाट हुन्छ । सामान्यतया पुरुषमा ४६ एक्सवाई र महिलामा ४६ एक्सएक्स क्रोमोजोम हुन्छन् । यस क्रममा शरीरले एन्टिम्युलरियन हर्मोन (एएमएच) उत्पादन गर्छ । यो हर्मोनले सामान्यतया पुरुष शरीरमा विकास नहुने आन्तरिक प्रजनन अंगको विकास रोक्छ । ४६ एक्सवाई क्रोमोजोम भएका व्यक्तिको विकास पुरुषका रूपमा हुन्छ र उनको शरीरमा एएमएच उत्पादन हुन्छ । एएमएचले गर्भाशय र फलोपियन ट्युबजस्ता अंगको विकास रोक्छ । तर पीएमडीएसमा या त यो हर्मोन हुँदैन वा यसको रिसेप्टरमा समस्या हुन्छ । त्यसैले गर्भाशय र फलोपियन ट्युबजस्ता संरचना शरीरभित्र रहिरहन्छन् । यसका कारण आन्तरिक अंगको संरचना फरक हुन्छ । यद्यपि बाहिरी शारीरिक संरचना भने पुरुषकै जस्तो हुन्छ । लिङ्ग र पुरुषका अन्य शारीरिक विशेषता सामान्य रूपमा विकसित हुन्छन् । के ती पुरुषमा अण्डकोषसँगै अण्डाशय पनि थिए ? ती पुरुषको शरीरमा दुवैतर्फ गर्भाशय र फलोपियन ट्युब थिए, तर अण्डाशय थिएनन् । अण्डाशय हुने स्थानमा उनका अण्डकोष थिए । गोनाड्स भनिने यी अंग पुरुष र महिलामा फरक हुन्छन् । ती बिरामीका दुवै गोनाड्स अण्डकोष नै थिए, अण्डाशय थिएनन् । यसअघि गरिएको स्क्यान वा मेडिकल परीक्षणबाट यो अवस्था पत्ता लाग्न सक्दैनथ्यो ? बिरामी हामीकहाँ आउँदा उनका दुवै अण्डकोष आफ्नो सामान्य स्थानमा थिएनन् । त्यसैले हर्मोन परीक्षणसँगै वीर्यको पनि परीक्षण गरियो । वीर्यमा एजुस्पर्मिया अर्थात् शुक्रकीटको संख्या शून्य पाइएको थियो । त्यसपछि एमआरआई गरियो । त्यसमा गर्भाशय, फलोपियन ट्युब र ती अंगसँग जोडिएका अण्डकोष देखिए । त्यसपछि क्रोमोजोम परीक्षण गरियो, जसमा ४६ एक्सवाई क्रोमोजोम पाइएको थियो । एमआरआई र क्रोमोजोम परीक्षण नै यो अवस्थाको पुष्टि गर्ने मुख्य परीक्षण थिए । यस्तो अवस्था सामान्यतया २६ वर्षको उमेरसम्म पनि थाहा नहुने होइन । समयमै स्क्यान गरिएको भए यसबारे पहिले नै थाहा पाउन सकिन्थ्यो । ती बिरामीले सुरुमा आफ्ना दुवै अण्डकोष सामान्य स्थानमा नरहेको कुरालाई ध्यान दिएका थिएनन् । यो अवस्थाका कुनै विशेष लक्षण हुन्छन् ? सामान्यतया यस अवस्थामा दुखाइ, बान्ता वा ज्वरोजस्ता विशेष लक्षण हुँदैनन् । अण्डकोष आफ्नो सामान्य स्थानमा नरहनु भने यसको एउटा संकेत हुन सक्छ । बिरामीले कस्ता मनोवैज्ञानिक चुनौती वा जीवनमा कस्ता परिवर्तन सामना गर्नुपर्‍यो ? २६ वर्षीय ती पुरुषले आफ्नो शरीरभित्र महिला प्रजनन अंगसँग सम्बन्धित संरचना रहेको थाहा पाएपछि स्वाभाविक रूपमा चिन्ता र तनाव महसुस गरेका थिए । उनी आफ्नो भविष्यलाई लिएर पनि चिन्तित थिए । हामीले लामो समयसम्म उनको परामर्श गर्‍यौं र यो दुर्लभ चिकित्सकीय अवस्था भएको बुझायौं । यो दुर्लभ अवस्था भए पनि यसकै कारण उनको जीवनमा ठूलो परिवर्तन आउनुपर्छ भन्ने होइन । यी अंग हटाउनु आवश्यक थियो, किनकि यसमा क्यान्सरको जोखिम हुन सक्छ । अहिले ती अंग हटाइसकेपछि उनी सामान्य रूपमा जीवन बिताउन सक्छन् । यस्ता अवस्थामा शल्यक्रिया वा उपचार सधैँ आवश्यक हुन्छ ? यस बिरामीको हकमा शल्यक्रिया आवश्यक थियो । गर्भाशय र फलोपियन ट्युब अविकसित थिए र शरीरमा तिनको कुनै उपयोग थिएन ।  शल्यक्रियापछि गरिएको बायोप्सीमा एउटा अण्डकोषमा क्यान्सर हुनुअघिको अवस्था पनि देखियो । त्यसैले ती अंग हटाउनु आवश्यक थियो र शल्यक्रिया उपचारकै एउटा हिस्सा बन्यो । शल्यक्रियापछि बिरामीको स्वास्थ्यमा कस्तो असर परेको छ र आगामी दिनमा के असर पर्छ ? बिरामी शल्यक्रिया गरेको सात दिनपछि नै काममा फर्किए । अण्डकोषले टेस्टोस्टेरोन उत्पादन गर्ने भएकाले ती हटाएपछि उनको शरीरमा टेस्टोस्टेरोन उत्पादन हुँदैन । त्यसैले अब उनले प्रत्येक तीन महिनामा टेस्टोस्टेरोनको इन्जेक्सन लगाउनुपर्नेछ । यसका अतिरिक्त उनको यौन वा सामाजिक जीवनमा ठूलो परिवर्तन आवश्यक पर्दैन । हामीले शल्यक्रिया ल्याप्रोस्कोपिक प्रविधिबाट गरेका थियौं । अर्थात् टेलिस्कोपको सहयोगमा शल्यक्रिया गरिएको थियो । यसबाट ठूलो चिरा लगाउनुपरेन र उनी छिट्टै काममा फर्कन सके । यस्ता अवस्थाबारे मानिसमा कस्ता गलत धारणा छन् ? यो घटना सार्वजनिक भएपछि बिरामी गर्भवती हुन सक्थे कि सक्दैनथे, उनलाई महिनावारी हुन्थ्यो कि हुँदैनथ्यो वा बाहिरबाट महिला जस्तो देखिन्थे कि भन्ने प्रश्न पनि उठेका छन् । यीमध्ये कुनै पनि कुरा सही होइनन् । उनको शरीरमा गर्भाशय र फलोपियन ट्युब थिए, तर ती अविकसित थिए र गर्भधारण सम्भव थिएन । उनको शरीरमा महिलामा हुनेजस्तो हर्मोनल अवस्था पनि थिएन । यस घटनाबाट चिकित्सकीय क्षेत्रले सिक्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ? शरीरमा देखिने कुनै पनि असामान्य अवस्थालाई बेवास्ता गर्नु हुँदैन र त्यसलाई लिएर लज्जित पनि हुनु हुँदैन । यस्तो अवस्था देखिएमा समयमै योग्य चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । नवजात शिशुमा कुनै असामान्य संरचना वा कुनै अंगको कमी देखिएमा तत्काल चिकित्सकीय परामर्श लिनुपर्छ । समयमै पहिचान गर्न सकेमा यस्तो अवस्थालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न मद्दत पुग्छ ।  (बीबीसीबाट अनुदित तथा सम्पादित)

सशस्त्र प्रहरीले गर्यो नुवाकोटका ४५ सयभन्दा बढी बाढीपीडितको उपचार

काठमाडौं । सशस्त्र प्रहरी बलले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका ४५ सयभन्दा बढीको स्वास्थ्य उपचार गरेको छ ।  भदौ १० गतेदेखि नेपाल एपीएफ अस्पताल बलम्बुबाट खटिएको चिकित्सकसहितको टोलीले नुवाकोटका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको सशस्त्र प्रहरीले जनाएको छ । टोलीले नुवाकोट आयुर्वेद चिकित्सालय, क्रियापुत्री भवन, केन्द्रीय कारागार, सेतीदेवी आधारभूत विद्यालय, क्षेत्रपाल आधारभूत विद्यालय, रणभुवनेश्वरी माध्यमिक विद्यालय र नुवाकोट स्वास्थ्य चौकीलगायत स्थानमा स्वास्थ्य सेवा प्रदान गरेको हो । त्यस्तै, विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाका २५ वटा होल्डिङ सेन्टरमा रहेका बाढी प्रभावितको समेत स्वास्थ्य परीक्षण गरिएको सशस्त्र प्रहरीले जनाएको छ । केन्द्रीय कारागार नुवाकोटमा फैलन सक्ने सम्भावित सरुवा रोग तथा अन्य स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै चिकित्सकसहितको टोलीले विशेष स्वास्थ्य परीक्षण गर्नुका साथै ४०२ जना कैदीबन्दीलाई स्वास्थ्यसम्बन्धी परामर्श दिएको छ । स्वास्थ्य उपचारसँगै विपद्पछि फैलन सक्ने महामारी नियन्त्रण र वातावरणीय स्वच्छता कायम गर्न देवीघाट बजार, देवीघाट माध्यमिक विद्यालय परिसर र केन्द्रीय कारागार क्षेत्रमा कीटनाशक औषधिसमेत छर्किएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बाढी प्रभावित क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली अझै परिचालन भइरहेको छ ।