कामना सेवा विकास बैंकले १५० विद्यार्थीलाई दियो वित्तीय साक्षरता

काठमाडौं । कामना सेवा विकास बैंकले विद्यार्थीलाई वित्तीय साक्षरता तथा भविष्य निर्माणसम्बन्धी जानकारी दिएको छ । बैंकले दमकस्थित सर्वोदय इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलमा कक्षा ९ र १० का करिब १५० विद्यार्थीका लागि अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको हो । विद्यालयको सर्वोदय बाल क्लबले आयोजना गरेको ‘सर्वोदय चौतारी’ कार्यक्रमअन्तर्गत ‘प्रेरक व्यक्तित्वसँग बालबालिका’ शीर्षकमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले विद्यार्थीलाई जीवनमा आवश्यक सीप, आत्मअनुशासन, निर्णय क्षमता, समय व्यवस्थापन र चुनौतीको सामना गर्ने तरिकाबारे जानकारी दिए । उनले शैक्षिक ज्ञानसँगै व्यवहारिक जीवनमा आवश्यक सीप विकास गर्नुपर्ने बताए । त्यस्तै, बैंकका ब्रान्डिङ, संस्थागत सामाजिक उत्तरदायित्व तथा बजार व्यवस्थापन प्रमुख सुशील पौडेलले लक्ष्य निर्धारण, भविष्यको योजना र सही मार्गदर्शनका विषयमा जानकारी दिए । उनले विद्यार्थीलाई आफ्नो रुचि र क्षमता पहिचान गरी स्पष्ट लक्ष्य बनाउन र त्यसलाई योजनाबद्ध रूपमा अघि बढ्न सुझाव दि ए। कार्यक्रममा बचत तथा लगानी, आवश्यकता र चाहनाबीचको फरक, पैसाको योजनाबद्ध प्रयोग तथा जिम्मेवार आर्थिक व्यवहारबारे पनि छलफल गरिएको थियो । विद्यार्थी अवस्थादेखि नै आर्थिक निर्णयप्रति सचेत बन्ने बानीले भविष्यमा जिम्मेवार आर्थिक व्यवहार विकास गर्न सहयोग पुग्ने विषयमा जोड दिइएको थियो । कार्यक्रममा विद्यार्थीहरूले आफ्ना जिज्ञासा, भविष्यका योजना तथा करिअरसम्बन्धी सोच वक्ताहरूसँग राखेका थिए । बैंकले यस्ता कार्यक्रममार्फत विद्यार्थी तथा युवामा वित्तीय चेतना, जीवन उपयोगी सीप र जिम्मेवार आर्थिक व्यवहारको विकासलाई निरन्तर प्रवर्द्धन गर्दै आएको जनाएको छ ।

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान

काठमाडौं । रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावरमा सोलार प्रणाली जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा लामो समयसम्म अवरुद्ध हुने भएपछि टिमुरेको टेलिफोन सेवा निरन्तर राख्न नेपाल टेलिकमले १२ किलोवाट क्षमताको सोलार प्रणाली सञ्चालनमा ल्याएको हो । गत भदौ १० गतेको रसुवा भोटेकोशीमा आएको बाढीपछि विद्युत् आपूर्ति बन्द हुँदा टिमुरेमा रहेको टेलिफोन टावर डिजेल जेनेरेटर चलाएर सञ्चालनमा राखिएको थियो । तर, टावर सञ्चालनका लागि आवश्यक डिजेलसमेत हेलिकप्टरमार्फत ढुवानी गर्नुपर्ने अवस्था थियो । सोलार प्रणाली सञ्चालनमा आएसँगै टावरका लागि नियमित रूपमा डिजेल ढुवानी गर्नुपर्ने बाध्यता हटेको छ । नेपाल टेलिकमले टिमुरे–खैदीमा आवश्यक उपकरण तथा सामग्री हेलिकप्टरमार्फत ढुवानी गरी १२ किलोवाट क्षमताको सोलार सिस्टम जडान गरेको जनाएको छ । यससँगै विद्युत् सेवा उपलब्ध नभएको अवस्थामा पनि टिमुरे क्षेत्रमा नेपाल टेलिकमको टुजी तथा फोरजी सेवा सहज रूपमा सञ्चालन हुने भएको छ । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहित विभिन्न जिल्लाका दूरसञ्चार पूर्वाधार तथा सेवा प्रभावित भएका थिए । टिमुरे क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएपछि टेलिफोन सेवा सञ्चालनका लागि जेनेरेटरमा निर्भर हुनुपरेको थियो । सोलार प्रणाली सञ्चालनमा आएपछि टेलिफोन तथा मोबाइल इन्टरनेट सेवा सञ्चालनका लागि आवश्यक ऊर्जा वैकल्पिक रूपमा उपलब्ध भएको छ ।  यसबाट स्थानीय बासिन्दा, यात्रु तथा सीमावर्ती क्षेत्रमा रहेका सेवाग्राहीलाई दूरसञ्चार सेवा निरन्तर उपलब्ध गराउन सहज हुने नेपाल टेलिकमले जनाएको छ ।

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी भ्लादिमेरोभिकले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार (आज) भेट भएको हो ।  भेटमा नेपाल र रसियाबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो । शिक्षा, खेलकुद, जनशक्ति विकासलगायत पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री पोखरेलले नेपालको जनशक्ति विकासमा रसियन सरकारले गर्दै आएको योगदान र सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले शिक्षा तथा खेलकुदका क्षेत्रमा नेपाल र रसियाबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए । भेटमा राजदूत भ्लादिमेरोभिकले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा लगानी गर्न रसियाली पक्ष इच्छुक रहेको बताए ।  उनले यी क्षेत्रमा सहकार्यका नयाँ सम्भावना पहिल्याउँदै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन सकिने धारणा राखे ।