काठमाडौं । सशस्त्र प्रहरी बलले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका ४५ सयभन्दा बढीको स्वास्थ्य उपचार गरेको छ ।
भदौ १० गतेदेखि नेपाल एपीएफ अस्पताल बलम्बुबाट खटिएको चिकित्सकसहितको टोलीले नुवाकोटका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको सशस्त्र प्रहरीले जनाएको छ ।
टोलीले नुवाकोट आयुर्वेद चिकित्सालय, क्रियापुत्री भवन, केन्द्रीय कारागार, सेतीदेवी आधारभूत विद्यालय, क्षेत्रपाल आधारभूत विद्यालय, रणभुवनेश्वरी माध्यमिक विद्यालय र नुवाकोट स्वास्थ्य चौकीलगायत स्थानमा स्वास्थ्य सेवा प्रदान गरेको हो ।
त्यस्तै, विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाका २५ वटा होल्डिङ सेन्टरमा रहेका बाढी प्रभावितको समेत स्वास्थ्य परीक्षण गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
केन्द्रीय कारागार नुवाकोटमा फैलन सक्ने सम्भावित सरुवा रोग तथा अन्य स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै चिकित्सकसहितको टोलीले विशेष स्वास्थ्य परीक्षण गर्नुका साथै ४०२ जना कैदीबन्दीलाई स्वास्थ्यसम्बन्धी परामर्श दिएको छ ।
स्वास्थ्य उपचारसँगै विपद्पछि फैलन सक्ने महामारी नियन्त्रण र वातावरणीय स्वच्छता कायम गर्न देवीघाट बजार, देवीघाट माध्यमिक विद्यालय परिसर र केन्द्रीय कारागार क्षेत्रमा कीटनाशक औषधिसमेत छर्किएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बाढी प्रभावित क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली अझै परिचालन भइरहेको छ ।