राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही हुने

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारवाही गर्ने भएको छ ।  शिक्षकहरु राजनीतिक गतिविधिमा लागेको जानकारी सामाजिक सञ्जालबाट बाहिरिएपछि शिक्षामन्त्री सस्मित पोखरेलले कुनैपनि राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कारवाही गर्न निर्देशन दिएका हुन् । साथै उनले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिलाई निगरानी गर्न पनि निर्देशन दिए । यसैबिच शिक्षा विकास तथा समन्वय एकाइ, बैतडीले जिल्लाका विद्यालयमा कार्यरत शिक्षकहरूको राजनीतिक दलका कार्यक्रममा सहभागिताबारे निगरानी गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ । एकाइले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार तथा सूचनाअनुसार केही विद्यालयका शिक्षकहरू विभिन्न राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएको जनाएको छ । पत्रमार्फत स्थानीय तहअन्तर्गतका विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका विभिन्न कार्यक्रममा सहभागी भए/भएको सम्बन्धमा गहन निगरानी गर्न अनुरोध गरिएको छ । त्यसैगरी, प्रचलित शिक्षा ऐन तथा नियमावलीले निर्धारण गरेको शिक्षक आचरण र मापदण्ड तथा नेपाल सरकारका पछिल्ला निर्देशनविपरीत कुनै शिक्षकका गतिविधि पाइएमा प्रचलित कानूनबमोजिम आवश्यक कारबाही गर्नसमेत एकाइले स्थानीय तहहरूलाई आग्रह गरेको छ । शिक्षा विकास तथा समन्वय एकाइ, बैतडीका एकाइ प्रमुख दशरथ दत्त भट्टद्वारा जारी पत्रमा उक्त निर्देशन उल्लेख गरिएको छ । पत्रको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालयलाई समेत दिइएको छ । यसैबीच शिक्षा विकास तथा समन्वय एकाइ, सिन्धुलीले जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सक्रिय रूपमा सहभागी भएको पाइए कारबाही गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ । एकाइले दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई पत्राचार गर्दै सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सहभागी भएको जानकारी प्राप्त भएको जनाएको छ । एकाइ प्रमुख तथा उपसचिव दिनेश प्रसाद देवकोटाले जारी गरेको पत्रमा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका आधारमा चार जना शिक्षक तथा कर्मचारीको राजनीतिक गतिविधिमा संलग्नता देखिएको उल्लेख गरिएको छ । पत्रमा प्रेम प्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुन कुमार गौतम र यतिराज तिमल्सिनाको नाम उल्लेख छ । उक्त गतिविधि शिक्षा नियमावली, २०५९ (दशौं संशोधनसहित) मा उल्लिखित व्यवस्थाविपरीत हुने उल्लेख गर्दै सम्बन्धित शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही गर्न स्थानीय तहलाई अनुरोध गरिएको छ ।

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न, बाँकी जिल्लामा पनि अन्तिम चरणमा

काठमाडौं । नेपाली कांग्रेसले १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको जनाएको छ ।  कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार असोज १६ देखि १९ गतेसम्म १५औं केन्द्रीय महाधिवेशन हुँदैछ । महाधिवेशनअन्तर्गत असोज ५ गतेसम्म ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ । कांग्रेसका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, ओखलढुंगा, झापा, सुनसरी, बारा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, स्याङ्जा, म्याग्दी, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी, कञ्चनपुर, सिन्धुपाल्चोक, पर्सा, पर्वत, बागलुङ, कपिलवस्तु, डोटी, दाङ र कैलालीमा वडा अधिवेशन सम्पन्न भएको हो । त्यस्तै, धनुषा क्षेत्र नम्बर ४, मोरङ क्षेत्र नम्बर ६, नवलपरासी क्षेत्र नम्बर २, सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, रौतहट क्षेत्र नम्बर १ तथा सर्लाही क्षेत्र नम्बर २ का वडामा अधिवेशन अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ । अछामका तीन, डडेल्धुराका चार, रुपन्देहीका तीन र महोत्तरीका आठ वडामा अधिवेशन हुन बाँकी रहेको छ । कांग्रेसका अनुसार धादिङ, नुवाकोट तथा असोज ५ गतेसम्म अधिवेशन सम्पन्न हुन बाँकी रहेका वडाहरूमा असोज ६ गते मंगलबार अधिवेशन प्रक्रिया जारी रहनेछ ।   

महासचिवलाई बैठक चलाउन नदिएपछि ओलीसँग कृष्णगोपालको भनाभन, गरे बैठक बहिष्कार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानविपरीत केन्द्रीय कमिटी बैठक सञ्चालन गरेको भन्दै नेता कृष्णगोपाल श्रेष्ठले बैठक बहिष्कार गरेका छन् । सोमबार (आज) ललितपुरमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेललाई बैठक सञ्चालन गर्न नदिएर अध्यक्ष ओली आफैले बैठक अघि बढाएपछि श्रेष्ठले आपत्ति जनाएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार श्रेष्ठले ओलीको कदमको विरोध गर्दै करिब एक घण्टा उभिएर असहमति जनाएका थिए । उनले अध्यक्ष ओलीलाई पार्टी विधानअनुसार बैठक सञ्चालन गर्न आग्रह गर्दै विधान पढ्न समेत भनेका थिए । त्यसक्रममा ओली र श्रेष्ठबीच भनाभनसमेत भएको ती नेताले बताए । असहमति जनाएका श्रेष्ठ केही समयपछि बैठकस्थलबाट बाहिरिएका थिए । बैठकमा ओलीले आफै बैठक सुरु गर्नुका साथै सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि उनले बैठकका एजेन्डा प्रस्तुत गर्दै प्रतिवेदनसमेत पेश गरेका थिए ।  महासचिवले बैठक सञ्चालन गर्ने पार्टीको अभ्यासविपरीत अध्यक्ष आफैले बैठक अघि बढाएको भन्दै श्रेष्ठले आपत्ति जनाएको एक नेताले जानकारी  दिए ।