अमरेश सिंहले सुरु गरे मेची- महाकाली पदयात्रा, जनताका गुनासो प्रधानमन्त्रीलाई बुझाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सर्लाही-४ का संघीय सांसद डा. अमरेशकुमार सिंहले मेची-महाकाली पदयात्रा सुरु गरेका छन् । उनले मंगलबार झापाको मेची पुलबाट पदयात्राको शुभारम्भ गरेका हुन् ।

पदयात्रा शुभारम्भ कार्यक्रममा झापा क्षेत्र नम्बर ३ का सांसद प्रकाश पाठक, क्षेत्र नम्बर ४ का शम्भुप्रसाद ढकाल, रास्वपा झापाका सभापति ओम भण्डारीलगायत पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

यात्राका क्रममा आम नागरिकसँग प्रत्यक्ष संवाद गरी संकलन गरिएका समस्या र गुनासाहरू प्रधानमन्त्री तथा पार्टी सभापतिसमक्ष बुझाउने सांसद सिंहले बताए ।

करिब दुई महिनासम्म चल्ने उक्त पदयात्रा आगामी माघ १ गते मकर सङ्क्रान्तिका दिन महाकाली नदीको किनारमा पुगेर समापन हुने जानकारी उनले दिए । यात्रा अवधिभर दैनिक पाँच घण्टा पैदल हिँड्ने र सात घण्टा स्थानीय नागरिकका कुरा सुन्ने उहाँको कार्यतालिका छ ।

यसैगरी, हुलाकी राजमार्ग केन्द्रित हालको पदयात्रा सम्पन्न गरेपछि आगामी वैशाख महिनामा मध्यपहाडी लोकमार्गबाट अर्को पदयात्रा गर्ने योजनासमेत रहेको सिंहले सुनाए । उक्त दोस्रो चरणको यात्रा बैतडीको झुलाघाटबाट सुरु भई पाँचथरको चिवाभञ्ज्याङमा पुगेर टुङ्गिनेछ ।

Share News