कार्यालय समयमा तलबसँगै भत्ता लिने व्यवस्था हटाऔं : अमरेशकुमार सिंह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.अमरेशकुमार सिंहले संवैधानिक निकायका पदाधिकारीले तलबसँगै बैठक, अन्तर्वार्ता लगायत विभिन्न शीर्षकमा लिने भत्ताको व्यवस्था हटाउनुपर्ने बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उनले कार्यालयकै नियमित कामका भत्ता दिनु उपयुक्त नहुने बताए । उनले नियमित कामको लागि बस्ने बैठकका लागि समेत पदाधिकारीले छुट्टै भत्ता लिने गरेको बताए । लोक सेवा आयोगका अध्यक्ष तथा सदस्यले लिखित परीक्षापछि हुने अन्तर्वार्तामा छुट्टै भत्ता पाउने व्यवस्था रहेको उनको भनाइ छ । निर्वाचन आयोगका पदाधिकारीले पनि निर्वाचनका क्रममा समेत छुट्टै भत्ता लिने गरेको सांसद सिंहले बताए । निर्वाचनका समयमा निर्वाचन आयोगअन्तर्गत हुने खर्च तथा भत्ताको व्यवस्थाबारे समेत समीक्षा आवश्यक रहेको उनको भनाइ छ । लोकसेवा आयोग र निर्वाचन आयोग दुवै समितिको कार्यक्षेत्रअन्तर्गत पर्ने भएकाले ती निकायका पदाधिकारीको सुविधा सम्बन्धमा स्पष्ट व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । उनले कानुन निर्माण गर्दा समयसापेक्ष र देश तथा जनताको हितमा रहेर गर्नुपर्ने बताए ।
तीन महानगरमा कांग्रेसको नेतृत्व चयन
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत ६ महानगरपालिकामध्ये तीन महानगरमा अधिवेशन सम्पन्न भएको छ । काठमाडौं, पोखरा र भरतपुर महानगरमा नेतृत्व चयन भइसकेको छ भने बाँकी तीन महानगरको अधिवेशन प्रक्रिया बिहीबार हुँदैछ । कांग्रेस निर्वाचन समितिका अनुसार काठमाडौं महानगरपालिकाको सभापतिमा सुशन वैद्य निर्विरोध निर्वाचित भएका छन् । पोखरा महानगरपालिकाको सभापतिमा सुरेन्द्रमान बिजुक्छे ६८७ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी सन्तोष पौडेलले ३१७ मत प्राप्त गरेका थिए । यस्तै, भरतपुर महानगरपालिकाको सभापतिमा बुद्धिकान्त न्यौपाने ६६० मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी ज्योतिप्रसाद पौडेलले ४१३ मत प्राप्त गरेका छन् । बाँकी महानगरमध्ये ललितपुरको अधिवेशन बिहीबार सुरु भएको छ । निर्वाचन समिति प्रमुख राजु कटुवालका अनुसार ललितपुरको निर्वाचन प्रक्रिया बिहीबार नै सम्पन्न गर्ने तयारी छ । ललितपुर महानगर सभापतिका लागि राजु महर्जन र गणेशभक्त श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । विराटनगर महानगरपालिकामा भने सबै वडाको अधिवेशन सम्पन्न नभएका कारण निर्धारित समयमा महानगर अधिवेशन हुन नसकेको स्थानीय कांग्रेस नेताहरूले बताएका छन् । निर्वाचन समिति प्रमुख कटुवालका अनुसार विराटनगरमा पनि बिहीबार महानगर अधिवेशन गर्ने तयारी गरिएको छ । वीरगञ्ज महानगरपालिकाको अधिवेशन शुक्रबार गर्ने तयारी छ । यससँगै कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत ६ महानगरमध्ये तीनमा नेतृत्व चयन भइसकेको छ भने बाँकी तीन महानगरको अधिवेशन सम्पन्न भएपछि महानगर तहको संगठनात्मक नेतृत्व चयन प्रक्रिया टुंगिनेछ ।
प्रधानमन्त्री बालेन न्युयोर्कमा, बिहीबार सम्बोधन गर्ने
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह न्युयोर्क पुगेका छन् । न्युयोर्कस्थित जेएफके अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री शाहलाई परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्रसचिव अमृतबहादुर राई तथा राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले स्वागत गरेका थिए । भ्रमण तालिका अनुसार प्रधानमन्त्री शाहले आजै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, उनी न्युयोर्कस्थित नेपाली नियोगद्वारा आयोजना गरिने स्वागत समारोहमा समेत सहभागी हुनेछन् ।प्रधानमन्त्री शाहले बिहीबार अपराह्न संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।