तिहार-छठमा विद्युत् आपूर्ति नरोकिने, २४ सै घण्टा जनशक्ति अलर्ट

काठमाडौं । नेपाल सम्वत्, तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणले विशेष तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको निर्देशनपछि प्राधिकरणले विद्युत् उत्पादनदेखि प्रसारण र वितरण प्रणालीसम्मको व्यवस्थापन चुस्त बनाएको हो । 

उज्यालो र उल्लासको पर्व तिहारमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन प्राधिकरणले प्रणालीको नियमित निगरानी, सम्भावित प्राविधिक समस्या पहिचान तथा तत्काल समाधानका लागि आवश्यक जनशक्तिलाई २४ सैं घण्टा तयारी अवस्थामा राखेको जनाएको छ ।

यसअघि ऊर्जामन्त्री श्रेष्ठले अघिल्लो साता प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठसहित उच्च अधिकारीहरूलाई तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित राख्न र सम्भावित अवरोध न्यूनीकरण गर्न निर्देशन दिएका थिए । उनले आपूर्ति व्यवस्थापनसँगै उपभोक्ताका गुनासोलाई तत्काल सम्बोधन गर्ने प्रभावकारी व्यवस्था मिलाउनसमेत जोड दिएका थिए ।

मन्त्रीको निर्देशनअनुसार प्राधिकरणले विद्युत् प्रणालीको निरन्तर निगरानी, प्राविधिक जनशक्तिको परिचालन र सम्बन्धित निकायबीच समन्वयलाई प्राथमिकतामा राखेको छ । विशेषगरी विद्युत् आपूर्तिमा समस्या देखिए तत्काल समाधान गर्न तथा नो लाइट सेवामा प्राप्त हुने फोन नियमित रूपमा उठाएर उपभोक्ताका गुनासा शीघ्र सम्बोधन गर्न निर्देशन दिइएको छ ।

यस वर्षको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने प्राधिकरणको अनुमान छ । उक्त माग धान्न आन्तरिक उत्पादन नै पर्याप्त हुने देखिएको छ । प्राधिकरणका अनुसार सो अवधिमा विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण छ। यसले आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्ति व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ ।

यसैबीच, प्राधिकरणले चाडपर्वका समयमा विद्युत् दुर्घटनाबाट जोगिन सुरक्षित प्रयोगमा विशेष ध्यान दिन उपभोक्तालाई आग्रह गरेको छ । घरमा प्रयोग भइरहेका विद्युतीय उपकरण, तार तथा अन्य सामग्रीको अवस्था जाँच गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न र विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकको सहयोग लिन प्राधिकरणले अनुरोध गरेको छ ।

विद्युत् आपूर्तिमा कुनै समस्या आएमा नजिकको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गरी जानकारी गराउन पनि प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।

Share News