काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले काग तिहार तथा धन्वन्तरी जयन्तीको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहेर समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा पर्वहरूले प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् ।
यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा उनले यमराजको दूत मानिने कागलाई मीठा परिकार खुवाएर सम्मान गर्ने परम्पराको चर्चा गरेका छन् । आधुनिक सञ्चारको विकास हुनुअघि काग कराउँदा कतैबाट समाचार वा पाहुना आउन लागेको संकेतका रूपमा लिने विश्वास रहेको उनले उल्लेख गरेका छन् ।
कागलाई ‘शुभ बोल, शुभ बोल’ भन्दै खबरको प्रतीक्षा गर्ने तथा दही–भात खुवाएर यमराजसमक्ष शुभ सन्देश पु¥याउने कामना गर्ने प्रचलन रहेको उनको भनाइ छ । साथै, परिवारका सदस्यको नाममा यम दीपदान गरी यमयातनाबाट मुक्तिको कामना गर्ने परम्परा रहेको पनि उनले स्मरण गरेका छन् ।
प्रधानमन्त्री शाहले यमराजलाई डरको प्रतीकका रूपमा मात्रै नभई न्यायको प्रतीकका रूपमा समेत बुझ्नुपर्ने उल्लेख गरेका छन् । यमराजले दुष्कर्म गर्नेलाई दण्ड र सत्कर्म गर्नेलाई धर्मराजका रूपमा रक्षा गर्ने धार्मिक विश्वास रहेको उनले बताएका छन् ।
त्यसैगरी, समुद्र मन्थनबाट अमृत कलश लिएर प्रकट भएका आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवता भगवान् धन्वन्तरीको स्मरण गर्दै उनले धन्वन्तरी जयन्तीका अवसरमा सबैको निरोगी जीवनको कामना गरेका छन् ।
भोलि मनाइने कुकुर तिहारको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री शाहले कुकुरलाई मानव सभ्यताको विश्वासिलो र वफादार साथीका रूपमा व्याख्या गरेका छन् । घरको रखवारीदेखि अनुसन्धान र उद्धार कार्यसम्म मानिसलाई साथ दिँदै आएको कुकुरप्रति प्रेम र कृतज्ञता व्यक्त गर्ने पर्वका रूपमा उनले कुकुर तिहारलाई लिएका छन् ।
कुकुर तिहारले अन्य जीवप्रतिको सहअस्तित्व र सद्भावलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै उनले पशुपन्छीसँगको आत्मीयता नेपाली चाडपर्वको सुन्दर पक्ष भएको बताएका छन् ।
प्रधानमन्त्री शाहले पर्वहरूले समाजमा सत्य, न्याय, इमानदारी, सुशासन र जनपक्षीय कार्यप्रतिको प्रतिबद्धता बलियो बनाउने प्रेरणा दिऊन् भन्दै आफ्नो शुभकामना सन्देशको अन्त्य ‘जय देश, जय संस्कृति’ भन्दै गरेका छन् ।