कांग्रेसको पालिका अधिवेशन सुरू
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन गर्दैछ । वडा अधिवेशन सम्पन्न गरेपछि कांग्रेसले स्थानीय तहमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाएको हो । आज हुने अधिवेशनबाट प्रत्येक पालिकामा नयाँ कार्यसमिति चयन हुनेछ । कांग्रेसको नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार पालिका कार्यसमितिमा सभापति, दुई उपसभापति, सचिव र सहसचिव गरी पाँच जना पदाधिकारी निर्वाचित हुनेछन् । दुई उपसभापतिमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ । कोषाध्यक्ष भने निर्वाचनबाट चयन हुने छैनन् । निर्वाचित कार्यसमिति सदस्यमध्येबाट सभापतिले कोषाध्यक्ष मनोनयन गर्ने व्यवस्था विधानमा छ । पालिका तहको नेतृत्व चयनसँगै कांग्रेसको १५औँ महाधिवेशनका लागि तल्लो तहदेखि संगठन निर्माण र प्रतिनिधि छनोटको प्रक्रिया थप अघि बढ्नेछ । पार्टीले महाधिवेशनअन्तर्गत यसअघि वडा तहको अधिवेशन अघि बढाइसकेको छ । यसैबीच, बाढीपहिरोबाट ठूलो जनधनको क्षति व्यहोरेको रसुवामा भने आज पालिका अधिवेशन नहुने भएको छ । विपद्का कारण जिल्लाको अवस्था सामान्य नरहेकाले त्यहाँको अधिवेशन केही दिनपछि गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार विपद्को विशेष परिस्थितिलाई ध्यानमा राखेर रसुवाको अधिवेशनको मिति केही दिनपछि सार्ने तयारी गरिएको हो । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको अधिवेशनपछि क्रमशः माथिल्ला तहका सांगठनिक संरचना निर्माणको प्रक्रिया अघि बढ्नेछ ।
प्रधानमन्त्रीको राष्ट्रसंघ भ्रमणप्रति सभापति लामिछानेले शुभकामना दिँदै भने- अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रिय हित सशक्त रूपमा प्रस्तुत होस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै सभापति लामिछानेले नेपालको राष्ट्रिय हित र सरोकारका विषयहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन आग्रह गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएका सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक शुभकामना । नेपालको राष्ट्रिय हित र हाम्रा सरोकारका सबै विषयहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न यो भ्रमण अर्थपूर्ण र सफल होस् । ’ प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गरेपछि भ्रमणको सफलताको कामना गर्ने क्रममा लामिछानेको यो अभिव्यक्ति आएको हो ।
प्रधानमन्त्री बालेन संयुक्त राष्ट्रसंघको महासभा सम्बोधन गर्न न्युयोर्क प्रस्थान
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन् । उनलाई कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत र वरिष्ठ अधिकारीहरूले स्वागत गरेका छन् । प्रधानमन्त्री दोहाबाट असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार न्युयोर्कतर्फ प्रस्थान गर्नेछन् । उनलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायतका अधिकारीहरूले स्वागत गर्नेछन् । सोही दिन प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्नेछन् । त्यहाँ उनलाई भ्रमणका विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतले क्रमशः ब्रिफिङ गर्नेछन् । त्यसलगत्तै प्रधानमन्त्री शाह उनको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरुले आयोजना गर्ने समारोहमा सरिक हुने कार्यक्रम छ । असोज ८ गते (२४ सेप्टेम्बर) प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुनेछ । त्यसलगत्तै प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन् । प्रधानमन्त्री असोज ९ गते (२५ सेप्टेम्बर) न्युयोर्कबाट दोहा प्रस्थान हुनेछन् । प्रधानमन्त्रीलाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत र वरिष्ठ अधिकारीहरूले स्वागत तथा बिदाई गर्नेछन् । प्रधानमन्त्री यही असोज १० गते (२६ सेप्टेम्बर) काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्र्ने तालिका छन् ।