‘जलवायु परिवर्तन किसानको बाली र घरबास गुम्ने गम्भीर संकट हो’

काठमाडौं । टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-३१) अन्तर्गत आयोजित ‘हाइलेभल साइन्स पोलिसी डाइलग’ (उच्चस्तरीय विज्ञान नीति संवाद) मा नेपालले जलवायु परिवर्तनका कारण नेपाली किसान र समुदायले भोगिरहेका गम्भीर समस्याहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तन नेपालका लागि केवल तापक्रम वृद्धि वा वैज्ञानिक अध्ययनको विषय मात्र नभई नागरिकको अस्तित्व र जीविकोपार्जनसँग जोडिएको गम्भीर संकट भएको बताइन् ।

मन्त्री चौधरीले भनिन्, “नेपालका लागि जलवायु परिवर्तन भनेको केवल बढ्दो तापक्रम वा वैज्ञानिक अध्ययनको विषय मात्र होइन । यो किसानहरूले आफ्नो बाली गुमाउनु, परिवारहरूले प्राकृतिक विपद्को सामना गर्नु, समुदायहरूले आफ्नो घरबास गुमाउनु र हाम्रो प्राकृतिक तथा सांस्कृतिक सम्पदा क्रमशः लोप हुँदै जानुसँग जोडिएको गम्भीर विषय हो ।”

सम्बोधनका क्रममा उनले जलवायुजन्य जोखिम न्यूनीकरणका लागि विज्ञानमा आधारित ज्ञानलाई समयमै नीति तथा व्यवहारमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याइन् । 

त्यसका लागि पूर्वसूचना प्रणाली (अर्ली वार्निङ सिस्टम) लाई सुदृढ बनाउनुपर्ने र जलवायु परिवर्तनको उच्च जोखिममा रहेका समुदायसम्म प्रत्यक्ष रूपमा जलवायु वित्त तथा आवश्यक सहयोग पुर्याउनुपर्नेमा उनले विशेष जोड दिइन् ।

पृथ्वीको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य नेपालको जीवन, जीविकोपार्जन र भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै मन्त्री चौधरीले उक्त लक्ष्य हासिल गर्न विश्व समुदायलाई तत्काल ठोस कदम चाल्न आह्वानसमेत गरेकी छन् ।

Share News