‘नेपाल–भारत आर्थिक साझेदारी नयाँ उचाइमा लैजानुपर्छ’

नयाँ दिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई समयानुकूल बनाउँदै नयाँ उचाइमा पु‍र्याउनुपर्नेमा जोड दिएका छन् । भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले दुई देशबीचको साझेदारीलाई थप प्रभावकारी बनाउन भौतिक, डिजिटल तथा ऊर्जा सञ्जालको विस्तार अपरिहार्य रहेको बताएका हुन् । नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा शुक्रबार आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच संवादलाई सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्धलाई आर्थिक विकास र साझा समृद्धिको नयाँ चरणमा लैजानुपर्ने बताए । सो अवसरमा अर्थमन्त्री वाग्लेले नेपालले हालै बेहोरेको प्राकृतिक विपद् र त्यसबाट भएको जनधनको क्षतिबारे चर्चा गर्दै संकटको घडीमा भारत सरकार तथा भारतीय जनताले देखाएको तदारुकता र उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे । उनले विपद्पछिको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउन नेपालले ‘बिल्ड ब्याक बेटर’ अवधारणालाई दृढतापूर्वक कार्यान्वयन गरिरहेको जानकारी दिए । जलवायु परिवर्तनमा नेपालको योगदान नगन्य भए पनि त्यसको असर हिमाली तथा तटीय पारिस्थितिकीय प्रणालीले अत्यधिक भोग्नुपरेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको मुद्दालाई नेपाल र भारतले मिलेर अघि बढाउनुपर्ने धारणा राखे । परम्परागत सहायता ढाँचाभन्दा माथि उठेर विकास वित्तका बदलिँदा आयाम, हरित वित्त तथा सहुलियतपूर्ण वित्तीय उपकरणको अधिकतम परिचालन गर्नुपर्नेमा पनि उनले जोड दिए । अर्थमन्त्री वाग्लेले विद्यमान नेपाल–भारत व्यापार सन्धिमा समयानुकूल सुधार गर्दै व्यापार घाटा न्यूनीकरण र गैरभन्सार अवरोध हटाउनुपर्ने आवश्यकता औंल्याए । नेपालमा लगानीको वातावरण सुधार गर्न नीतिगत तथा कानुनी सुधार गरिएको उल्लेख गर्दै उनले ऊर्जा, उत्पादनमूलक उद्योग र प्रविधि क्षेत्रमा भारतबाट प्रत्यक्ष वैदेशिक लगानी बढाउन भारतीय पक्षलाई आह्वान गरे । उनले वर्तमान सरकार नेपाली जनताको भारी जनादेशबाट बनेको स्मरण गराउँदै तीव्र विकास र आर्थिक रूपान्तरणको जनआकांक्षा पूरा गर्न सरकार पूर्ण रूपमा समर्पित रहेको बताए । ‘हाम्रो विकास आकांक्षा नीतिगत स्थायित्व र संस्थागत सुधारमा आधारित छ,’ उनले भने, ‘वर्तमान सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासन कायम गर्न दृढ छ । पारदर्शी र जवाफदेही शासन व्यवस्था नै आर्थिक समृद्धिको आधार हो ।’ गोलमेच संवादमा भारतका वरिष्ठ राजनीतिज्ञ, कूटनीतिज्ञ, रणनीतिकार तथा अर्थशास्त्रीहरूको सहभागिता थियो । कार्यक्रमको आयोजना स्थलसमेत रहेको आईआईसीका अध्यक्ष तथा नेपालका लागि पूर्व भारतीय राजदूत एवं पूर्व विदेश सचिव श्याम शरणले संवादमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष बनाउन नीतिगत तहमा हुने यस्ता गहन र खुला विमर्श फलदायी हुने धारणा राखे । कार्यक्रममा अर्थमन्त्री वाग्लेसहित पूर्व भारतीय विदेश सचिव तथा नेपालका लागि पूर्व राजदूत श्याम शरण, भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता एवं राज्यसभा सदस्य जयराम रमेश, पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा पूर्व विदेश सचिव शिवशंकर मेनन, पूर्व उपराष्ट्रिय सुरक्षा सल्लाहकार तथा कूटनीतिज्ञ पंकज शरणलगायत सहभागी थिए । त्यसैगरी, प्रख्यात अर्थशास्त्री तथा जेएनयूका एमेरिटस प्रोफेसर एवं दिल्ली विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. दीपक नायर, इन्डिया ट्रेड प्रमोसन अर्गनाइजेसन (आईटीपीओ) का अध्यक्ष जावेद अशरफ, नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित राय, भारतीय जनता पार्टीको विदेश मामिला विभाग प्रमुख डा। विजय चौथाइवाले, दक्षिण एसियाली भूराजनीति तथा कनेक्टिभिटी अध्येता डा. कन्स्ट्यान्टिनो जेभियर, भारतीय विदेश मन्त्रालयका निर्देशक मनुस्मृति, द हिन्दूकी कूटनीतिक मामिला सम्पादक सुहासिनी हैदरसहित नेपाली प्रतिनिधिमण्डलको सहभागिता थियो । छलफलका क्रममा भारतीय पक्षका विज्ञ तथा कूटनीतिज्ञहरूले नेपालको लोकतान्त्रिक स्थायित्व, सुशासनप्रतिको प्रतिबद्धता र आर्थिक एजेन्डाको प्रशंसा गरेका थिए । सहभागीहरूले नेपाल र भारतको साझा समृद्धि सीमापार कनेक्टिभिटी, ऊर्जा साझेदारी तथा पारस्परिक विश्वासमा निर्भर रहने निष्कर्ष निकाल्दै द्विपक्षीय संयन्त्रलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका थिए ।

बागमतीकी नवनियुक्त मन्त्री रमा आले मगरले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौं । बागमती प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद रमा आले मगर मन्त्रीमा नियुक्त भएकी छन् ।  आलेमगरलाई कृषि, पशुपंक्षी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो ।   मन्त्रीमा नियुक्त भएसँगै उनले आज पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।  नेकपाको मागअनुसार आलेमगरलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको हो ।  यसअघि सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भइसकेका छन् ।  एमालेका किरण थापा मगर नेतृत्वको वागमती प्रदेश सरकारमा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाबीच सत्तासाझेदारी रहेको छ ।  आले मगर यसअघि शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्रीसमेत बनेकी थिइन् ।

जेनजी सांसदहरूसँग प्रधानमन्त्री शाहले के भने ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले जेन–जी उमेर समूहका सांसदहरूलाई आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार जेनजी उमेर समूहका सांसदहरूसँग भएको अन्तरक्रियामा प्रधानमन्त्री साहले युवापुस्ताका मुद्दालाई संसदमा प्राथमिकताका साथ उठाउन आग्रह गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालकाअनुसार प्रधानमन्त्रीले जेन–जी सांसदहरूले डिजिटलाइजेसन, ई–गभर्नेन्स, आर्टिफिसियल इन्टेलिजेन्स, खेलकुद, कला तथा विदेशमा रहेका युवाका विषयलाई समेत संसदको एजेण्डा बनाउनुपर्ने धारणा राखेका थिए ।  प्रधानमन्त्रीले संसदका गतिविधि आफूले नियमित रूपमा नियालिरहेको र जेन–जी सांसदहरूबाट नयाँ सोच र फरक एजेण्डाको अपेक्षा रहेको बताएका थिए ।  अन्तरक्रियामा प्रधानमन्त्रीले राजनीतिलाई मात्र पेशा नबनाई सांसदहरूले आफ्नो छुट्टै व्यवसाय वा पेशागत आधारसमेत निर्माण गर्नुपर्ने धारणा राखेको रास्वपाका सांसद केपी खनालले बताए । उनका अनुसार प्रधानमन्त्रीले जेनजी पुस्ताका सांसदसहित युवाहरूलाई उद्यमशीलतामा जोडिन र ‘साइड बिजनेस’ मार्फत आत्मनिर्भर बन्न प्रोत्साहित गरेका थिए ।  स्टार्टअप तथा सूचना प्रविधि क्षेत्रबारे पनि छलफल भएको थियो । नेपालमा आईटी व्यवसाय दर्ता र सञ्चालनका लागि सहज वातावरण निर्माण गर्नुपर्ने विषय सांसदहरूले उठाएका थिए ।  प्रधानमन्त्रीले नेपालमै व्यवसाय दर्ता गर्ने वातावरण बनाउन सरकार तयार रहेको र समस्या आए सरकारसँग सुझाव तथा समन्वय गर्न आग्रह गरेको सांसद खनालले बताए ।  प्रधानमन्त्रीले जेन–जी पुस्ताका युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका थिए । त्यसका लागि बैंकिङ कर्जा प्रक्रियालाई सहज बनाउने तथा नयाँ व्यवसायलाई प्रोत्साहन गर्ने विषयमा समेत छलफल भएको थियो ।  छलफलमा जेनजी आन्दोलनका क्रममा पक्राउ परेका, घाइते तथा मृत्यु भएका व्यक्तिका विषय पनि उठाइएको सांसदहरूले बताएका छन् ।  सांसद खनालका अनुसार आन्दोलनका क्रममा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूको मुद्दाबारे गृह मन्त्रालयअन्तर्गत अध्ययन समिति गठन भएको छ ।  समितिले मुद्दाहरूको वर्गीकरण गरी विद्यमान कानूनअनुसार फिर्ता लिन सकिने मुद्दाको प्रक्रिया अघि बढाउने विषयमा काम गरिरहेको उनले बताए । तर गम्भीर प्रकृतिका अपराध, हातहतियार, ज्यानसम्बन्धी कसुर तथा लुटपाटलगायतका घटनामा संलग्न देखिएकाहरूको हकमा कानूनी प्रक्रिया कायम रहने सांसद खनालको भनाइ छ ।  उनका अनुसार समितिले छिट्टै प्रतिवेदन बुझाउने र त्यसका आधारमा सरकारले प्रक्रिया अघि बढाउने बताइएको छ ।  सांसद खनालले प्रधानमन्त्रीले जेनजी उमेर समूहका सांसदहरूबाट आफ्नै पुस्ताका मुद्दालाई फरक ढंगले संसदमा प्रस्तुत गर्ने अपेक्षा राखेको बताए ।  उनका अनुसार अहिले विद्यालय तथा कक्षा १२ मा अध्ययनरत विद्यार्थी, विदेशमा रहेका युवा, खेलकुद र कला क्षेत्रमा रहेका युवालगायतका समूहका समस्या र अपेक्षालाई संसदको मूल एजेण्डा बनाउनुपर्ने प्रधानमन्त्री साहको भनाइ छ ।  अन्तरक्रियामा सहभागी सांसदहरूलाई प्रधानमन्त्रीले स्थलगत अध्ययन तथा अनुसन्धान गर्न, सूचना–प्रविधिको उच्चतम प्रयोग गर्न, समस्या समाधानमुखी दृष्टिकोण अपनाउन र पुराना तथा अव्यावहारिक सोच त्याग्न सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।   सांसदहरूलाई रचनात्मक आलोचना गर्न आग्रह प्रधानमन्त्रीले सरकारका कामकारबाहीबारे सांसदहरूले रचनात्मक आलोचना तथा सुझाव दिनुपर्ने बताएको सांसदहरूले जानकारी दिएका छन् । समस्या देखिए त्यसको समाधानका लागि सरकारसँग समन्वय गर्न पनि प्रधानमन्त्रीले आग्रह गरेका थिए ।  रास्वपाका सांसद बब्लु गुप्ताका अनुसार प्रधानमन्त्रीले संसदमा जेन–जी सांसदहरूको गतिविधि र नयाँ विचारमा आफूले चासो राख्ने गरेको बताएका थिए ।  गुप्ताले सरकार सञ्चालनका क्रममा कमजोरी भए सच्याउँदै अघि बढ्ने प्रतिवद्धता आफूहरूले पनि व्यक्त गरेको बताए ।  अन्तरक्रियामा प्रधानमन्त्रीले जेन–जी पुस्ताका सांसदहरूलाई अभिभावकीय मार्गदर्शनका रूपमा आफ्नै पुस्ताका लागि स्वदेशमै अवसर सिर्जना गर्ने र आत्मनिर्भर बन्ने अभियानमा लाग्न आग्रह गरेका थिए ।  सहभागी सांसदहरूले पनि त्यसलाई सकारात्मक रूपमा लिँदै युवा पुस्ताका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।