तरुण दल र नेविसंघपछि दलित संघमा नेतृत्व चयन

श्रृजना मल्ल, दिल लामा र यमुना विश्वकर्मा ।

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले भातृ संगठनहरूमा समानान्तर गतिविधि अघि बढाएको छ । 

नेपाल तरुण दल र नेपाल विद्यार्थी संघपछि देउवा पक्षले नेपाल दलित संघमा पनि नेतृत्व चयन गरेको छ ।

नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले नेपाल दलित संघको अध्यक्षमा यमुना विश्वकर्मालाई मनोनयन गरेका छन् । 

तनहुँकी विश्वकर्मालाई कांग्रेस केन्द्रीय समितिको निर्णय र पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) अनुसार अध्यक्षमा मनोनयन गरिएको हो ।

यसअघि तयारी समितिले नेपाल तरुण दलको अध्यक्षमा काभ्रेपलाञ्चोकका दिल लामा र नेपाल विद्यार्थी संघको अध्यक्षमा पर्वतकी श्रृजना मल्ललाई मनोनयन गरेको थियो ।

मनोनयन पत्रमा तीनै जना अध्यक्षलाई आगामी छ महिनाभित्र सम्बन्धित संगठनको महाधिवेशन सम्पन्न गर्न भनिएको छ । 

तीन भातृ संगठनमा नेतृत्व चयन भएसँगै तयारी समितिले अन्य भातृ संगठनमा पनि यही प्रक्रियाबाट नेतृत्व तोक्ने सम्भावना देखिएको छ ।

देउवा पक्षले मंसिर २१ देखि २३ सम्म काठमाडौंको खुलामञ्चमा समानान्तर १५ औं महाधिवेशनको आयोजना गर्दैछ । 

महाधिवेशनअन्तर्गत २६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । 

Share News