कांग्रेस केन्द्रीय कार्यसमिति बैठक साउन २४ गते बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी साउन २४ गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले आइतबार (आज) जारी गरेको सूचनाअनुसार बैठक श्रावण २४ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने तय भएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति अनिवार्य गरिएको छ । बैठकका एजेन्डाबारे भने पार्टीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठकमा उपस्थित हुन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिइएको जानकारी दिए ।
युवा नेताले सुरु गरे देश र कांग्रेस जोड्ने अभियान
काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले पार्टीभित्र देखिएको आन्तरिक मतभेद अन्त्य गर्दै संगठनात्मक एकता सुदृढ गर्ने उद्देश्यसहित देश र कांग्रेस जोड्ने अभियान घोषणा गरेका छन् । आइतबार (आज) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महर, राष्ट्रियसभा सदस्य रञ्जित कर्णलगायतका नेताहरूले अभियान सार्वजनिक गरेका हुन् । उनिहरुले पार्टीलाई एकताबद्ध बनाउने प्रयासका रूपमा यसलाई अघि बढाइएको बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै नेता महरले आगामी साउन २० गते काठमाडौंको सुकेधारामा राष्ट्रिय एकता भेला आयोजना गरिने जानकारी दिए । उनका अनुसार भेलामा नेपाली कांग्रेसका तर्फबाट विभिन्न तहमा निर्वाचित देशभरका जनप्रतिनिधिलाई उक्त कार्यक्रममा सहभागी गराइनेछ । महरले उक्त भेलामा पार्टीका संस्थापन र संस्थापनइतर दुवै धारका नेताहरूलाई एउटै मञ्चमा उभ्याउने प्रयास गरिने जानकारी दिए । पार्टीभित्र देखिएको ध्रुवीकरण अन्त्य गर्दै संवाद, सहकार्य र संगठनात्मक एकतालाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिने उनको भनाइ थियो । नेता महरका अनुसार अभियानको उद्देश्य कांग्रेसलाई आन्तरिक रूपमा सुदृढ बनाउँदै जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउनु हो । कांग्रेसभित्र गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि उत्पन्न विवाद अझै समाधान हुन सकेको छैन । उक्त महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवापक्ष सहभागी नभएको विषयलाई लिएर पार्टीभित्र मतभेद कायम छ । यता संस्थापनइतर समूहले पनि साउन २९ गते राष्ट्रिय भेला बोलाइसकेको छ । एउटै महिनाभित्र दुवै पक्षले छुट्टाछुट्टै कार्यक्रम घोषणा गरेपछि कांग्रेसभित्रको आन्तरिक शक्तिसन्तुलन र एकताको प्रयास थप चासोको विषय बनेको छ ।
शक्ति र सत्ताकै लागि राजनीति गर्ने ठाउँमा पुग्यौँ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर जनसेवाको मुख्य माध्यम बनाउनुपर्ने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिमा बढ्दै गएको पद र शक्तिप्रतिको आसक्तिप्रति चिन्ता व्यक्त गरेका हुन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै थापाले राजनीतिलाई सबैभन्दा ठूलो सार्वजनिक र मानव सेवाको क्षेत्रका रूपमा परिभाषित गरे । उनले नागरिक सेवा र मानव सेवाका लागि शक्ति र सत्तालाई साधन बनाउनुपर्नेमा केवल सत्ता प्राप्तिकै लागि मात्र राजनीति गर्ने अवस्था आउनु दुःखद् भएको बताए । यो राजनीतिको मूल उद्देश्यभन्दा फरक र विचलित बाटो भएको उनको भनाइ थियो । पार्टीको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै उनले संस्थापक नेताहरूले सत्ता वा शक्तिको अभिलाषा राखेर नभई विशुद्ध नागरिक सेवाको भावनाले पार्टी स्थापना गरेको उल्लेख गरे । बदलिँदो परिवेशमा पार्टीसामु नयाँ विषय र चुनौती थपिएको उल्लेख गर्दै उनले सांगठनिक सुदृढीकरण र नीतिगत स्पष्टतालाई सँगसँगै लैजानुपर्ने आवश्यकता औँल्याए । थापाले भने, ‘हामी राजनीतिमा आएको पनि त्यही कारणले हो। राजनीतिभन्दा ठूलो सार्वजनिक सेवा अरू केही छैन । राजनीतिभन्दा ठूलो नागरिक सेवा वा मानव सेवा पनि केही होइन । नागरिक र मानव सेवा गर्न शक्ति भयो भने अझ धेरै गर्न सकिन्छ, सत्ता भयो भने अझ प्रभावकारी रूपमा गर्न सकिन्छ भन्ने सोचबाट हामी चिप्लिएर शक्ति र सत्ताकै लागि राजनीति गर्ने ठाउँमा पुग्यौँ ।’ प्रतिष्ठानको कार्यशैलीप्रति सन्तोष व्यक्त गर्दै उनले पार्टीको मर्म र आत्मालाई बुझेर रचनात्मक कार्य भइरहेको बताए । एकातर्फ नियमित सांगठनिक गतिविधि र अर्कोतर्फ नीतिगत तथा प्रशिक्षणका काम व्यवस्थित ढङ्गले अगाडि बढ्नु सुखद् पक्ष रहेको उनको भनाइ छ ।