भय र भ्रम फैलाएर सत्ता चलाउने धन्दा बन्द गर : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई भय र भ्रम फैलाएर सत्ता सञ्चालन गर्ने गतिविधि बन्द गरी जनताका मूल मुद्दामा केन्द्रित हुन आग्रह गरेको छ । 

कांग्रेस महामन्त्री प्रदीप पौडेलले बुधबार (आज) विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

पार्टीलाई बदनाम गर्ने, प्रेस नियन्त्रण गर्ने र राज्यका निकायमाथि हस्तक्षेप गर्ने प्रयासविरुद्ध राजनीतिक तथा कानुनी रूपमा सशक्त प्रतिवाद गर्ने कांग्रेसले चेतावनी दिएको छ ।

पार्टीको वैधानिकता, नेतृत्व र महाधिवेशनमाथि लगाइएका आरोप तथा सार्वजनिक भएका भनिएका अडियो सामग्रीहरू निराधार र नियोजित भएको दाबी पौडेलका गरेका छन् ।

विज्ञप्तिमा उनले २०८२ पुसमा सम्पन्न विशेष केन्द्रीय महाधिवेशन निर्वाचन आयोगबाट अद्यावधिक भइसकेको र सर्वोच्च अदालतबाट समेत वैधानिक ठहर भएको उल्लेख गरेका छन् । 

संविधान, प्रचलित कानुन र पार्टी विधानअनुसार २०८३ असोज १६ देखि २३ गतेसम्म १५औं महाधिवेशन सम्पन्न भइसकेको भन्दै त्यसविरुद्ध भइरहेको प्रचारलाई कांग्रेसले अस्वीकार गरेको छ । 

पार्टी र नेतृत्वविरुद्ध लगाइएका आरोप तथा तथाकथित अडियो बयान नियोजित र कपोलकल्पित भएको कांग्रेसको भनाइ छ । 

पार्टीमाथि उठेका जुनसुकै प्रश्नको सामना गर्न र आवश्यक छानबिनका लागि तयार रहेको विज्ञप्तिमा उल्लेख छ । 

कांग्रेसले यससँग सम्बन्धित सबै घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय अनुसन्धान गर्न पनि माग गरेको छ ।

विज्ञप्तिमा ‘इनम सापकोटा प्रकरण’ लाई पनि उठाइएको छ । उक्त प्रकरणमा प्रधानमन्त्री र उच्चपदस्थ अधिकारीको नाम जोडिँदै राज्यका निकाय दुरुपयोग भएको विषय सार्वजनिक भइरहेको कांग्रेसको दाबी छ ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको प्रत्यक्ष संलग्नता र निर्देशनमा अनधिकृत व्यक्तिहरूले फोन नियन्त्रणमा लिने, प्रमाण नष्ट गर्ने तथा अनुसन्धानमा हस्तक्षेप गर्ने गतिविधि भएको आरोप कांग्रेसको छ । 

अनुसन्धानका क्रममा हिरासतमा रहेका व्यक्ति र प्रमाणमाथि अनधिकृत नियन्त्रण तथा छेडछाड भएको विषय पनि गम्भीर रहेको कांग्रेसले जनाएको छ ।

प्रहरी महानिरीक्षक हटाउने घटनालाई पनि कांग्रेसले यही शृङ्खलाको पछिल्लो कडीका रूपमा व्याख्या गरेको छ । 

आफ्ना गल्ती ढाकछोप गर्न, प्रश्न उठाउनेलाई तर्साउन र प्रतिपक्षलाई कमजोर बनाउन सरकारले निर्देशनात्मक तथा छनोटमा आधारित अनुसन्धान गरिरहेको कांग्रेसको आरोप छ।

कांग्रेसले इनम सापकोटा प्रकरणसहित राज्य संयन्त्र दुरुपयोग गरेर भएका भनिएका सबै गैरकानुनी गतिविधिको निष्पक्ष अनुसन्धान गर्न मागसमेत गरेको छ ।

१५औं महाधिवेशनले तय गरेको नीतिअनुसार जनसरोकारका विषयमा जिम्मेवार र रचनात्मक सहयोग गर्न पार्टी तयार रहेको पनि कांग्रेसले जनाएको छ । 

Share News