प्रचण्ड भन्छन् : एमालेसहित सबै कम्युनिष्ट पार्टीबीच एकता गर्नुपर्छ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान संकट सामना गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सबै कम्युनिस्ट शक्तिलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।

मंगलबार पेरिसडाँडामा नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच भएको एकता घोषणासभालाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनमा रहेका सबै समूहबीच एकता आवश्यक रहेको बताए ।

पार्टीका सहसंयोजक माधवकुमार नेपालले ओलीको नाम उल्लेख गर्दा आशंका व्यक्त गरेको प्रसंग जोड्दै प्रचण्डले आफूलाई भने ओलीसँग एकता गर्न कुनै असहजता नरहेको बताए । उनले ओलीसँगै मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताले नेतृत्व गरेका समूहलाई पनि एकताको प्रक्रियामा सहभागी हुन आग्रह गरे ।

‘माधवजीले केपी ओलीको नाम लिँदा अलिकति के हुने हो भन्नुभयो । मलाई त्यस्तो लागेको छैन । केपी ओली, मोहनविक्रमजी, मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत सबै बाँकी कम्युनिस्ट समूहलाई पनि एकतामा आउन अपिल गर्छु,’ उनले भने ।

Share News