एआइजीसिहत प्रहरीका उच्च अधिकारी कोशी र मधेसका जिल्लामा खटिए
काठमाडौं । प्रहरी प्रधान कार्यालयले तराई- मधेसका जिल्लामा प्रहरीका उच्च अधिकारीलाई फिल्डमा खटाएको छ । चार जना एआईजीसहित उच्च प्रहरी अधिकारीलाई फिल्डमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हालको विकसित घटनाक्रमको सुरक्षा व्यवस्थापनको लागि प्रहरी जनशक्ति तथा स्रोत साधन परिचालनको प्रभावकारीता मूल्या‌ङ्कन, नीति निर्देशन, सुरक्षा योजनाको कार्यान्वयन, सूचना संकलन तथा विश्लेषण गर्न जिम्मेवारी तोकिएको प्रधान कार्यालयले जनाएको छ । उनीहरुले आवश्यकता अनुसार प्रहरी महानिरीक्षक समक्ष जाहेर गर्ने गरी निम्न प्रहरी अधिकृतहरुलाई खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धीविक्रम शाह बाँके, प्रहरी अतिरिक्त महानिरीक्षक हिमालय कुमार श्रेष्ठ मधेस प्रदेश, प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदी कपिलवस्तु, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वबाबु कार्की कोसी र सुनसरी खटाइएको छ । त्यसैगरी प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य सिरहा, प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्ले सप्तरी खटाइएको छ । प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराई सर्लाही, प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौर पर्सा, प्रहरी वरिष्ठ उपरीक्षक दीप शमशेर जबरा रौतक, प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद पंगेनी महोत्तरी, प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटी बारा, प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँल मोरङ, प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारी धनुषा र प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंह मधेस खटाइएको प्रधान कार्यालयले जनाएको छ ।
तराईको तनावबारे प्रधानमन्त्री सक्रिय, मधेसी नेताले भने– छलफल सकारात्मक
काठमाडौं । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको छलफल सकारात्मक भएको बताएका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रधानमन्त्री शाहसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरूले यसप्रकारको पहलले समस्या समाधानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनीहरूले पछिल्लो समय तराईका केही जिल्लामा देखिएका समस्या समाधानका लागि आफूहरूले सुझाव दिएको र उक्त समस्या समस्यामा प्रधानमन्त्री संवेदनशील र प्रतिबद्ध भएको आफूले पाएको बताए । छलफलपछि जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले भने, 'प्रधानमन्त्रीज्यूले पहिलो पटक मधेश केन्द्रित राजनीतिक दलसँग छलफल गर्नुभएको हो, छलफल धेरै नै सकारात्मक कदम भएको हाम्रो निष्कर्ष छ, हामीले पनि तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि सुझाव दिएका छौँ ।' अध्यक्ष राउतले आफूले पछिल्लो समय तराईका केही जिल्लामा देखिएका समस्या नयाँ नभएको उल्लेख गर्दै यसको दीर्घकालीन समस्या समाधानका लागि प्रधानमन्त्रीलाई आग्रह गरिएको बताए । उनले भने, 'अहिले देखिएको समस्या नयाँ होइन, समस्या समाधानका लागि र्‍यापिड एक्सन टिम गठन गर्नका लागि सुझाव दिएका छौँ, त्यसबाहेक नियमित ब्रिफिङ, सुरक्षा जनशक्तिको क्षमता अभिवृद्धी तथा समुदायस्तरमा नियमनका लागि पनि आग्रह गरेका छौँ ।' मुस्लिम आयोगका संस्थापक अध्यक्ष समिर मियाँ अन्सारीले व्यक्तिगत झगडा साम्प्रदायिक तहसम्म पुग्नु मुलुकका लागि घातक भएको उल्लेख गरे । उनले भने, 'यस विषयमा प्रधानमन्त्रीज्यूसँग घनिभूत छलफल भयो, घटनाका दोषीलाई कारबाही गर्न र अवस्था सामान्य पार्नका लागि हामीले केही सुझाव दिएका छौँ ।' राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतका सरकारले मधेससँग गरेका सम्झौता कार्यान्वयन गर्न पनि सुझाव दिएको बताए । उनले मधेसमा देखिएको समस्या समाधानका लागि सरकारको सक्रियता अझ बढाउन पनि प्रधानमन्त्रीसँग आग्रह गरेको उल्लेख गरे । सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न र समयमै समस्या समाधानका लागि आग्रह गरिएको बताए । छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी रहेका थिए ।
देवानगञ्ज घटनापछि धार्मिक अगुवाको संयुक्त अपिल, हिंसा होइन संवाद रोजौँ
काठमाडौं । सुनसरीको देवानगञ्ज, सिरहा तथा मधेश प्रदेशका अन्य जिल्लामा भएका घटनापछि हिन्दु र मुस्लिम धार्मिक अगुवाले संयुक्त रूपमा शान्ति, सद्भाव र संयमता कायम राख्न अपिल गरेका छन् । शुक्रबार जारी संयुक्त अपिलमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । उनीहरूले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएका छन् । संयुक्त वक्तव्यमा घटनाको निष्पक्ष छानबिन गरी कानुनविपरीत कार्यमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरिएको छ । पीडित परिवारलाई राहत, उचित क्षतिपूर्ति र घाइतेको प्रभावकारी उपचारको व्यवस्था गर्न पनि आग्रह गरिएको छ । धर्मका नाममा हिंसा फैलाउने प्रयासप्रति सचेत रहन सबै नागरिकलाई अपिल गरिएको छ । उत्तेजनात्मक, घृणाजन्य वा सामाजिक सद्भाव भड्काउने गतिविधिमा संलग्न नहुन पनि अनुरोध गरिएको छ । धार्मिक अगुवाहरूले सबै धर्मले मानव कल्याण, सहिष्णुता र भाइचाराको सन्देश दिने उल्लेख गर्दै एकअर्काको आस्था र विश्वासको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक संस्था, नागरिक समाज र सञ्चारमाध्यमलाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति र सामाजिक सद्भाव पुनःस्थापित गर्न सक्रिय हुन आग्रह गरेका छन् । संयुक्त अपिलमा विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी, जमिअत उलेमा–ए–नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दु महासंघका सचिवालय सदस्य राजुराज फुयाल तथा अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजमुल हसन फलाहीले हस्ताक्षर गरेका छन् ।