विद्यमान समस्या समाधान गर्न तीन तहबीच समन्वय आवश्यकः सञ्चारमन्त्री
काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जिल्लाको लिखु गाउँपालिकाको समग्र विकास निर्माण, स्थानीय पूर्वाधार र नागरिकका अपेक्षाबारे जानकारी लिएका छन् । शुक्रबार (आज) सञ्चार मन्त्रालयमा लिखु गाउँपालिकाका स्थानीयवासी, जनप्रतिनिधि तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका जिल्ला सभापति रामेश्वर गजुरेल, पार्टीका विभिन्न वडा सभापति तथा पदाधिकारीसँग छलफल गरी स्थानीय तहमा देखिएका समस्या र विकासका आवश्यकताबारे विस्तृत जानकारी लिएका हुन् । छलफलका क्रममा स्थानीयवासीले जिल्लामा रासायनिक मलको अभाव हुँदा कृषकले खेतीपातीमा कठिनाइ भोगिरहेका, स्थानीयस्तरमा उत्पादन हुने कृषिउपजले उचित बजार नपाउँदा किसान निरुत्साहित भइरहेका, पर्याप्त सिँचाइ सुविधा नहुँदा कृषि उत्पादन प्रभावित हुनुका साथै सडक पूर्वाधारको स्तरोन्नति आवश्यक रहेको विषय उठाएका थिए । लिखु गाउँपालिकामा सञ्चालन भइरहेका विकास निर्माणलाई थप प्रभावकारी र तीव्र बनाउनुपर्ने उनीहरूको माग थियो । सो अवसरमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले स्थानीय तहमा देखिएका समस्याको समाधानका लागि सबैभन्दा पहिले त्यहाँका जनप्रतिनिधि र स्थानीयस्तरबाट आवश्यक पहल र सक्रियता हुनुपर्ने बताए । स्थानीय आवश्यकता पहिचान गरी योजनाबद्ध रूपमा अघि बढेमा विकास निर्माणलाई प्रभावकारी बनाउन सकिने उनको भनाइ छ । सञ्चारमन्त्री तिमिल्सिनाले विकासका जटिल तथा दीर्घकालीन समस्या समाधानका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच प्रभावकारी समन्वय, सहकार्य तथा सामूहिक पहल अपरिहार्य रहेको उल्लेख गरे । तीन वटै तहका सरकारबीचको सहकार्यबाट मात्रै नागरिकका अपेक्षाअनुसार विकासका कामलाई परिणाममुखी बनाउन सकिने उनले बताए । नुवाकोटबाट निर्वाचित प्रतिनिधिसभा सदस्यका रूपमा जिल्लाका नागरिकले उठाएका समस्याप्रति आफू गम्भीर रहेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले जिल्लाको विकास, पूर्वाधार विस्तार तथा जनजीविकासँग प्रत्यक्ष सम्बन्धित विषयलाई सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय समुदाय तथा सम्बन्धित निकायबीच सहकार्य र निरन्तर संवाद कायम रहँदा विकास निर्माणलाई गति दिन र स्थानीय आवश्यकता सम्बोधन गर्न थप सहज हुने विश्वास व्यक्त गरे । डा. तिमिल्सिनाले यसअघि ककनी, तादीलगायत जिल्लाका विभिन्न पालिकाका समस्याबारे पनि छुट्टाछुट्टै जानकारी लिएका थिए ।
कर्फ्यू र निषेधाज्ञाबीच तराईका जिल्लाबाट ३६ जना पक्राउ, स्थिति बिस्तारै सामान्य बन्दै
काठमाडौं । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू र निषेधाज्ञा उल्लङ्घन गरी प्रदर्शन गरेको तथा सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा प्रहरीले तराई-मधेशका विभिन्न जिल्लाबाट ३६ जनालाई पक्राउ गरेको छ । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार कर्फ्यू लगाइएका क्षेत्रमा नियम तोडेर प्रदर्शनमा उत्रिएका उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सबैभन्दा धेरै धनुषाका रहेका छन् । धनुषाबाट १९ जना, सर्लाहीबाट ९ जना, सिरहाबाट ५ जना, महोत्तरीबाट २ जना र पर्साबाट १ जना गरी कुल ३६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सामाजिक तनाव नियन्त्रण गर्नका लागि शुक्रबार (आज) पनि सुनसरीसहित सिरहा, सप्तरी र धनुषामा कर्फ्यू जारी राखिएको छ भने पर्सामा निषेधाज्ञा कायमै छ । प्रशासनका अनुसार बिहीबारको तुलनामा आज प्रदर्शनका घटनाहरूमा कमी आएको छ । यद्यपि, सिरहामा भने केहीबेर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । यसैबीच, सुनसरीमा भएको घटनामा ज्यान गुमाएका दुवै मृतकका परिवारले गृहमन्त्रीसँग सहमति भएपछि शव बुझेका छन् । घटनापछि उत्पन्न तनाव कम गर्न र सामाजिक सद्भाव कायम राख्न तराईका विभिन्न जिल्लाहरूमा सद्भाव र्याली पनि निकालिएको छ । सुरक्षा निकायले स्थिति नियन्त्रणमै रहेको र थप अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको जनाएको छ ।
राष्ट्रपति पौडेलले गरे पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार (आज) सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई–मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिका बारेमा छलफल भएको हो । उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति पौडेलले सदियौंदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न सबैले पहल गर्नुपर्ने धारणा राखेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । त्यस्तै, पूर्वराष्ट्रपति डा. यादव र पूर्वराष्ट्रपति परमानन्द झाले सरकारले यो विषम अवस्थामा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आमनागरिकको साथ लिएर समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए ।