वर्षाले देशका विभिन्न राजमार्ग प्रभावित, केही सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग र सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले शनिबार बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको तथा केही सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ । प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । यस्तै, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । इलाम नगरपालिका-९ स्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे बनेपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यसैगरी, दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारस्थित लामासाँघु-रामेछाप सडकखण्ड सामाकोशी खोलाको बहावले कटान गरेपछि यातायात अवरुद्ध भएको छ। रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित पासाङ ल्हामु राजमार्ग पनि त्रिशूली नदीले सडक कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

गणेश यादवका परिवारसँग ८ बुँदे सहमति, १० लाख राहतसहित सहिद घोषणा गर्ने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारसँग आठ बुँदे सहमति गरेका छन् । जिल्ला सुरक्षा समितिको बैठकपछि गृहमन्त्री गुरुङ शुक्रबार राति सिरहाको औरही गाउँपालिका-२, तुलसीयाहीस्थित मृतक यादवको घर पुगेका थिए । त्यहाँ मृतकका बुबा-आमा तथा आफन्तसँग भएको छलफलपछि आठबुँदे सहमति गरेका हुन् ।  सम्झौताअनुसार सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । साथै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने सहमति भएको छ । यस्तै, मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने, मृतकको सम्झनामा स्थानीय तहसँग समन्वय गरी स्मृति पार्क तथा सालिक निर्माणका लागि पहल गर्ने सहमति भएको छ । सम्झौतामा मृतककी दाइ र बहिनीको निःशुल्क शिक्षाको व्यवस्था गर्ने, मृतकका बुबा र आमाको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाउने तथा परिवारका अन्य माग पनि यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ । सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा साउन १४ गते भएको प्रदर्शनका क्रममा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो ।

देशभर पानी पर्ने, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर तथा पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकाले मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने देशका बाँकी भागमा सामान्यदेखि पूर्ण बदली छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही तथा पहाडी क्षेत्रका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ । तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । हिमाली र पहाडी क्षेत्रका केही तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी र पहिरोको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।