काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति र विनाश भएकोप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्दै नेपाललाई आवश्यक पर्ने सबै प्रकारका मानवीय सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र साह (बालेन) सँग टेलिफोन वार्ता गर्दै बाढीबाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षा, स्वास्थ्य र कुशलताका लागि प्रार्थना गरेका छन् ।
टेलिफोन संवादका क्रममा उनले संकटको यस कठिन घडीमा भारत सरकार नेपाललाई हरसम्भव सहयोग गर्न पूर्ण रूपमा तयार रहेको विश्वास दिलाएका छन् ।
नेपालमा परेको यो विपद्को समयमा भारत नेपालको साथमा रहेको उल्लेख गर्दै नेपाल एक्लो छैन, यो दुःखको घडीमा भारत नेपालसँगै उभिएको छ भन्दै भारतीय पक्षले ऐक्यबद्धता व्यक्त गरेको छ ।