भोटेकोशी बाढी: क्षति संकलन जारी, उद्धार कोषमा सहयोग गर्न सरकारको आह्वान

काठमाडौं । बुधबार बिहान ८ः४० बजे रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । 

बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ र गोरखा लगायतका तटीय क्षेत्रहरू गम्भीर रूपमा प्रभावित बनेका छन् । 

घटनालगत्तै सरकारले प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा राहत सामग्री वितरणको कार्यलाई तीव्रता दिएको छ भने बाढीबाट पुगेको मानवीय र भौतिक क्षतिको अन्तिम विवरण संकलन गर्ने काम निरन्तर जारी राखिएको छ ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने र दीर्घकालीन रूपमा पुनःस्थापना गर्नुपर्ने चुनौती छ । 

यसै सन्दर्भमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका तोकिएका बैंक खाताहरूमा यथाशक्य आर्थिक सहयोग गरी हातेमालो गर्न स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण संघ-संस्था एवं नागरिकहरूमा अपिल गरेको छ ।

Share News