मिटरब्याजमा ऋण दिनेलाई सम्पत्ति शुद्धीकरणको मुद्दा
काठमाडौं । सरकारले मिटरब्याज (अनुचित लेनदेन) मार्फत सर्वसाधारणलाई शोषित–उत्पीडित बनाउने कार्यलाई कडा आर्थिक अपराधका रूपमा लिँदै मिटरब्याजीहरूमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कानून अनुसार कारबाही अघि बढाउने भएको छ । गृह मन्त्रालय र मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौतालाई मन्त्रिपरिषद्ले अनुमोदन गरी नेपाल राजपत्रमा प्रकाशित गरेसँगै मिटरब्याज सम्बन्धी कुप्रथाको उन्मूलनको घोषणा गर्ने तयारी गरिएको छ । यो घोषणासँगै नागरिकहरूमाथि आपराधिक तथा दूषित मनसायका साथ बनाइएका तमसुक, दृष्टि बन्धक, छिनुवा पास र बाध्यकारी चेकजस्ता सम्पूर्ण फर्जी लिखतहरू स्वतः अवैध हुनेछन् । गृह मन्त्रालयले तीन महिनाभित्र मिटरब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयकको मस्यौदा तयार गरी कानून निर्माणको प्रक्रिया अघि बढाउने व्यवस्था गरिएको छ । प्रस्तावित ऐनमा मिटरब्याजमा गैरकानुनी रूपमा ऋण लगानी गर्ने व्यक्तिहरूमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अपराधमा अनुसन्धान गरिने, अनुचित लेनदेनका कारण पीडितले गुमाएको चल–अचल सम्पत्ति फिर्ता गराई उचित क्षतिपूर्ति भराइने र मुद्दाको द्रुत न्याय निरुपणका लागि विशेष न्यायाधीकरणको गठन गरिनेछ । यसका साथै स्थानीय तह (वडा) बाट लिखत प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत, कर तिरेको निस्सा र बैंकिङ वा विद्युतीय कारोबारको प्रमाण नभएमा वा एक पक्षको मात्र उपस्थितिमा गरिएको प्रमाणीकरणलाई आधिकारिकता नदिने कानुनी प्रबन्ध मिलाइनेछ । नयाँ कानुनी ढाँचा अनुसार वास्तविकभन्दा बढी रकमको लिखत बनाउनु, सावाँमा ब्याज जोडेर नयाँ लिखत खडा गर्नु, प्रचलित कानूनभन्दा बढी ब्याज लिनु, खाली चेक वा ल्याप्चे गराउनु, धम्की दिनु, शारीरिक तथा मानसिक हिंसा वा शोषण गर्नु र सम्पत्तिको हक हस्तान्तरण गराउनु जस्ता १६ प्रकारका कार्यहरूलाई मिटरब्याज अपराधको परिभाषाभित्र समेटिनेछ । यस्ता अपराधको अध्ययन, अनुसन्धान, स्थलगत भ्रमण, सर्जमिन र फरेन्सिक परीक्षण लगायतका कार्यहरू मुलुकी फौजदारी संहिता बमोजिम अघि बढाइनेछ । पीडितका समस्या स्थानीय स्तरमै समाधान गर्न देशभरका सबै जिल्लाहरूमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भू–प्रशासन, प्रहरी र आन्दोलनका प्रतिनिधिसहितको जिल्लास्तरीय सहजीकरण समिति गठन गरिनेछ । यो समितिले हरेक साता कम्तीमा ४ पटक बैठक बसी ६ महिनाभित्र प्राप्त सबै उजुरीहरू फछ्यौट गर्नुपर्नेछ । समितिको कामकारबाही अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति समेत रहनेछ । सहमति अनुसार मिटरब्याज पीडितहरूका विरुद्धमा सरकार वादी भई चलेका फौजदारी मुद्दाहरू कानून बमोजिम फिर्ता लिने र फैसला भइसकेका मुद्दामा सजाय माफी मिनाहाको प्रक्रिया अघि बढाउने निर्णय भएको छ । साथै, आर्थिक रूपमा विपन्न नागरिकहरूलाई पुनः मिटरब्याजको चक्रमा पर्न नदिन वार्षिक बजेटमै विशेष आर्थिक सहायता, राहत र क्षतिपूर्तिको कार्यक्रम समावेश गर्न अर्थ मन्त्रालयमा सिफारिस गरिनेछ ।
ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० पर्वतारोही सम्पर्कविहीन
काठमाडौं । पाकिस्तानस्थित ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परेर नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना पर्वतारोही सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा ६ जना नेपाली र अन्य मुलुकका चार जना नागरिक रहेका छन् । हिमपहिरोपछि उनीहरूसँग सम्पर्क टुटेको जनाइएको छ । पाकिस्तानको अल्पाइन क्लबले सार्वजनिक गरेको सूचीअनुसार बेपत्ता हुनेमा ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ जोङ, अमेरिकाकी मालोरी गाइस तथा नेपालका निर्मल पुर्जा ‘निम्स दाइ’, पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन् । हिमपहिरोपछि उद्धार तथा खोजी अभियानबारे विस्तृत विवरण आउन बाँकी रहेको छ । बेपत्ता आरोहीहरूको अवस्थाबारे थप जानकारी प्राप्त गर्ने प्रयास भइरहेको सम्बन्धित निकायले जनाएको छ ।
जयनगर-जनकपुर-भङ्गाहा रेल सेवा स्थगन
जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधाम धनुषाले आज सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय धनुषाबाट जारी कर्फ्यु आदेशका कारण यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै रेल सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ । सूचनामा प्रमुख जिल्ला अधिकारीबाट जारी कर्फ्यु आदेशका आधारमा उक्त निर्णय गरिएको उल्लेख छ । नेपाल रेल्वे कम्पनीले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डमा हाल सञ्चालन हुँदै आएको सेवा कर्फ्यु कायम रहेसम्म सञ्चालन गर्न नसकिने सूचनामा उल्लेख गरिएको छ । यात्रुहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै परिस्थिति सामान्य भएपछि सेवा पुनःसञ्चालन गरिने निमित्त प्रशासन प्रमुख अजयकुमार सिंहद्वारा जारी सूचनामा उल्लेख छ ।