अम्बे-कोशी सहकारीका २ ऋणीको जग्गा बिक्रीमा, कट्ठाको साढे ११ लाख रुपैयाँ

फाइल फोटो

\काठमाडौं । समस्याग्रस्त सहकारी संस्थाबाट बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रिया अघि बढाइरहेको कोशी प्रदेश सरकारले अब ऋणीको धितो सम्पत्ति लिलाम बिक्रीलाई तीव्र बनाएको छ । समस्याग्रस्त घोषित अम्बे-कोशी बचत तथा ऋण सहकारी संस्थाका दुई ऋणीको नाममा रहेको घरजग्गा लिलाम बिक्रीमा राखेको हो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय विराटनगरले ऋणको साँवा-ब्याज नतिरेका ऋणीहरूको धितो सम्पत्ति बिक्री गरेर बचतकर्ताको रकम असुली प्रक्रिया अघि बढाएको हो । 

कार्यालयले चन्द्रमाया दाहालको नाममा रहेको सुनसरीको बराहक्षेत्र नगरपालिका-९ख भरौलस्थित १९ धुर जग्गा बिक्रीमा राखेको छ । उक्त जग्गा बिक्रीबाट करिब १९ लाख ६३ हजार रुपैयाँ बराबरको बक्यौता असुल गर्ने लक्ष्य राखिएको छ ।

यस्तै, टंकप्रसाद पौडेलको नाममा रहेको मोरङको सुन्दरहरैँचा नगरपालिका-३ग स्थित एक बिघा जग्गा पनि लिलाममा राखिएको छ । त्यस सम्पत्तिबाट ११ लाख ५७ हजार रुपैयाँ बराबरको बक्यौता उठाउने समितिको तयारी छ ।

समितिका अनुसार अम्बे-कोशी सहकारीलाई प्रदेश सहकारी ऐन, २०७६ अनुसार समस्याग्रस्त घोषणा गरिएको हो । त्यसपछि सम्बन्धित ऋणीलाई ३५ दिने र २१ दिने गरी पटक-पटक सार्वजनिक सूचना जारी गरेर ऋण चुक्ता गर्न आग्रह गरिएको थियो । तर, त्यस अवधिमा पनि ऋणी सम्पर्कमा नआएपछि अन्तिम विकल्पका रूपमा धितो सम्पत्ति लिलाम प्रक्रिया अघि बढाइएको जनाएको छ ।

समितिले इच्छुक व्यक्ति, संस्था तथा कम्पनीलाई ३५ दिनभित्र २ हजार रुपैयाँ तिरेर बोलपत्र फाराम खरिद गरी पेश गर्नुपर्नेछ । लिलाममा सहभागी हुनेले आफूले कबुल गरेको रकमको १० प्रतिशत धरौटी अग्रिम जम्मा गर्नुपर्नेछ । 

null

 

Share News