सामाजिक सद्भावका लागि धार्मिक अगुवासँग रवि लामिछानेको छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले विभिन्न धार्मिक समुदायका अगुवासँग छलफल सुरु गरेका छन् । शुक्रबार पार्टीको संसदीय दल कार्यालयमा लामिछानेले मुस्लिम समुदायका मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग भेटवार्ता गरेका हुन् । त्यसैगरी उनले विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग पनि छलफल गरेका छन् । छलफलका क्रममा सुनसरी, सिराहालगायत देशका विभिन्न स्थानमा भइरहेका प्रदर्शन र तनावपूर्ण अवस्थाबारे कुराकानी भएको र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न दुवै समुदायका अगुवाले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिइएको रास्वपाले जनाएको छ । सभापति लामिछानेले धार्मिक अगुवाहरूलाई प्रदर्शन रोक्न तथा शान्ति, संयमता र आपसी सद्भाव कायम राख्न सार्वजनिक अपिल गर्न आग्रह गरेका छन् । पछिल्ला घटनाक्रमका कारण विभिन्न जिल्लामा उत्पन्न तनावलाई संवाद र सहकार्यमार्फत समाधान गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

ब्रड पिक हिमपहिरोः नेपालीसहित दुई आरोहीको मृत्यु पुष्टि

काठमाडौं । ब्रड पिकको हिमपहिरोमा पुरेर एक नेपालीसहित दुई जनाको मृत्युको पुष्टि भएको छ । ओमानकी नाधिरा अल हार्थी र पुरबहादुर गुरुङ युक्ताको मृत्यु भएको हो । अल्पाइन क्लबका अनुसार हार्थीको शव फेला परेकाले हेलिकोप्टरमार्फत स्कर्दु ल्याउने प्रक्रिया भइरहेको छ। गुरुङ ‘युक्ता’ को शव ढुवानी गर्ने व्यवस्था भइरहेको छ। अन्य वेपत्ता आरोहीहरूको आधिकारिक रूपमा पुष्टि भएपछि मात्र सार्वजनिक गरिने क्लबले जनाएको छ। वेपत्ता रहेका आरोहीहरूको खोज तथा उद्धार अभियान जारी रहेको क्लबले जनाएको छ ।

पाँचबुँदे मागसहित माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनसन जारी

काठमाडौं । विभिन्न पाँचबुँदे माग राख्दै लघुवित्त पीडितहरूले काठमाडौंको माईतीघर मण्डलामा शुरु गरेको सामुहिक आमरण अनसन शुक्रबार पनि जारी रहेको छ । ‘लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति’को नेतृत्वमा मङ्गलबारदेखि उक्त अनसन शुरु भएको हो ।  आन्दोलनरत पक्षले वित्तीय शोषणको अन्त्य र सामाजिक न्यायको प्रत्याभुति हुनुपर्ने भन्दै सरकारसमक्ष विभिन्न मागहरू अघि सारेका छन् । उनीहरूले सर्वोच्च अदालतको परमादेश बमोजिम लघुवित्त पीडितका तीनबुँदे असहमतिसहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने मागलाई मुख्य प्राथमिकतामा राखेका छन् । संघर्ष समितिले जारी गरेको मागपत्रमा विद्यमान विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी संहितामा आधारित वित्तीय प्रणाली लागू गर्नुपर्ने उल्लेख छ ।  त्यसैगरी, गरिब, मजदुर, सुकुम्बासी र किसानलाई ब्याज छुटसहित निःशुल्क ऋणको व्यवस्था गर्नुपर्ने तथा नागरिकको आवश्यकता र क्षमताका आधारमा रोजगारी एवं उचित पारिश्रमिक सुनिश्चित गर्नुपर्ने माग समेत गरिएको छ । आन्दोलनकारीहरूले निजी बैंक तथा वित्तीय संस्थाहरूको अन्त्य गरी मुलुकमा समाजवादी अर्थ व्यवस्था कायम गर्नुपर्ने दीर्घकालीन माग समेत प्रश्तुत गरेका छन् । आफ्ना मागहरू पूरा नभएसम्म अनसन र आन्दोलनका कार्यक्रमहरूलाई निरन्तरता दिने संघर्ष समितिले जनाएको छ ।