काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले पुर्याएको ठूलो मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारले सम्पूर्ण क्षति र प्रभावितको पूर्ण जिम्मेवारी लिने बताएका छन् ।
बुधबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले यो प्राकृतिक विपद्को अप्रत्याशित बज्रपातले सिंगो देशलाई नै स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेका छन् ।
बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री बालेनले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
‘तपाईंहरूको यो असैह्य पीडामा सिंगो नेपाल सरकार र सम्पूर्ण देशवासी साथमा छौं,’ उनले भनेका छन् ।
साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ताहरूको खोजी गर्नु र प्रभावित नागरिकलाई सुरक्षा दिनु नै अहिले सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री शाहले विपद् लगत्तै हजारौंको संख्यामा राज्यका सम्पूर्ण शक्ति र संयन्त्रहरू उद्धार कार्यमा परिचालन भइसकेको जानकारी दिएका छन ।
प्रभावित नागरिकलाई धैर्य धारण गर्न आग्रह गर्दै उनले भनेका छन्, ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न; राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ ।’
उनले बाढी प्रभावितहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता जनाउँदै यस्तो संवेदनशील समयमा सबैलाई एक ढिक्का भएर उभिन आह्वान समेत गरेका छन् ।