काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका कारण विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीमा ठूलो क्षति पुगेको छ ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखाको विद्युत् आपूर्ति प्रभावित हुनुका साथै कुल ४३१.१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार भोटेकोशी नदी बेसिनमा प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रबाट सञ्चालित १२ वटा उत्पादन केन्द्र बन्द भएका छन् ।
बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनाको १११ मेगावाट, सालासुंगी (सान्जेन) जलविद्युत् आयोजनाको ७८ मेगावाट, माथिल्लो सान्जेनको १४.८ मेगावाट, सान्जेनको ४२.५ मेगावाट र चिलिमे जलविद्युत् केन्द्रको २२ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।
त्यस्तै लाङटाङ जलविद्युत आयोजनाको २० मेगावाट, माथिल्लो त्रिशूली–३ ए को ६० मेगावाट, माथिल्लो मैलुङको १४.८ मेगावाट, मैलुङको ५ मेगावाट, त्रिशूली जलविद्युत् केन्द्रको २४ मेगावाट, देवीघाट जलविद्युत् केन्द्रको १४ मेगावाट तथा प्राधिकरणको २५ मेगावाट क्षमताको सोलार आयोजना पनि प्रणालीबाट बाहिरिएका छन् ।
यसैगरी, भोटेकोशी नदी बेसिनमा प्राधिकरणका सहायक कम्पनी तथा निजी प्रवद्र्धकबाट निर्माणाधीन कुल ४७० मेगावाट क्षमताका १५ वटा आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
दर्जनौं कर्मचारी सम्पर्कविहीन
बाढीका कारण विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा कार्यरत दर्जनौं कर्मचारी र कामदार सम्पर्कविहीन भएका छन् ।
त्रिशूली जलविद्युत् कम्पनीको निर्माणाधीन त्रिशूली–३ बी आयोजनाको साइटमा कार्यरत २१ जना कर्मचारी सम्पर्कविहीन छन् । चिलिमे जलविद्युत् केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका ६ जना तथा आवास क्षेत्र वरपर रहेका एक जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको चेस्को कम्पनीमा कार्यरत भई त्रिशूली–३ बीको निर्माणस्थलमा खटिएका ११ जना पनि सम्पर्कमा छैनन् ।
त्यसैगरी, रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ९२ जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ ।
त्यस्तै, माथिल्लो त्रिशूली–३ ए जलविद्युत् केन्द्रको पावर हाउसमा मर्मत कार्यमा संलग्न ४५ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन् ।
प्राधिकरणका त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत एक/एक जना कर्मचारी पनि सम्पर्कविहीन छन् ।
रसुवा वितरण केन्द्रअन्तर्गत चिलिमे पावर हाउसको स्वीचयार्डमा कार्यरत एक जना तथा गोटागन्तीका एक जना मिटर रिडर पनि सम्पर्कमा छैनन् ।
त्रिशूली २२० केभी ३ बी हबमा कन्ट्र्याक्टरका तर्फबाट कार्यरत १६ जना र रसुवागढी जलविद्युत् केन्द्रमा विभिन्न कन्ट्र्याक्टरमार्फत मर्मत, सम्भार तथा निर्माण कार्यमा संलग्न २९ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
बाढीले प्रसारण प्रणालीका महत्त्वपूर्ण संरचनामा समेत गम्भीर क्षति पुर्याएको छ ।
त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेसन पूर्णरूपमा क्षतिग्रस्त भएको छ । चिलिमे २२० केभी हबको टावर अवरुद्ध भएपछि उक्त संरचना बन्द भएको छ ।
त्यसैगरी समुद्रटार–त्रिशूली १३२ केभी प्रसारण लाइन, चिलिमे–त्रिशूली ६६ केभी प्रसारण लाइन, चिलिमे हब–त्रिशूली ३ बी हब–मातातीर्थ २२० केभी प्रसारण लाइन तथा त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइन अवरुद्ध भएका छन् ।
प्राधिकरणका अनुसार केही अन्य प्रसारण लाइनका टावरमा समेत समस्या देखिएको छ ।
रसुवामा पूर्णरूपमा विद्युत् अवरुद्ध
बाढीका कारण रसुवा जिल्लामा विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ । नुवाकोट, धादिङ र गोरखामा भने आंशिक रूपमा विद्युत् सेवा प्रभावित भएको छ ।
धादिङको जहरे ३३ केभी सबस्टेसनमा करिब पाँच फिट लेदो जमेको छ । अहिले डोजर प्रयोग गरेर लेदो हटाउने काम भइरहेको छ ।
विभिन्न स्थानमा ११ केभीका पोल तथा ट्रान्सफर्मरमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
बाढीबाट प्रभावित संरचनाको अवस्था बुझ्न प्राधिकरणका कार्यकारी निर्देशकसहितको टोली प्रभावित क्षेत्रमा पुगेर अनुगमन गरी फर्किएको छ ।
जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्न अर्को टोली स्थानीय क्षेत्रमा परिचालन गरिएको छ ।
सम्पर्कविहीन रहेका कर्मचारी तथा प्रसारण र उत्पादन संरचनामा सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ ।
स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी सम्पर्कविहीन कर्मचारी तथा कार्यक्षेत्रमा रहेका व्यक्तिको विवरण संकलन गर्दै खोज तथा उद्धार कार्य अघि बढाइएको छ ।
बाढीका कारण अवरुद्ध भएको विद्युत् प्रणालीलाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न सकिने स्थानमा तत्काल विद्युत् आपूर्ति पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ ।
यस क्रममा सिन्धुपाल्चोकतर्फ समुद्रटार क्षेत्रको प्रणाली सञ्चालनमा ल्याइएको छ भने चौघोडा सबस्टेसन सञ्चालन गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, गुजुरीदेखि गल्छीसम्मका क्षेत्रमा धादिङबेँसी सबस्टेसनमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ ।
सम्भव भएका अन्य क्षेत्रमा प्राविधिक टोली परिचालन गरी पेट्रोलिङ, मर्मत तथा लाइन पुनः सञ्चालनको काम भइरहेको छ ।
सम्पर्कविहीन कर्मचारी तथा सर्वसाधारणको खोज तथा उद्धारका लागि प्राधिकरणले १५ वटाभन्दा बढी सवारीसाधन प्रभावित क्षेत्रमा परिचालन गरिसकेको छ ।
प्राधिकरणले राहत तथा उद्धारसम्बन्धी समन्वयका लागि सहायक प्रशासकीय अधिकृत रामशरण उप्रेती (९८४१३०६६७८) र सहायक इन्जिनियर टंक पौडेल (९८५१४७४५५५) लाई सम्पर्क गर्न अनुरोध गरेको छ ।
बाढीका कारण ठूलो विद्युत् उत्पादन तथा प्रसारण संरचना प्रभावित भएपछि विद्युत् प्रणालीलाई सम्भव भएसम्म स्थिर र सञ्चालनमा राख्न विद्युत् प्रणाली सञ्चालन विभागलाई आवश्यक निर्देशनसमेत दिइएको प्राधिकरणले जनाएको छ ।
बाढीबाट क्षतिग्रस्त संरचनाको वास्तविक क्षतिको विवरण तथा सम्पर्कविहीन कर्मचारीको अवस्थाबारे थप विवरण खोज तथा उद्धार कार्यसँगै क्रमशः प्राप्त हुने प्राधिकरणले जनाएको छ ।