सिन्धुपाल्चोकका लिपिङमा पहिरो खस्दा तातोपानी नाका जोड्ने अरनिको राजमार्ग ठप्प

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, लिपिङमा पहिरो खस्दा चीनतर्फको जोड्ने अरनिको राजमार्गसँगको सम्पर्क टुटेको छ ।  जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका सूचना अधिकारी कृष्णप्रसाद अधिकारीका अनुसार मंगलबार (आज) बिहान पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।  ‘निकै ठुलो पहिरो खसेको छ । अहिले हटाउन सकिने अवस्था छैन । बिहान करिब ९ बजेतिर खसेको पहिरो अहिले पनि रोकिएको छैन,’ उनले भने । यतिबेला त्यहाँ सडक विभागबाट प्राविधिक टोली खटिएर पहिरो निरीक्षण गरिरहेका छन् । तर, भोटेकोशीले सडकको आधार नै कटान गरेका कारण तत्काल सडक खोल्ने अवस्था नहरेको उनले जानकारी दिए ।  पहिरोका कारण सडकखण्डमा सवारीसाधन नचलेपछि चीनसँगको प्रमुख व्यापारिक नाका ठप्प भएको छ ।  ‘सडक भासिएको र माथिबाट खन्न नमिल्ने भएकोले वाल लगाएर नउठाइ सडक सञ्चालनमा ल्याउन सकिने अवस्था छैन ।  विभागका प्राविधिकले निरीक्षण गरेपछि मात्रै के गर्ने भन्ने बल्ल निक्र्यौल हुन्छ,’ अधिकारीले भने ।  यस्तै, ९ साउनमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसहितको टोलीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा दोहोरिरहने डाक्लाङ र कोदारी इको क्षेत्रका पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेका थिए ।  डाक्लाङ पहिरोबाट ४६ र कोदारी इको पहिरोका कारण करिब सय घरधुरी पहिरोको उच्च जोखिममा छन् ।  मन्त्रीद्वय लम्साल र गौतमले राजमार्ग खुलाउने र स्थानीय बस्तीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले गरेको निरीक्षणका क्रममा स्थानीय बासिन्दाले भने आफ्नो थातथलो र घरको सुरक्षाको ग्यारेन्टी नभएसम्म काम अघि बढाउन असहमति जनाएका थिए ।  पहिरोका कारण बस्ती नै जोखिममा परेको भन्दै आक्रोशित स्थानीयलाई मन्त्री लम्सालले सरकारले बस्ती स्थानान्तरणदेखि भौतिक सम्पत्तिको सुरक्षाको पूर्ण जिम्मेवारी लिने आश्वासन दिएर काठमाडौं फिर्ता भएका थिए । बर्सेनि दोहोरिने उक्त पहिरोका कारण नेपाल–चीन जोड्ने तातोपानी नाकासमेत ठप्प बन्ने गरेको छ । जसकारण उत्तरतर्फको आयातनिर्यातमा समेत यसको असर पर्ने गरेको छ । 

परराष्ट्रका सहसचिव भट्टराईलाई आज अदालत उपस्थित गराइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई मंगलबार (आज) जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइने भएको छ।   सोमबार (हिजो) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको थियो । सीआईबीले उनलाई मनोहराबाट पक्राउ गरेको थियो ।  ब्यूरोका प्रवक्ता अनुपशमशेर जबराले राहदानी ऐन अन्तर्गत भट्टराईलाई पक्राउ गरिएको जानकारी दिएका थिए । काठमाडौंस्थित जर्मन राजदूतावासमा जर्मनी जाने भिसा प्रयोजनको लागि यात्रा अनुमति पत्रसाथ उपस्थित भएका व्यक्तिहरुको राष्ट्रियतामाथि शंका लागि सोधपुछ गर्न दूतावासले पत्र पठाएको थियो । २०६८  जेठ २० गतेको पत्रसाथ यात्रा अनुमति पत्र सक्कल पाँच थान अनुसन्धान एवं कारबाहीको लागि ब्यूरोलाई अनुरोध गरिएको थियो । राहदानी ऐन अन्तर्गतको कसूरमा अनुसन्धान गर्दा यात्रा अनुमति पत्र जारी गर्नेमा खोटाङ, रावाबेसी गाउँपालिका ३ का काठमाडौं, कागेश्वरी मनोहरा ९ बस्ने तत्कालीन समयमा परराष्ट्र मन्त्रालय, कन्सुलर शाखामा शाखा अधिकृत हाल परराष्ट्र मन्त्रालय, श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखामा कार्यरत ५६ वर्षीय भट्टराईको संलग्नता देखिएको थियो ।

बैंकका सीईओहरूसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौं ।  अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मंगलबार (आज) वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गर्ने भएका छन्। आज अपरान्ह ३ बजे अर्थ मन्त्रालयमा छलफल हुन लागेको हो । बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन अर्थमन्त्रीले सीईओहरूसँग छलफल गर्न थालेका हुन् । छलफलमा २० वटा वाणिज्य बैंकका सीईओहरू सहभागी हुने मन्त्रालयको सचिवालयले जनाएको छ ।