काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई मंगलबार (आज) जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइने भएको छ।
सोमबार (हिजो) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको थियो ।
सीआईबीले उनलाई मनोहराबाट पक्राउ गरेको थियो ।
ब्यूरोका प्रवक्ता अनुपशमशेर जबराले राहदानी ऐन अन्तर्गत भट्टराईलाई पक्राउ गरिएको जानकारी दिएका थिए ।
काठमाडौंस्थित जर्मन राजदूतावासमा जर्मनी जाने भिसा प्रयोजनको लागि यात्रा अनुमति पत्रसाथ उपस्थित भएका व्यक्तिहरुको राष्ट्रियतामाथि शंका लागि सोधपुछ गर्न दूतावासले पत्र पठाएको थियो ।
२०६८ जेठ २० गतेको पत्रसाथ यात्रा अनुमति पत्र सक्कल पाँच थान अनुसन्धान एवं कारबाहीको लागि ब्यूरोलाई अनुरोध गरिएको थियो ।
राहदानी ऐन अन्तर्गतको कसूरमा अनुसन्धान गर्दा यात्रा अनुमति पत्र जारी गर्नेमा खोटाङ, रावाबेसी गाउँपालिका ३ का काठमाडौं, कागेश्वरी मनोहरा ९ बस्ने तत्कालीन समयमा परराष्ट्र मन्त्रालय, कन्सुलर शाखामा शाखा अधिकृत हाल परराष्ट्र मन्त्रालय, श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखामा कार्यरत ५६ वर्षीय भट्टराईको संलग्नता देखिएको थियो ।