सामुदायिक वनमा ३९ लाख हिनामिना, पूर्व पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहमा आर्थिक अनियमितता भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले वन उपभोक्ता समूहमा भएको लाखौं रुपैयाँ हिनामिना प्रकरणमा समूहका पूर्व पदाधिकारी तथा लेखापरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आर्थिक वर्ष २०७२/७३ देखि २०७८/७९ सम्म झाडी सफाइ, अग्नि रेखा निर्माण, खरघाँस रोपण, वृक्षारोपण, वनहेरालुको तलब, भैँसी तथा बाख्रा पालन, डढेलो नियन्त्रण र मौरीघारलगायत शीर्षकमा नक्कली बिल तथा भरपाई तयार गरी वनको आम्दानी हिनामिना गरिएको आरोपमा सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । अख्तियारका अनुसार काठ बिक्रीबाट प्राप्त आम्दानीलाई काम नै नभएका शीर्षकमा खर्च भएको देखाई झुट्टा विवरण तयार पारिएको थियो । अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ सम्म विभिन्न अवधिमा गरी कुल ३९ लाख १२ हजार ५६० रुपैयाँ ८४ पैसा हिनामिना भएको निष्कर्ष निकालिएको छ । आयोगले तत्कालीन अध्यक्ष, सचिव र कोषाध्यक्षलाई विभिन्न आर्थिक वर्षमा भएको हिनामिनाअनुसार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कैद, जरिवाना र बिगो असुलउपरको मागदाबी गरेको छ । यस्तै, लेखापरीक्षण प्रतिवेदनमार्फत अनियमिततालाई वैधता दिएको आरोपमा दुई जना रजिष्टर्ड लेखापरीक्षकविरुद्ध पनि सोही ऐनको दफा १९(१) बमोजिम मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रशासक बन्न पाँच सहकर्मीबीच प्रतिस्पर्धा

काठमाडौं । कर्मचारी सञ्चय कोषको प्रशासक बन्नका लागि पाँच जना प्रतिस्पर्धी देखिएका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार कोषको प्रशासक बन्नका लागि पाँच जना सहर्मीहरु प्रतिस्पर्धामा देखिएका हुन् ।  मन्त्रालयले जीवन कुमार कट्वाल (झापा), दामोदर प्रसाद सुवेदी (महोत्तरी), भरतराज वस्ती (झापा), विजय कुमार श्रेष्ठ (मोरङ) र सागर कुमार सिंह (काठमाडौं)को नाम सर्टलिष्टमा राखेको छ ।  सर्टलिष्टमा परेका कट्वाल वर्तमान निमित्त प्रशासक हुन् । जितेन्द्र धितालले राजीनामा दिएपछि उनी निमित्त बनेका थिए । अहिले उनी पनि प्रशासक बन्ने प्रतिस्पर्धामा छन् ।  यस्तै, दामोदर प्रसाद सुवेदी पनि कोषको प्रशासक बन्ने दौडमा छन् । उनी हाल कोषको मुख्य प्रबन्धकको रुपमा कार्यरत छन् भने अर्का प्रतिस्पर्धी भरतराज वस्ती पनि कोषको कामु सहप्रशासकको जिम्मेवारीमा छन् । यस्तै, विजय कुमार श्रेष्ठ पनि कामु सहप्रशासनको भूमिकामा छन् भने सागर कुमार सिंह पनि मुख्य प्रबन्धकको जिम्मेवारीमा छन् ।  छनोट समितिले छनोट भएका ५ जना उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति पनि तय गरेको छ । 

पहिरोले रोकियो मुग्लिन–नारायणगढ सडक, गाईघाटमा डोजर परिचालन

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत चितवनको गाईघाट नजिकै सोमबार पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ । सडक डिभिजन भरतपुरका अनुसार पहिरो खसेलगत्तै सडक खुलाउने कार्यका लागि आवश्यक उपकरण घटनास्थलमा परिचालन गरिएको छ । डिभिजनले पहिरो हटाउन करिब १ देखि २ घण्टा लाग्ने अनुमान गरिएको जनाएको छ । त्यस अवधिसम्म उक्त सडक खण्डमा सवारीसाधन एकतर्फी सञ्चालन हुने भएकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन र आवश्यक संयमता अपनाउन आग्रह गरिएको छ । सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन पहिरो पन्छाउने कार्य तीव्र रूपमा भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।