क्यानका पूर्वमहानिर्देशक अधिकारीलाई ३ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । विशेष अदालतले पोखरा विमानस्थलमा भ्रष्टाचार गरेको आरोप लागेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपको मुद्दामा अधिकारीलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले विकासन्युजलाई जानकारी दिइन् । अधिकारी अन्य मुद्दामा थुनामा रहेकाले यो मुद्दामा धरौटी बुझाए पनि थुनामुक्त नहुने उनले बताइन् । अधिकारी अन्य मुद्दाको कारण थुनामा रहेकाले उनी कारागारबाट रिहा हुँदैनन् । अधिकारीले ठेक्कापट्टा गर्ने कम्पनीलाई राजश्वमा छुट दिएका थिए । निर्माणको क्रममा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएको आरोप लागेको थियो उनलाई ।

गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल सुरु भएको हो ।  यही साउन १० गते राति कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भइ शिक्षण अस्पतालमा उपचाररत २२ वर्षे मेहताको उपचारका क्रममा आज निधन भएको थियो । यसअघि आजै गृहमन्त्री सुधन गुरुङले आज हिन्दु र मुस्लिम समुदायका नेताहरुसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गरेका थिए । गृहमन्त्रालयमा भएको छुट्टाछुट्टै भेटमा दुवै समुदायका विभिन्न नेताहरुको सहभागिता थियो । छलफलमा पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा देखिएको अवस्था, विवाद, शान्ति, सुरक्षा र आपसी सद्भावका विषयमा छलफल गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ ।  

अर्थतन्त्रलाई गति दिने अभियान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकिङ क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदारका रूपमा अघि बढ्न आह्वान गर्दै अर्थतन्त्रलाई पुनः गतिशील बनाउन सरकार आवश्यक कानुनी, नीतिगत र संस्थागत सुधार गर्न तयार रहेको बताएका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँगको छलफललाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले सामान्य औपचारिक छलफल नभई अर्थतन्त्रलाई पुनः गति दिने साझा अभियानको अर्को चरण भएको बताए । उनले वाणिज्य बैंकहरूलाई अर्थतन्त्रको सबैभन्दा महत्वपूर्ण संगमको संज्ञा दिँदै बचतकर्ता, उद्यमी, किसान, उद्योगी, लगानीकर्ता तथा नयाँ व्यवसाय सुरु गर्न चाहने युवाको साझा केन्द्र बैंक भएको उल्लेख गरे । त्यसैले अर्थतन्त्रको वास्तविक अवस्था, बजारको आत्मविश्वास र लगानीकर्ताको मनोविज्ञान बैंकिङ क्षेत्रले सबैभन्दा नजिकबाट बुझ्ने उनको भनाइ छ ।  उनले बजेटमार्फत आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय भइसकेको र अब सरकारको ध्यान कार्यान्वयनमा केन्द्रित रहेको बताए । बजेट कार्यान्वयनसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि बैंकिङ क्षेत्रको अनुभव र सुझाव आवश्यक रहेको उनले उल्लेख गरे । यस्तो छ अर्थमन्त्रीको धारणा  आजको बैठक सामान्य औपचारिक छलफल नभई यो नेपालको अर्थतन्त्रलाई पुनः गति दिने साझा अभियानको अर्को चरण हो । निजी उद्योगीहरूसँगको घनिभुत संवादपछि आज हामी वित्तीय प्रणालीको नेतृत्व गरिरहेका तपाईँहरूसँग बसेका छौँ। किनकि उत्पादन, लगानी, बचत, वित्तीय विश्वास र आर्थिक गतिविधिको केन्द्रमा बैंकिङ प्रणाली नै छ। वास्तवमा, वाणिज्य बैंकहरू अर्थतन्त्रका सबैभन्दा महत्वपूर्ण संगम हुन्। यहाँ बचतकर्ता पनि आउँछन्, उद्यमी पनि आउँछन्, किसान पनि आउँछन्, उद्योगी पनि आउँछन्, लगानीकर्ता पनि आउँछन् र नयाँ व्यवसाय सुरु गर्न चाहने युवा पनि आउँछन्। त्यसैले अर्थतन्त्रको वास्तविक मनोविज्ञान, बजारको आत्मविश्वास, लगानीकर्ताको सोच र भविष्यप्रतिको अपेक्षा सबैभन्दा स्पष्ट रूपमा यहाँहरूले नै महसुस गर्नुहुन्छ। बजेटमार्फत हामीले नेपालको आर्थिक रूपान्तरणका लागि एउटा स्पष्ट दिशा तय गरेका छौँ। अब हाम्रो ध्यान कार्यान्वयनमा छ। त्यसैले आज म बजेट कार्यान्वयनसंगै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न यहाँहरूको अनुभव र सुझाव सुन्न आएको छु। हामी सबैको साझा लक्ष्य एउटै छ- नेपालको अर्थतन्त्रलाई पुनः गतिशील बनाउने । लगानी बढाउने । उत्पादन विस्तार गर्ने । रोजगारी सिर्जना गर्ने । र निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्ने । सरकारका तर्फबाट हामी नियामकीय, कानुनी र संस्थागत सुधारको प्रक्रिया अगाडि बढाइरहेका छौँ। तर एउटा प्रश्न हामीले आफैंलाई सोध्नुपर्छ- के यी सुधारहरू पर्याप्त छन् अझ के गर्नुपर्छ  ? आज म विशेष गरी यही विषयमा खुला र स्पष्ट छलफल चाहन्छु। आज नेपालको अर्थतन्त्रको मनोविज्ञान वास्तवमा कस्तो छ ? व्यवसायी किन लगानी विस्तार गर्न हिच्किचाइरहेका छन्रु ऋणको ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि कर्जाको माग किन बढ्न सकेको छैन ? बैकिङ प्रणालीमा रहेको अधिक तरलता उत्पादन र लगानीमा किन रूपान्तरण हुन सकेको छैन ? यसको समाधान मौद्रिक नीतिमा छ, वित्तीय नीतिमा छ, कि निजी क्षेत्रको आत्मविश्वासमा ? बैंकिङ प्रणालीले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन के-कस्ता संरचनागत सुधार आवश्यक छन्, मौद्रिक नीति, नियमन र सुपरिवेक्षणमा अब कुन नयाँ दृष्टिकोण अपनाउनुपर्छ  ? अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ ? यी विषयमा म यहाँहरूको स्पष्ट र निष्कपट धारणा चाहन्छु। आजको छलफल केवल समस्या पहिचानमा सीमित रहने छैन । हामी समाधान, समयसीमा र जिम्मेवारीसहित अगाडि बढ्न चाहन्छौँ । जहाँ कानुनी सुधार आवश्यक छ, त्यहाँ कानुन सुधार्नेछौँ। जहाँ प्रक्रियागत समस्या छ, त्यहाँ प्रक्रिया बदल्नेछौँ। जहाँ संस्थागत समन्वय आवश्यक छ, त्यहाँ समन्वय गर्नेछौँ।जहाँ सरकारबाट निर्णय आवश्यक छ, त्यहाँ निर्णय लिन हामी पछि हट्ने छैनौँ । हामी अर्थतन्त्रलाई प्रतिक्रियात्मक ढङ्गले होइन, आत्मविश्वासले भरिएको, निर्णयक्षम र भविष्यप्रति आशावादी अर्थतन्त्र बनाउन चाहन्छौँ। त्यसैले आजको बैठकलाई बैंकिङ क्षेत्रसँगको आवधिक संवादका रूपमा होइन, नेपालको वित्तीय प्रणालीलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदार बनाउने कार्यशालाका रूपमा अघि बढाऔँ । म एउटा कुरा स्पष्ट भन्न चाहन्छु-सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमित निकायको मात्र होइनस साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध हो। आर्थिक वृद्धि, लगानी विस्तार, रोजगारी सिर्जना र वित्तीय स्थायित्व हाम्रो साझा उद्देश्य हो। त्यसैले आजका सुझावहरू केवल छलफलमा सीमित रहने छैनन्, तिनलाई कार्यान्वयनको स्पष्ट रोडम्यापमा रूपान्तरण गर्ने हाम्रो प्रतिबद्धता छ । हामी सबैको साझा एजेन्डा एउटै हो- विश्वास निर्माण गर्ने, लगानी विस्तार गर्ने, उत्पादन बढाउने र नेपाललाई उच्च वृद्धि तथा उच्च उत्पादकत्वको नयाँ चरणमा प्रवेश गराउने। समस्यामाथि खुला छलफल गरौँ, समाधान खोजौँ। आजको संवादबाट कार्यान्वयनयोग्य निष्कर्ष निकालौँ ।