देउवा पनि राष्ट्रिय भेलामा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले साउन २९ देखि ३१ गतेसम्म आयोजना गर्ने राष्ट्रिय भेलामा पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने जनाएको छ । भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । सर्वोच्च अदालतले विशेष महाधिवेशनसम्बन्धी विवादमा पूर्वनिर्णय पुनरावलोकनका लागि निस्सा दिएपछि पार्टीभित्र नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको र त्यसले राष्ट्रिय भेलाप्रति कार्यकर्ताको उत्साह थप बढाएको उनले बताए । उनले सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै अन्तिम न्यायिक निर्णयबाट आफूहरू न्याय पाउनेमा विश्वस्त रहेको उल्लेख गरे । अदालतको पछिल्लो आदेशले राष्ट्रिय भेलाको उद्देश्य वा कार्यदिशामा कुनै परिवर्तन नआएको, बरु पार्टीभित्र वैचारिक तथा सांगठनिक अभियानलाई थप बल पुगेको उनको भनाइ थियो । कोइरालाका अनुसार सुरुमा १० देखि २० हजार प्रतिनिधि तथा कार्यकर्ताको सहभागिता हुने अनुमान गरिएको भए पनि अदालतको आदेशपछि सहभागिता अपेक्षाभन्दा धेरै हुने संकेत देखिएको छ ।   उनले पार्टीका वरिष्ठ नेता पूर्णबहादुर खड्का स्वास्थ्य अवस्थाका कारण तथा नेता डा. शेखर कोइराला पूर्वनिर्धारित कार्यक्रमका कारण विराटनगरमा रहेकाले पत्रकार सम्मेलनमा उपस्थित हुन नसकेको स्पष्ट पारे ।  यद्यपि राष्ट्रिय भेलाप्रति दुवै नेताको पूर्ण समर्थन रहेको उनले बताए । साउन २६ गते पूर्वसभापति देउवा स्वदेश फर्कने क्रममा सम्भावित धरपकडको चर्चा भइरहेका बेला कोइरालाले त्यस्तो कुनै सम्भावना नरहेको दाबीसमेत गरे ।  यदि कुनै प्रकारको हस्तक्षेप वा धरपकडको प्रयास भए कांग्रेसले त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी पनि उनले दिए । कोइरालाले मुलुकको वर्तमान राजनीतिक अवस्थाले कांग्रेसलाई वैचारिक रूपमा पुनः एकताबद्ध र सांगठनिक रूपमा पुनर्संरचना गर्नुपर्ने आवश्यकता औंल्याउँदै राष्ट्रिय भेला त्यस दिशामा महत्त्वपूर्ण मोड साबित हुने दाबी गरे। उनले कांग्रेसका भातृ संस्था, शुभेच्छुक तथा देशभरका कार्यकर्तालाई भेलामा सक्रिय सहभागिताका लागि आह्वान गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल विचारलाई केन्द्रमा राखेर पार्टीलाई नयाँ ऊर्जा र नयाँ दिशा दिने अभियानका रूपमा राष्ट्रिय भेलालाई सफल बनाउन आग्रह गरे ।

सर्वोच्चको आदेशपछि कांग्रेस एकताबद्ध हुने सम्भावना बढ्यो : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सर्वोच्च अदालतको पछिल्लो आदेशपछि पार्टीभित्र एकताको सम्भावना थप बलियो बनेको बताएका छन् । शुक्रबार (आज) सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अदालतको आदेशले कांग्रेसभित्र नयाँ राजनीतिक परिस्थिति सिर्जना गरेको उल्लेख गर्दै राष्ट्रिय भेलाप्रति नेता–कार्यकर्ताको आकर्षण बढ्दै गएको दाबी गरे ।  उनका अनुसार भेलामा सहभागी हुनेको संख्या अपेक्षाभन्दा बढी हुने संकेत देखिएको छ । पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने कार्यक्रम रहेको उल्लेख गर्दै कोइरालाले उनको आगमनका क्रममा कुनै धरपकड नहुनेमा विश्वास व्यक्त गरे ।  यदि त्यस्तो अवस्था सिर्जना भए त्यसको राजनीतिक प्रतिवाद गरिनेसमेत उनले चेतावनी दिए । ‘उहाँ फर्किँदा त्यस्तो धरपकड हुँदैन भन्ने हाम्रो विश्वास छ । यदि त्यस्तो भइहाले हामी विरोध गर्छौं,’ उनले भने । पत्रकार सम्मेलनमा पार्टीका वरिष्ठ नेता पूर्णबहादुर खड्का अनुपस्थित हुनुको कारण स्वास्थ्य अवस्था रहेको जानकारी पनि उनले दिए।  खड्काको स्वास्थ्यमा सुधार भइरहे पनि चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेकाले कार्यक्रममा सहभागी हुन नसकेको उनले बताए । त्यसैगरी, अर्का नेता डा. शेखर कोइरालाले पनि राष्ट्रिय भेलालाई समर्थन गरेको दाबी गर्दै उनले विराटनगरस्थित निजी निवास निर्माणको काममा व्यस्त रहेकाले कार्यक्रममा उपस्थित हुन नसकेको बताए ।

भदौदेखि आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले भदौ महिनादेखि आन्दोलन गर्ने घोषणा गरेको छ ।  विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न, शिक्षक-कर्मचारीसँग भएका सहमति कार्यान्वयन गर्न र विभिन्न शैक्षिक तथा पेशागत माग पूरा गर्न सरकारलाई दबाब दिने उद्देश्यले आन्दोलन गर्ने घोषणा गरेको हो ।  महासंघको तेस्रो राष्ट्रिय परिषद्ले पारित गरेका निर्णय सार्वजनिक गर्दै महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ भए आन्दोलनका कार्यक्रम अघि बढाइने जनाएको छ । महासंघले नेपाल सरकार र शिक्षक महासंघबीच भएका पटक-पटकका सहमति कार्यान्वयन, गुणस्तरीय विद्यालय शिक्षा सुनिश्चित, शिक्षा क्षेत्रमा लगानी वृद्धि तथा विद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न माग गरेको छ। त्यस्तै, राहत, साविक उच्च माध्यमिक, अस्थायी करार, बालकक्षा, सिकाइ अनुदान, विशेष शिक्षा र प्राविधिक धारलगायतका अस्थायी प्रकृतिका शिक्षकको पेशागत सुरक्षा, स्थायित्व र सेवा–सुविधा सुनिश्चित गर्न तथा स्थायी शिक्षकको आवधिक बढुवा र निवृत्तिभरणका लागि अपुग सेवा अवधि थप गर्न सरकारसँग आग्रह गरेको छ । महासंघले प्रारम्भिक बालकक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदान शिक्षकलाई चालु आर्थिक वर्षको बजेटमा तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ताबाट वञ्चित गरिएको भन्दै त्यसको विरोध गरेको छ ।  उनीहरूलाई पनि समान सुविधा उपलब्ध गराउन माग गरिएको  छ । यसैगरी, मन्त्रिपरिषद्को २०८२ वैशाख १७ गतेको निर्णयअनुसार दुर्गम क्षेत्रमा कार्यरत सबै शिक्षकलाई  दुर्गमभत्ता उपलब्ध गराउन, बालकक्षा शिक्षक र विद्यालय कर्मचारीका लागि दरबन्दी सिर्जना गर्न तथा सिकाइ अनुदान शिक्षकलाई पनि दरबन्दीमा समेटी तलबभत्ताको व्यवस्था गर्न महासंघले सरकारसँग माग गरेको छ ।