वैदेशिक रोजगारीको प्रलोभनमा २४ लाख ३४ हजार ठगी, चार जना पक्राउ

काठमाडौं । आकर्षक तलब र विदेशमा राम्रो रोजगारीको प्रलोभन देखाउँदै बेरोजगार युवायुवतीबाट लाखौं रुपैयाँ असुल गरी ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट स्थायी घर भई हाल काठमाडौं बस्दै आएका ४१ वर्षीय मनोहर मुडभरी रहेका छन् ।  उनले एक व्यक्तिलाई मौरिसस पठाइदिने भन्दै ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा साउन १९ गते ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, बाजुरा घर भई काठमाडौं बस्ने २६ वर्षीय अनिल मल्ललाई कम्बोडिया पठाइदिने भन्दै ८ लाख ८४ हजार रुपैयाँ ठगी गरेको आरोपमा साउन २० गते काठमाडौं महानगरपालिका–११ बाट पक्राउ गरिएको छ । कास्की स्थायी घर भई टोखा बस्ने ३४ वर्षीया कमला पौडेल सुनारलाई रोमानिया पठाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा साउन २० गते काठमाडौं महानगरपालिका–२६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी, पाँचथर घर भई काठमाडौं बस्ने ४१ वर्षीय तुलसीराम ढुङ्गेललाई युएई पठाइदिने प्रलोभनमा ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा साउन २० गते काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरिएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूले विभिन्न देशमा रोजगारीमा पठाइदिने भन्दै पीडितबाट रकम लिने र लामो समयसम्म पनि विदेश नपठाई सम्पर्कविहीन हुने गरेको पाइएको छ ।  उनीहरूले चार जना पीडितबाट कुल २४ लाख ३४ हजार रुपैयाँ ठगी गरेको आरोप छ । प्रहरीका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पीडितहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

अबदेखि काठमाडौंका होटल–रेस्टुरेन्टमा ‘स्मोकिङ जोन’ अनिवार्य

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जिल्लाभित्रका होटल तथा रेस्टुरेन्टमा स्मोकिङ जोन राख्न निर्देशन दिएको छ । प्रशासनले बुधबार (आज) सूचना जारी गर्दै जथाभावी रूपमा हुक्का, चुरोटलगायतका धूमपानजन्य पदार्थ सेवन नगर्न निर्देशन दिएको हो । होटल तथा रेस्टुरेन्टमा अव्यवस्थित रूपमा धूमपान हुने गरेको तथा त्यसबाट धूमपान नगर्ने व्यक्तिको स्वास्थ्यमा समेत असर परेको भन्दै कार्यालयमा गुनासो आउन थालेपछि प्रशासनले यस्तो सूचना जारी गरेको हो । प्रशासनले होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई सूर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ अनुसार धूमपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउन निर्देशन दिएको हो । साथै धूमपान गर्न मिल्ने स्थानलाई चारैतिरबाट बन्द गरी धुवाँ अन्य व्यक्तिसम्म नपुग्ने व्यवस्था गर्नसमेत भनिएको छ । कार्यालयले होटल तथा रेस्टुरेन्टमा आउने अन्य ग्राहकलाई असर नपर्ने गरी धूमपान गर्ने स्थान व्यवस्थित गर्न व्यवसायीलाई सचेत गराएको हो । जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित अन्य निकायबाट होटल तथा रेस्टुरेन्टको अनुगमन गर्दा ऐनविपरीत गतिविधि गरेको पाइएमा सूर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १७ बमोजिम कारबाही हुने भएको हो । प्रशासनले काठमाडौंका सम्पूर्ण होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई कानुनी व्यवस्था पालना गरी धूमपान क्षेत्र व्यवस्थित गर्न आग्रह गरेको हो ।

मानवअधिकारकर्मी हुँ भन्दै गर्ने अवस्थी पक्राउ

काठमाडौं । रियल स्टेट व्यवसायी तथा मानवअधिकारकर्मी भनेर ठगी गर्ने बैकिङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।  घरजग्गा मिलाइदिने प्रलोभनमा पारेर १६ लाख ठगी गर्ने काठमाडौं महानगरपालिका ७ बस्ने हेमराज अवस्थीलाई प्रहरीले पक्राउ गरेको हो ।  विभिन्न समयमा व्यक्तिहरूलाई १ करोड १४ लाख भन्दा बढी बराबरको खातामा रकम नभएको चेक जारी गरेका र बैंकिङ कसूर मुद्दामासमेत फरार रहेका डोटी, आदर्श गाउँपालिका ४ अवस्थीलाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहदादुर थापाले जानकारी दिए ।  उनका अनुसार काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।