काठमाडौं । नेपाल प्रहरीले गत आर्थिक वर्षमा ६८ अर्ब ७२ करोड ८२ लाख ५३ हजार रुपैयाँ खर्च गरेको छ ।
चालु आर्थिक वर्ष २०८२/०८३ मा प्रहरीलाई कुल बजेट ७३ अर्ब ६७ करोड ५९ लाख ७२ हजार रुपैयाँ बजेट विनियोजन गरेर प्राप्त भएको थियो ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अबीनारायण काफ्लेले गत आर्थिक वर्षमा ६८ अर्ब ७२ करोड ८२ लाख ५३ हजार रुपैयाँ खर्च भएको जानकारी दिए । उनका अनुसार ४ अर्ब ९४ करोड ७७ लाख १९ हजार रुपैयाँ खर्च हुन सकेन ।
प्रवक्ता काफ्लेले प्रहरीका लागि आर्थिक वर्ष २०८३ / ०८४ मा ६५ अर्ब ७१ करोड विनियोजन भएको जानकारी दिए । गत आर्थिक वर्षको तुलनामा ७ अर्ब ९६ करोड ५९ लाख ७२ हजार कम भएको उनले जानकारी दिए ।
गत आर्थिक वर्ष २०८२/ ०८३ मा १ हजार २६४ जनाले राजीनामा दिएका छन् । विभिन्न दर्जाका प्रहरीले एकै वर्षमा राजीनामा दिएका हुन् । एक वर्षमा १२ सयभन्दा बढी प्रहरीले राजीनामा दिएको उनले जानकारी दिए ।
उनका अनुसार ६ सय ८१ जनाले अनिवार्य अवकाश लिएका छन् । विभिन्न ठाउँमा २६ हजार ४१५ जनाको सरुवा भएको छ। ५ हजार २७ जनाको बढुवा भएको छ । २ हजार ४८८ जनाको नयाँ नियुक्ति तथा पदस्थापना भएको छ ।