काठमाडौं । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ले सन् २०२७ देखि २०३० सम्मको अवधिमा नेपाललाई करिब ३ करोड ९६ लाख अमेरिकी डलर बराबरको खोप र १ करोड ८० लाख ६० हजार अमेरिकी डलर नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ ।
सरकार र गाभीबीच आगामी चार वर्षको रणनीतिक सहकार्यबारे भएको उच्चस्तरीय छलफलमा खोप सहयोग र नगद अनुदान उपलब्ध गराउने गाभीले प्रस्ताव गरेकाे हो ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि गाभीका वरिष्ठ म्यानेजर निल्गुन आयदोगानको नेतृत्वमा आएको टोलीबीच भएको बैठकमा गाभीको आगामी सहयोगबारे छलफल भएकाे थियाे ।
प्रस्तावअनुसार गाभीबाट प्राप्त हुने सहयोगका लागि नेपालले १ करोड ७१ लाख अमेरिकी डलर सह-वित्तीय लगानी गर्नुपर्ने विषयमा समेत छलफल भएको छ ।
नेपाल र गाभीबीच सन् २००१ देखि सहकार्य हुँदै आएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार २५ वर्षको अवधिमा गाभीले नेपालमा ५५ करोड अमेरिकी डलरभन्दा बढी बराबरको खोप, कोल्ड चेन पूर्वाधार तथा स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहयोग गरिसकेको छ ।
हाल गाभीले सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत उपलब्ध गराउने ११ प्रकारका खोपमध्ये पाँचवटामा सहलगानी गर्दै आएको छ भने एक प्रकारको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
परिवार कल्याण महाशाखाअन्तर्गतको राष्ट्रिय खोप कार्यक्रममार्फत नियमित खोपका साथै विभिन्न खोप अभियान सञ्चालनमा समेत गाभीको सहयोग रहँदै आएको छ ।
बैठकमा विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोत घट्दै गएको अवस्थामा नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई आगामी दिनमा कसरी वित्तीय रूपमा दिगो बनाउने भन्ने विषयमा पनि छलफल भएको थियो ।
गाभीका प्रतिनिधिहरूले राष्ट्रिय खोप कार्यक्रममा मन्त्री मेहताले देखाएको नेतृत्व तथा नेपालले खोपको क्षेत्रमा हासिल गरेको प्रगतिप्रति प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।