काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको विशेष लाइसेन्स (स्पेसल एक्जामिनेसन) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काउन्सिलले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा सहभागीमध्ये ९३.४८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
काउन्सिलका अनुसार विभिन्न विशेषज्ञता (स्पेसालिटी) तर्फ सञ्चालन गरिएको परीक्षामा १ हजार १३ जना सहभागी भएका थिए । तीमध्ये ९४७ जना उत्तीर्ण, ६५ जना अनुत्तीर्ण भएका छन् भने एक जनाको नतिजा रोक्का भएको छ ।
त्यसैगरी, नेपालका मेडिकल तथा डेन्टल कलेजका स्नातकको विशेष परीक्षामा ९ सय १९ जना सहभागी भएकामध्ये ९ सय ४ जना उत्तीर्ण र १५ जना अनुत्तीर्ण भएका छन् । यस समूहको उत्तीर्ण प्रतिशत ९८.३७ रहेको छ।
कलेजगत नतिजाअनुसार काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, किस्ट मेडिकल कलेज, पाटन एकेडेमी अफ हेल्थ साइन्सेज, नेपाल मेडिकल कलेज, नेसनल एकेडेमी अफ मेडिकल साइन्सेज (वीर अस्पताल), पोखरा एकेडेमी अफ हेल्थ साइन्सेज, मणिपाल कलेज अफ मेडिकल साइन्सेज, लुम्बिनी मेडिकल कलेज, नेपाली आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, नेपालगञ्ज मेडिकल कलेज, पिपुल्स डेन्टल कलेज, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र कान्तिपुर डेन्टल कलेजले शतप्रतिशत नतिजा हासिल गरेका छन् ।
यस्तै, विशेषज्ञता तहको नतिजामा अधिकांश विषयमा शतप्रतिशत सफलता देखिएको छ । रेडियो डायग्नोसिस/रेडियोलोजीमा भने सबैभन्दा कम ७३.५३ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।
उक्त विषयमा ६८ जनामध्ये १८ जना अनुत्तीर्ण भएका छन्, जुन सबैभन्दा धेरै अनुत्तीर्ण हुने विषय बनेको छ ।
त्यसैगरी, प्रोस्थोडोन्टिक्समा १५ जनामध्ये एक जना तथा पेडियाट्रिक्स मा ६१ जनामध्ये दुईजना अनुत्तीर्ण भएका छन् ।
नेपाल मेडिकल काउन्सिलले गत साउन ७ र ८ गते सञ्चालन गरेको विशेष लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
काउन्सिलका अनुसार उक्त परीक्षा नेपालका मेडिकल तथा डेन्टल कलेज तथा प्रतिष्ठानमा अध्ययन पूरा गरेका चिकित्सकका लागि सञ्चालन गरिएको थियो ।

